२०७९ असार १७, शुक्रबार ०७:१९

वीरगञ्ज ।पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा अर्ध जलेको अवस्थामा एकजना किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधवार मध्यरातिमा किशोरीको शव जलाइरहेको घाटमा पुगेर प्रहरीले शव नियन्त्रणमा लिएको थियो । बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ बिश्रामपुरबाट जलाइरहेको शव प्रहरीले नियन्त्रणमा लिएको थियो । श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारीको शव छपकैयास्थित श्मसानघाटबाट जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार १४ बर्षीया किशोरीले आत्महत्या गरेपछि आफन्तले शव जलाएर घटनालाई सामान्य मृत्युमा परिणत गर्न खोजेका थिए ।गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले छपकैयास्थित आर्यघाटबाट शव नियन्त्रणमा लिएको हो । गोप्य रुपमा जलाउन थालिएको घाटमा प्रहरी पुगेको देखेर मृतकका पुरुष आफन्तहरु फरार भएका थिए ।तर प्रहरीले मृतकका दिदी, आमा र ठूलीआमालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोधपुछका लागि तीनैजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले जनाए । विष सेवन गरी आत्महत्या गरेकी महिमा कुमारीको शव अभिभावक र आफन्तले पोष्टमार्टम नगरी घटना लुकाउन रातिको समयमा श्मसानघाटमा लगेर जलाउन लागेको खबर छिमेकीले प्रहरीलाई दिएको एसपी बस्नेतले बताए । ‘मलामी गएका अन्य स्थानीय लगायतका आफन्तहरु प्रहरीलाई देखेपछि भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षकडीएसपी) प्रह्लाद कार्कीले भने, भाग्न नसकेकाहरुलाई नियन्त्रणमा लिएको छ । किशोरीको शबलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको डीएसपी कार्कीले बताए । आत्महत्या हो या हत्या गरेर जलाउन लागिएको हो भन्ने बारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन गर्न सकिने डिएसपी कार्कीले जनाए । स्रोतहरुका अनुसार किशोरीको स्थानीय एकजना युवकसित प्रेम रहेको थियो ।पारिवारिक सदस्यहरुले किशोरीलाई दवाव दिएर केटासित अलग्याउने प्रयास गरिरहेका थिए ।तर केटी अलग्गिन तयार नभएको स्रोतको दाबी छ । किशोरीलाई राति नै जलाइरहेको सूचना प्रहरीलाई पनि त्यही व्यक्तिले दिएको अनुमान गरिएको छ ।यद्यपि यस सम्बन्धमा प्रहरीले केही खुलाएको छैन् ।नियन्त्रणमा रहेको मृतकका दिदी, आमा र ठूली आमासित प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । कतिपयका अनुसार किशोरीमाथि पारिवारिक दवाव बढेपछि विष सेवन गरी आत्महत्या गरेकी हुन् ।परिवार र आफन्तहरुले घटनालाई सार्वजनिक नगर्न गुपचुप रुपमा किशोरीको शवलाई जलाउन लागेको स्थानीयहरुले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News