२०७९ असार १५, बुधबार ०७:१७

सत्तासीन जनता समाजवादी पार्टी(जसपा)ले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ ।कार्यकारिणी समितिको सोमवार बसेको बैठकले मन्त्री फिर्ता बोलाउने र सरकारमा पठाउने मन्त्रीको नाम चयन गर्ने अधिकार पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी(एस)ले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ अनुहारहरुलाई सरकारमा पठाए लगतै जसपाले पनि मन्त्री फिर्ता बोलाउने औपचारिक निर्णय गरेको छ । मन्त्री फिर्ता आएपछि सरकारमा पठाइने व्यक्तिको चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको कार्यकारिणी समितिका सदस्य समेत रहेका मधेश प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री विजय यादवले जनाए ।जसपाबाट सरकारमा ४ जना मन्त्री छन् ।उनीहरु सबैलाई फिर्ता बोलाउने तयारी अध्यक्ष यादवले गरेका छन् । जसपाबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा समान्य प्रशासन, महेन्द्र यादव कृषि, रेणु यादव भौतिक पूर्वाधार तथा यातायात र रामसहाय यादव वन मन्त्री छन् ।उनीहरुलाई विस्थापित गरी प्रदीप यादव, इस्तियाक राईन लगायतलाई सरकारमा पठाइने बुझिएको छ । कार्यकारिणी समितिको बैठकले असार मसान्त भित्र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।केन्द्रीय समितिको बैठक अगावै कार्यकारिणी समितिको पूनर्गठन गरिने स्रोतले जनाएको छ । बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई हटाउने र कृषि मन्त्री समेत रहेका कार्यकारिणी समिति सदस्य महेन्द्र यादवलाई कारवाही गर्नुपर्ने माग उठेको थियो ।त्यस सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्ष यादवलाई दिएकोछ । कार्यकारिणी समितिको बैठकले मन्त्रीलाई फिर्ता बोलाउने र केन्द्रीय समितिको बैठक डाक्ने निर्णय गरेको बताउँदै कार्यकारिणी समितिका सदस्य गजाधर यादवले निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको बताए । ‘असार मसान्त भित्र पार्टी अद्यावधिक गर्नुपर्ने भएकाले २५ गते भित्रै केन्द्रीय समितिको बैठक बस्नेछ’उनले भने, केन्द्रीय समितिको बैठक अगावै अध्यक्ष यादवले अन्य निर्णयहरु लिनुहुनेछ ।

स्रोतका अनुसार अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक अगावै कार्यकारिणी समितिलाई पूनर्गठन गर्ने छन् ।कार्यकारिणी समिति पूनर्गठनबाट भट्टराई, महिन्द्र यादव, राजकिसोर यादव, रामनरेश राय, अमृता अग्रहरी, रमेश यादव, नवराज सुवेदी, प्रशान्त सिंह, हिसिला यमी सहित १२ जनालाई हटाइने स्रोतले जनाएका छन् । कार्यकारिणी समितिमा हाल ३३ जना सदस्य रहेका छन् ।त्यस मध्ये २१ जना अध्यक्ष यादवको पक्षमा उभिएका छन् ।सोमवारको कार्यकारिणी समितिको बैठकमा समेत उनीहरुको सहभागिता थियो । पूनर्गठित कार्यकारिणी समितिलाई केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराएर निर्वाचन आयोगमा पठाइने तयारी अध्यक्ष यादवले गरेको उच्चस्रोतले जनाए । भट्टराईसित लागेका प्रदीप यादव, इस्तियाक राईन लगायतले छाडेपछि यादव पक्ष बलियो बनेको छ ।अध्यक्ष यादवलाई पार्टीको साधारण सदस्य समेतबाट हटाएर पार्टी नै कब्जा गर्ने अन्तिम तयारी गरिसकेका भट्टराई भने अहिले नराम्ररी पछारिन लागेका छन् ।उनी समेत कार्यकारिणी समितिमा १२ जना रहेको देखिए पनि त्यसबाट समेत केहीले साथ छाड्न सक्ने संभावना बलियो छ । भट्टराई समूह छाड्नेहरु मध्ये केही कार्यकारिणी समितिमा रहन सक्ने संभावना छ ।भट्टराईलाई केन्द्रीय समितिबाट नै परिषद् को अध्यक्ष समेतबाट पदमुक्त गरिने तयारी छ । ‘उनीहरुलाई कुनै स्पष्टिकरण अथवा अन्य कुनै कारवाहीको पक्रिया गरिने छैन्’स्रोतले भने, पूनर्गठनबाट सोझै पदमुक्त गरिने छ ।त्यति भएपछि पार्टीको साधारण सदस्य भएर बस्ने अथवा अन्य विकल्प खोज्ने निर्णय उनीहरु स्वयंले नै गर्नुपर्ने स्रोतले बताए । केही दिन पूर्व अत्यन्त कमजोर देखिएका अध्यक्ष यादव गत हप्तादेखि फेरि शक्तिशाली भएका छन् ।यसै हप्ता कार्यकारिणी समितिको पूनर्गठन हुने संभावना छ ।त्यस लगतै मन्त्री फिर्ता बोलाइने स्रोतले जनाए ।

पूर्व राजपाका १० जना कार्यकारिणी सदस्य मध्ये ५ जना अध्यक्ष यादवसित नै रहेका छन् ।त्यस मध्ये मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिसोर साह, मृगेन्द्रसिंह यादव, मनिष सुमन लगायत छन् । भट्टराई समूहमा बहुमत रहे पनि त्यसलाई कार्यान्वयन गर्न गठबन्धनका नेता प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड बाधक बनेका थिए ।भट्टराईको आग्रहमा देउवाले जसपाका मन्त्रीलाई चलाउन अस्वीकार गरेपछि उनको पक्ष कमजोर भएको हो ।भट्राईले दुई पटक प्रधानमन्त्री देउवा र एक पटक अध्यक्ष प्रचण्डलाई भेंटेका थिए ।

Comment


Related News

Latest News

Trending News