आइएफइएस को प्राविधिक सहयोग तथा स्विस सरकार विकास सहयोग र अस्ट्रेलियन एस को आर्थिक सहयोग एवं माण्डवी रौतहटको आयोजनामा ४ दिवसीय निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि दोस्रो मोड्युल अन्तर्गत प्रारम्भिक प्रशिक्षण कार्यक्रम रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई राजनीति कसरी गर्ने भन्ने उदेश्यले शी लिड्स कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । आसन्न संघीय तथा प्रादेशिक निर्वाचनमा महिलाको सहभागिता र निर्वाचनमा खेल्नु पर्ने भूमिका बारेमा सहभागीहरुलाई जानकारी गराईएको प्रशिक्षक संजय कुमार यादवले जानकारी दिए । नेपालको संविधानले महिलाहरुको ३३ प्रतिशत सहभगिता गराउने लिएको अवधारणा अनुरुप राजनीतिक क्षेत्रमा नेतृत्व तहमा पनि समानुपातिक रुपमा सहभागिता हुनु पर्ने लक्ष्य कार्यक्रमको रहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले ले प्रशिक्षणबाट लिएका ज्ञान र सीप व्यवहारमा उतार्न आग्रह गरेका थिए । उनले महिलाहरुलाई सम्मान पूर्वक बाच्नु पर्ने तथा समान रुपमा अधिकार पाउने पर्ने अधिकार कानूनले प्रदान गरेको बताए । मुलुकमा विद्यमान रहेका विभेद अन्त्य नभए सम्म समतामूलक समाजको निर्माण गर्न नसकिने धारणा राखे । प्रशिक्षण कार्यक्रममा सहभागी भएकी २० जना महिलालाई राजनीतिक , आर्थिक सामाजिक विकास सहभागिता तथा निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा जानकारी गराइएको कार्यक्रम अनुगमन अधिकृत रिंकु चौधरीले बताए । कार्यक्रम रौतहटको विभिन्न स्थानीय तहमा दोस्रो मोड्युल अन्तर्गत संचालन गरिने आयोजक सस्थाले जनाएको छ ।
प्रशिक्षण पछि निर्वाचित महिलाहरुले सहभागिताको बारेमा सबल र सक्षम हुने विश्वास रहेको प्रशिक्षक पुनम ठाकुरले बताए । राजनीतिक रुपमा पछि परिएका महिलाहरुले निर्णय प्रक्रियामा सहभागी हुने तर्फ अग्रसर हुने बताइएको छ । कानूनी प्रक्रियालाई मात्र पूरा गर्ने परिपाटीले गर्दा राजनीतिक रुपमा विभिन्न पदमा सहभागी गराइए पनि निर्णय तथा नेतृत्व तह बाट बन्चित गराउने कार्य देखिएको सहभागीहरुको भनाइ रहेको थियो । पहिलो चरणमा भएको तालिममा सहभागी भएकी महिलाहरु मध्ये केही महिला हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित समेत भएको अनुगमन अधिकृत चौधरीले जानकारी दिए । रौतहटमा स्थानीय तह प्रमुखमा केही मात्र स्थानीय तहमा प्रमुखमा महिला निर्वाचित हुन् सकेका छन् । राजनीतिक दलले इशनाथ नगरपालिका , राजदेवी नगरपालिका , गौर नगरपालिका , राजपुर नगरपालिका , माधव नारायण नगरपालिका ,मौलापुर नगरपालिकामा महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका थिए । मौलापुर नगरपालिका र इशनाथ नगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महिला उम्मेदवार नगरप्रमुखमा निर्वाचित भएपनि अन्य पालिकामा असफल भएका छन् ।
लैंगिक विभेद अन्त्य गर्नु पर्ने नेपाल सरकार लगायत सरोकारवाला सवैले आवाज उठाउने गरेपनि प्रमुख पदमा अहिले पनि महिला पुरुष वीचको असमानता कायम नै रहेको अधिकृत चौधरीको तर्क छ ।


