मधेसले धेरै नेताहरु जन्माए। मधेसबाट प्रतिनिधित्व गर्ने धेरै नेताहरु मन्त्री भए। नेपालको केन्द्रीय राजनीतिमा सँधै मधेसको प्रभाव रहँदै आएको छ।हरेक शासन व्यवस्थामा मधेसबाट प्रतिनिधित्व गर्नेहरुको सहभागिता मात्रै होइन , प्रभावकारी सहभागिता रहँदै आएको छ। मधेस हरेक राजनीतिक दललाई सत्तामा पु¥याउन भ¥याङ्ग बने तर मधेसलाई कसैले न्याय गर्न सकेनन्। मधेसबाट प्रतिनिधित्व गर्ने मुठ्ठीभर नेताहरु जो शासन सत्तामा रहँदै आए, उनीहरुले सत्ता र शक्तिको बलमा लिन सके सम्मका लाभ लिए र आफ्ना विकास गर्न कुनै कसर बाँकी राखेनन्। तर मधेस र मधेसी जनताको विकास हुन सकेनन्। मधेस र मधेसी जनताको दोहन गरेको आरोप मधेसका हरेक नेताहरु (अपवादको रुपमा रहेका एकआध नेता वाहेक) लाई लाग्दै आएको छ तरपनि मधेसका नेताहरुले आफ्ना प्रवृति सुधार्नु पर्ने आवश्यकतानै महशुस गर्न सकेका छैनन्। आफ्नो ब्यबहारमा सकारात्मक परिबर्तन गरेर मधेस र मधेसी जनताको आवश्कता पुर्ति गर्ने गरी काम गर्न नसकेका मधेसका नेताहरुले मधेसी जनताहरुमा राजनीतिक चेतना र सचेतना समेत दिन सकेका छैनन्।मधेसमा अहिले पनि राजनीतिक जागरणको अभावनै रहेको देखिन्छ। मधेसको नाममा तथा मधेसलाई केन्द्रमा राखेर राजनीतिक दलनै स्थापना गरेको र ती दलहरुलाई मधेसी जनताले स्थापित पनि गरी दिए। तर ती दलका नेताहरुमा पनि मधेस र मधेसी जनताको स्वार्थभन्दा ब्यक्तिगत स्वार्थनै हाबि भैदिदा मधेसी जनताले सोँचेअनुसारको काम हुन सकेका छैनन् न त मधेसमा विकासनै हुन सकेका छन्।
मधेसका दलहरुले जनतालाई आन्दोलनमा उतारे तर आन्दोलनको भावना अनुसार अगाडि बढन सकेनन् न त मधेसी जनतालाई राजनीतिक प्रशिक्षण दिन उपयुक्त ठाने। मधेस आन्दोलनको रापतापबाट उदाएका मधेसका दलहरु आफ्ना विर ासत कायम गर्नभन्दा नेताहरु कसरी जहिले पनि आफु शक्ति र सत्तामा रहि रहनेमा केन्द्रित भए। पछिल्लो डेढ दशकमा पटक पटक गरी तीनवटा मधेस आन्दोलन भयो। ती आन्दोलनहरुमा सयौं मधेसी सपुतहरुले सहादत प्राप्त गरे भने धेरै अंगभंग भए। मधेस आन्दोलनमा मधेसी जनताले गरेको बलिदान अनुसारको उपलब्धि पाएको भनेर मधेसले अहिले पनि चित बुझाउने अवस्था छैन्। ०१५ सालदेखि नै मधेसकेन्द्रीत राजनीतिको सुरुवात भएको हो। रामजनम तिवारी, रघुनाथ ठाकुर, गजेन्द्रनारायण सिंहहरुले नै मधेसको समस्या र मुद्दाको उठान गर्न सुरु गरेका थिए। मधेसको मसिहा भनेर चिनिने गजेन्द्र नारायण सिंहले स्थापना गरेको नेपाल सदभावना पार्टी अहिले टुक्रा टुक्रा भई निर्वाचन आयोगको दर्तामा सिमित हुन पुगेको छ। त्यसबेलादेखि नै मधेसको मुद्दा उठदै आएको भएपनि नेतृत्व स्थापित हुन नसकेको कारण मधेसको मुद्दा स्थापित