रौतहटमा दैनिक कटिया मासुको पारखीको संख्या दिनदिनै बढ्दै गएको छ । कटिया मासुकालागि रौतहटको कटहरिया निकै प्रसिद्ध रहेको छ । अति स्वादिष्ट खानेकुरा अर्थात परिकारको रुपमा रहेको कटियाबाट नै रौतहटको कटहरियालाई चिन्ने गरिन्छ ।
रौतहटको पश्चिमी भेग स्थित कटहरिया नगरपालिकामा अवस्थित रहेको छ । कटियाले नै कटहरियालाई चिनाउने गरिन्छ । अर्को अर्थमा स्वादिष्ट खसीको मासुको परिकार हो कटिया । कटहरिया मात्र पाइने स्थानीय मौलिक खाना पनि हो यो कटिया । पहिला पहिला कटहरियामा मात्र पाइने मासुको परिकार कटिया अहिले अन्यत्र पनि निकै प्रसिद्ध हुन थालेको छ । करिब पाँच दशक अगाडि कटहरियाका मौजेलाल साह र जगा साहले माटोको भाडोमा मासु हालेर पकाएर खान सुरू गरेका थिए यो परिकार । शुरुमा मौजेलाल र जगा साहले खान सुरु गरेको कटिया अहिले साहद्वयमा मात्र सीमित छैन कटहरियामा त दिनहु कटिया खानेको भीड नै लाग्ने गरेको छ । त्यसैले कटियाले नै कटहरियाको पहिचान र स्वभिमानलाई झल्काउने गरेको छ । कटहरियाको कटिया निकै प्रसिद्ध रहेको पाइन्छ । दैनिक विभिन्न शहरदेखि कटिया खानै थुप्रै आगन्तुकहरु यहाँ आउने गर्दछन् । करिब ३५ वर्षअघि नै कामेश्वर साहले व्यावसायिक रूपमा कटिया बनाउन थालेका थिए । अहिले कटियाले प्रसिद्धि कमाइसकेको छ । कटहरियामा मात्र हाल दुईदर्जनभन्दा बढीले कटियाको पसल सञ्चालन गरेका छन् । कटहरियाका कटिया बनाउनमा मात्र अहिले दैनिक तीन सय किलोभन्दा बढी खसीको मासु खपत हुने गरेको बताइन्छ । माटोको भाँडामा करिब दुई सय ग्राम जति खसीको मासु राखेर त्यसमा तोरीको तेल, प्याज, नुन, मसला हालिन्छ । अनि मासु हालेको माटोको भाँडो कोइलाको भुङ्ग्रोमा राखिन्छ । कोइलामाथि कटियाको भाडा राख्ने र पंखाले हम्किने गरिन्छ । यसरी गर्नाले रापको तातोले माटोको भाडामा राखिएको मासु मजाले पाक्छ । कटिया पाक्न करिब ४० मिनेटदेखि एक घण्टासम्म लाग्छ । किन प्रसिद्ध भयो कटिया ? माटोको भाडोमा पकाएको मासुको परिकार अन्य भन्दा छुट्टै स्वाद हुने कारण पनि कटियाको माग बढ्दै गएको छ ।
विरेन्द्र राजमार्ग गरुडाबाट १० किलोमिटर दूरीमा रहेको छ कटहरिया । भारत तथा नेपालको बिभिन्न स्थानहरूबाट आगन्तुकहरू कटिया खानकै लागि यहाँ आउने गरेको साजन मिट हाउसका सञ्चालक साजन जयसवालले बताए । कटिया विशुद्ध खसीको मासुको मात्र बनाइने र अन्य जनावरको कटिया नबन्नेसमेत उनी बताउँछन । जयसवालले मात्रै दैनिक ६० वटा भाडोमा कटिया पकाएर बेच्दै आएका छन् । प्रतिभाँडो चार सय रुपैयाँ लिने गरेको बताउँदै उनले भने, ‘चाँडै नै कटिया बनाउने व्यवसाय जिल्लाको अन्य ठाउँ र जिल्ला भन्दा बाहिर पनि सञ्चलन गर्नेछु।’ कटहरियाको कटिया खानकै लागि काठमाडौं, पोखरा, वीरगञ्ज, जनकपुर लगायतका स्थानहरूबाट मानिसहरु आउने गरेको स्थानीयहरु बताउँछन । ‘कटहरियाको कटियाको आफ्नै स्वाद छ । जुन स्वाद लिनको लागि पनि यहाँ विभिन्न ठाउँका आगन्तुकहरू आउने गरेका छन् ।’ कटहरियाको कटियाले प्रसिद्धि कमाएपछि जिल्लाका गरुडा, गौर, बाराको कलैया, सिम्रौनगढ पर्साको वीरगञ्ज, भारतको रक्सौल, बैरगनियालगायतका स्थानमा पनि बनाउन शुरु गरिएको छ ।
तर, कटहरियाको जस्तो राम्रो र स्वादिष्ट कटिया अन्य कतै पाउँदैन । विगतका दिनमा खास गरी विपन्न परिवारले मात्र कटियाको व्यापार गर्दै आएका थिए । तर, अहिले ती व्यापारी कटिया बेचेरै आर्थिक रूपमा सम्पन्न पनि भएका छन् । कटिया बनाउने पेशबाट धरैले जीविकोपार्जन गर्दै आएको पाइन्छ । कटिया मासु खाने आउनेको संख्या बढेपछि कटहरियाका अधिकांश युवाहरु अन्य पेशा छोडेर कटिया बेच्ने तर्फ नै लागेका छन । कटिया बेचेर नै यहाँका मानिसहरु आर्थिक रुपमा निकै सम्पन्न भएका छन्


