बारा । राष्ट्रिय वृक्षरोपण दिवस २०७९ को अवसरमा बाराको परवानीपुर स्थित भोजभगत माध्यमिक बिद्यालयको प्राङ्गनमा वृक्षरोपण गरिएको छ ।
डिभिजन वन कार्यालय बाराको आयोजना र गढीमाई साझेदारी वन पथलैयाको सहकार्यमा वृक्षरोपण गरिएको हो । डिभिजन बन कार्यालय बाराका बन अधिकृत बिनोद सिँहले मानिसको अस्तित्व बचाईराख्न वृक्षरोपण गरेर आफनो वरिपरिको वातावारण हराभारा बनाउनुको बिकल्प नरहेको बताए । प्राकृतिक स्रोत साधनहरुको चरम दोहनले वातावरणमा अतिबृष्टि र अनाबृष्टिको समस्या देखिएका बताए । वातावरणमा समस्या आउँदा हरेक जीवको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुन सक्ने भएकाले आफ्नो वरिपरिको खाली तथा सार्बजनिक जग्गाहरुमा वृक्षरोपण गर्नुको बिकल्प नरहेको धारणा ब्यक्त गरे । त्यस्तै गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साहले बोटबिरुवालाई मानिसको आवश्यकता भन्दा मानिसलाई बोटबिरुवाको आवश्यकता पर्ने गरेको बताए । कोरोना महामारीको समयमा अक्सिजनको अभावमा कतिपय मानिसले अकालमै ज्यान गुमाउनु परेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष साहले वन जंगल जोगाईएन् भने भावी सन्ततिहरु अक्सिजनको अभावमा पिठिउँमै अक्सिजनको सिलिन्डर लिएर हिड्ने दिन आउँन सक्ने सङ्केत गरे । परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेलले परवानीपुर गाउँपालिकालाई क्लिन एण्ड ग्रिन सिटीको अवधारणाको साथ विकास गर्न लागेको बताए । जसको फलस्वरुप त्यसकोलागि छुटै बजेट छुट्याएको जानकारी दिए ।