हुन सकेका थिएनन्। ६२÷ ६३ को जनआन्दोलन भएको केहि समयमै मधेसमा आन्दोलन भयो। मधेस आन्दोलनले मधेसको मुद्दा स्थापित ग¥यो । मधेसी जनता आफ्ना राजनीतिक अधिकार प्राप्त गर्न राजनीतिक बहस र आन्दोलनलाई ब्यापक रुपमा अगाडी बढाए। मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले मदेसका दलहरुसँग २२ बुँदे र ८ बुँदे सम्झौता गरेका थिए। मधेसको लगभग सबै मुद्दा २२ बुँदे र ८ बुँदे सम्झौतामा समेटिएको छ। सम्झौता कार्यवन्यन गराउने विषय मधेसका दलहरुको लागि सत्तामा जाने भ¥याङ मात्र बन्यो सम्झौता कार्यावन्यनको विषयलाई प्राथमिकताका साथ मधेसका दलहरुले समेत उठाएनन्। सम्झौताको पुर्ण कार्यवान्यन अहिलेसम्म पनि हुन सकेकै छैन्।
मधेस आन्दोलनले उठाएको कुनै पनि मुद्दा सम्बोधन भएकै छैन भन्न मिल्दैन । यो गलत हुन्छ । मधेसले उठाएका सबै मुद्दामा लगभग काम भएको अवस्था छ । तर मधेसले अपनत्व लिन सक्ने गरि मधेसको सहमतिमा पूर्ण रुपमा कार्यवन्यन भएको छैन । राज्यले आफ्नो चाहना अनुसार मात्र कार्यवन्यन गर्दै आएकोछ ।मुलुक संघीयतामा जानु , समावेशीको सिद्धान्तलाइ स्विकार गर्नु, मधेस र मधेसीको पहिचान स्थापित हुनु मधेश आन्दोलनकै उपलब्धि हो ।सामाजिक र राजनीतिक दुबै क्षेत्रमा परिवर्तन आएको छ। नागरिकता समस्या पनि केही हदसम्म समाधान भएको छ । तर, पूर्ण रुपमा हल हुन सकेको छैन । नागरिकता बिधेयक आफ्ना सहमतिमा पारित हुनु पार्ने अहिले पनि मधेसका दलहरुको माग रहेको छ । पहिलो मधेस आन्दोलन सकिएलगतै मधेसी जनअधिकार फोरम दलको रुपमा बाहिर आयो। यो पार्टिमा प्रवेश गर्ने लहर नै चल्यो।काँग्रेस, एमालेबाट प्रवेश गर्नेहरुको लहरले फोरम बलियो हुँदै गयो भने फोरममा अटाउन नचाहेकाहरुले तराई मधेस लोकतान्त्रिक पार्टि स्थापना गरेका थिए।मधेसमा भएका सबै आन्दोलनमा मधेसका दलहरु सँगसँगै थिए तर आन्दोलनको उपलब्धिलाई स्थापित गराउन मधेसका दलहरु कहिल्यै एक भएर अगाडि बढेको मधेसी जनताले अनुभुति समेत गर्न पाएनन्। बितेको डेढ दशक मधेसको लागि राजनीतिक उतार चढावको अबधिको रुपमा रह्यो। यस अबधिमा मधेसले धेरै उतार चढाव भोगेको छ। मधेसका दलहरुमा सत्ता लिप्सा यति सम्म बढयो कि कुनै पनि मधेसका दलले आफ्नो एकता टिकाई राख्न सफल भएन्।मधेसका दलले आफ्नो शक्ति बढाउने तर्फ सोच्नसम्म सकेनन्। सबै नेतालाई मन्त्री र अध्यक्षनै हुनु पर्ने लहर चल्यो। धेरैले पार्टि फुटाउदै मन्त्री र अध्यक्ष हुने रहर पुरा गरे। ती मध्येका कतिपयको अस्तित्वनै समाप्त भयो भने अस्तित्वमा रहेकाहरुको पनि भबिष्य राम्रो रहेका छैनन्।
