२०७९ असार १५, बुधबार ०७:२४

मधेश प्रदेशमा तीन दिन यता निरन्तर वर्षा भइरहेको छ । मंगलबारसम्म वर्षा रोकिएको छैन् । आकाशे पानीको भरमा रहेका किसानलाई अहिले रोपाई गर्न भ्याई नभ्याई छ । तर, धनुषाका गरिव, विपन्न र दलितलाई भने ओत खोज्नै हम्मे– हम्मे परेको छ । कारण छ, मधेश प्रदेश सरकारले महेन्द्र नारायण निधि आवास योजना अन्तरगत नयाँ घर बनाउन उनीहरुको घर भत्काएको छ । घर भत्काएको ६ महिना बित्दासमेत घर बन्न सकेका छैनन् ।

मंगलवार बेलुका केही वेर वर्षा बन्दभएपछि नगराईन नगरपालिका रामबागकी शीला देवी सदा पानीबाट बच्न जोहो गर्दै थिइन् । छाप्रोलाई माटोले उनी लेपपोत गरिरहेकी थिइन् । नयाँ घरमा बस्ने आशले पुसमै उनले पुरानो घर भत्काइन् । तर अहिले सम्म नयाँ घरको काम २० प्रतिशत मात्रै भएको छ । ‘धेरै समस्या भइरहेको छ । सरकारले गरिव, दलितको घर भत्काएर कानमा तेल हालेर सुतेको छ,’उनले भनिन्,‘हामी पानीमा भिजिरहेका छौं । कसैलाई मतलव छैनन् ।’ शीला जस्तै सोही ठाउँकी सरिता सदाको पनि पीडा छ । घर निर्माण नहुँदा उनलाई बालबालिकालाई जोगाउनै समस्या भइरहेको छ । पाँच धुर घडेरीमा उनले तीन कोठे घर बनाएकी थिइन् । नयाँ घर बन्ने आश्वासनपछि तीनै कोठा भत्काइन् । अव सरितासँग ओत लाग्न न पुरानो घर छ, न नयाँ घर बनेको छ । ‘थोरै जग्गा छ, अरुको घरमा बस्दै छु । धेरै समस्या छ,’उनले भनिन्,‘पानी परेपछि बालबालिकालाई जोगाउन सबै भन्दा बढी समस्या भइरहेको छ ।’ मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुलसियाहीमा पनि सोही समस्या देखिएको छ । तुलसियाहीका ज्ञानचन्द सदाले घर–जग्गा अभावमा खाद्य संकट सामना गरिरहको बताउँछन् । उनले पनि पुरानो घर भत्काएर छिमेकी राम जिवन सदाको घरमा ओत लागेका छन् । उनको घरको आगंनमा त्रिपाल लगाएर रात गुजारी रहेका छन् । ‘वर्षाले जिवन कष्टकर मात्रै भएको छैन्, खाद्यान्न संकटसमेत ल्याइदिएको छ,’उनले पीडा सुनाउँदै भने,‘समान राख्ने ठाउँ अभाव भएपछि मजदुरी गरी ल्याएको धान, चामल वर्षाले भिजेको छ ।’ उनी दैनिक मजदुरी गरी घर परिवार चलाइरहेका छन् । तर वर्षामा मजदुरीको काम पनि न पाएको उनले सुनाए । रामबाग र तुलसीयाही गरी मात्रै ३५ घर परिवारको समस्या उस्तै छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा मात्रै ७० वटा घर बनाउने सरकारको योजना रहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीपक कुमार रायले जानकारी दिए । यी मध्ये अधिकांश घर अधुरा छन् भने कतै शुरु पनि नभएको सचिव यादवको स्वीकारोति छ । उनले स्थानीय निर्वाचनमा प्रदेशका सांसदहरु व्यस्त भएको हुनाले ढिलाइ भएको बताए । ‘सांसदहरु व्यस्त हुँदा घर बनाउने व्यक्तिको नामावली ढिलो प्राप्त भयो,’उनले भने,‘ त्यही भएर काम सकिएको छैन् ।’ उनका अनुसार काम शुरु भएको ठाउँमा पहिलो किस्ता प्रदेश सरकारले दिइसकेको छ । तर उपभोत्ता समितिलाई व्यापारीले उधारोमा सामान नदिएको समस्या देखिएको छ । साहुले उपभोक्ता समितिलाई न पत्आएको कारण काम अगाडि बढ्न सकेको छैन । उपभोक्ता समिति दलित समुदायबाटै बनाइएको छ । तर उनीहरुलाई साहुले उधारो दिन मानेका छैनन् ।

Comment


Related News

Latest News

Trending News