तिनीहरु पनि ओरालो बाटो लागेको प्रष्ट देखिएको छ। मधेसका दलहरुबीच एकता हुने पहिलो सकारात्मक संकेत ८ वैशाख २०७४ मा देखिएको थियो। यस दिन मधेसका ६ राजनीतिक दलको एकताबाट राष्ट्रिय जनता पार्टी नेपालको गठन भएको थियो। त्यसतै अर्को सकारात्मक संकेत २०७६ साल वैशाख १० गते देखिएको थियो।यस दिन राजपा र समाजवादी पार्टि नेपालबिच एकिकरण भइ जनता सामाजवादी पार्टि (जसपा) को गठन भएको थियो ।राजपा र समाजवादीबीच एकताको लामो प्रयास चलेको भएपनि एकता हुनु मूख्य कारण समाजवावीमा हुन लागेको फुटनै थियो। पार्टि फुटन लागेको संकेत पाएर उपेन्द्र यादवले रातारात राजपासँग एकिकरण गरेर आफ्नो पार्टिलाई फुटबाट जोगाएका थिए। यद्यपि यसले मधेसमा एउटा उत्साह पैदा गरेको थियो। तर मधेसको उत्साहलाई मधेसी दलका नेताहरुले टिक्नै दिएनन्। भदौ ९ २०७८ मा जसपा औपचारिक रुपमा बिभाजित भयो। मधेसका दलहरुले एकताभन्दा कयौं गुणा बढी बिभाजनको इतिहास बोकेका छन्। यसको मुख्य कारण नेताहरुमा मधेस र मधेसी जनता प्रतिको मोहभन्दा ब्यक्तिगत लाभ र हानिको मोह हुनुनै हो।त्यसमा पनि छनिक लाभ। मधेसका दलहरुका नेताहरु यस्ता छन् कि एकले अर्काको नेतृत्व स्विकार गर्नै तयार छैनन्। अलिकति पनि जनसमर्थन र वाहवाहिपाउन साथ आफै नेतृत्वको लागि सक्षम भइसकेको ठान्छन र आफुभन्दा अब्बल कोही नरहेको देख्न थाल्छन्। पार्टि फुटाउदा पार्टीको मुद्दा, पार्टी कार्यकर्ताको विश्वास र भरोसा, पार्टी र आफ्नो राजनीति भबिष्यको समेत वास्ता गर्दैनन्। छनिक लाभमानै रमाउने चरित्र रहेको छ।यसरी हेर्दा मधेसका दलहरुमा छनिक लाभ लिन राजनीतिमा आएका नेताहरुको संख्या उल्लेख्य छ भने जो दिर्घकालका लागि राजनीतिमा आएका छन्, तिनीहरु आफु बाहेक अरुलाई असल मान्नै तयार छैनन् र सँधै सबै अवसर आफु र आफ्नालेमात्र पाउन भने सोँचका रहेका छन्। ठुला दलहरु जस्तै मधेसका दलहरुमा पनि नेतृत्व हस्तान्तरणको ठुलो समस्या रहेको छ।
मधेसका कुनै पनि दलले आफ्नो संगठन बलियो बनाउने, कार्यकर्तालाई प्रशिक्षित गर्ने, स्थानीय स्तरका नेता कार्यकर्तालाई जनतासँग जोडिन लगाउने, परि आउदा जनतालाई साथ दिने र सहयोग गर्ने जस्ता जनतासँग नजिक हुने कार्यक्रम र अभियान चलाउन कहिल्यै रुचि देखाएनन्। मधेस आन्दोलन गरेको आधार र मधेसको आक्रोसको भरमानै सँधै स्थापित हुन खोजे। मधेसका दलहरुको संगठन छ तर व्यवस्थित छैनन्। कार्यकार्ता र नेता पनि छन् तर दल र मधेस मुद्दाप्रति समर्पितको संख्या ज्यादै नै न्यून रहेको छ। सारमा भन्नु पर्दा एकल हैकम जमाउने नेतृत्व हुनु नै मधेसका दलहरु असफल हुँदै जानुको प्रमुखकारण हो।मधेसका दलहरुको नेतृत्वले पार्टीमा नेतृत्व विकास गर्नै मानेनन्, पार्टीलाई जनतासँग जोडनै सकेनन्, जनतालाई मधेस मुद्दा वाहेक विकासका मुद्दाहरु दिनै सकेनन्, मधेसमा रहेको बेथितिको अन्त्य गर्ने विश्वास जनतालाई दिनै सकेनन् बरु उल्टै अनियमितता र भ्रष्टाचारमा डुबदै गएको संकेत देखियो र पार्टी हाक्ने दंग नरहेको समेत देखायो। मधेसका दलहरु जातासँग सँधै एउटै मुद्दामा भोट माग्दै आएका छन्। मधेसमा भौगोलिक सुगमताका बाबजुद भौतिक विकास हुन सकेको छैन। मधेस मानव विकास सूचकांकमा पछाडि रहेको, गरिबिमा अगाडी रहेको, सक्षरतादर कम रहेको, बेरोजगारीको समस्या बिकराल बन्दै गएको, कृषिको बेहाल रहेको आदि समस्याप्रति मधेसका कुनै दल गम्भिर भएनन्। यी समस्याहरु सामाधान गर्ने प्रतिब्धता मधेसका कुनै दलबाट मधेसका जनताले पाउन सकेनन्। मधेसका दलहरुले जहिले पनि खालि विभेदका कुरा मात्र गरे। मधेसमा आक्रोस पैदा गरेर आफु स्थापित हुने बाटो मात्र देखे मधेसका दलहरु। मधेसलाई समृध्द कसरी बनाउने योजना ल्याउन सकेनन्। पछिल्लो समयमा जनमत पार्टिलाई आशाको नजरले मधेसका जनताले देखेका थिए तर जनमत पार्टि पनि मधेसका पुरानै दलहरुको बाटो समात्यो। मधेसका पुराना दल र नेताहरुले केही नगरेको देखाएरै मधेसी जनताको सान्तवना लिन खोजे। मधेसका पुराना दलले जे जे गल्ती गरे जनमत पार्टीले पनि त्यही गल्ती गर्दै छ। मधेसका पुराना दलहरु र जनमत पार्टी आफ्नो गल्ती नसुधारी सफल हुन सक्ने कुनै सम्भावना छैन।
मधेसलाई समृद्ध बनाउने कार्यक्रम ल्याउन नसकेमा मधेसमै मधेसका दलहरुको अस्तित्व समाप्त हुन सक्नेसम्मको खतरा रहेको छ। विभेद र असमानताको मुद्दा उठाउदै आएका दलहरु आफै सत्तामा पुग्दा मधेसमा यही कुरा लागु गर्न सकेनन्। फलस्वरुप यिनीहरु पनि विभेद र असमानताको विरूद्धमा रहेको ब्यबहारले प्रमाणित भएन्। मधेस प्रदेशको सत्ता चलाउने अवसर पाएर पनि मधेस र मधेसी जनताको हित हुने गरी खासै नयाँ कार्यक्रम ल्याउन सकेनन्। मधेसलाई समृद्ध बनाउने विकासे योजना समेत दिन सकेनन्। उल्टै भ्रष्टाचारको आरोप लाग्यो। मधेसमा रहेको बेथिति भत्काउने समान्य काम समेत गर्न सकेनन्।मधेसको नाममा राजनीति गर्ने तर मधेसको सत्तामा पुग्दा समेत मधेसमा सुसासन कायम पनि गर्न नसकेका मधेसका दलहरुलाई सफल मान्न सकिने कुनै आधार छैनन्। सफल भए त नेताहरु आफ्ना ब्यक्तिगत विकास गर्न। मधेसी दलबाट मधेसको नाममा सांसद र मन्त्री हुनु वाहेकको सफलता मधेस र मधेसी जनताले पाएको देखिदैन्।यसकै लागि मात्र मधेसमा मधेसका दलहरुलाई मधेसी जनताले स्थापित गरेका हुन भन्ने आम मान्याताहो भने मात्र मधेसका दलहरुलाई सफल मान्न सकिन्छ नभए कुनै हालतमा सफल मान्न सकिदैन्।मधेस आन्दोलन सफल भए तर मधेसका दलहरु सफल हुन सकेनन्। मधेसका दलहरु जहिल्यै संकटमट देखिनुनै उनीहरुको असफलताको प्रमाण हो ।

