धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको सक्रियतामा ढल्केवरमा प्रदेश स्तरीय ट्रमा सेन्टर निर्माण कार्यको प्रक्रिया शुरु भएको छ । प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गरिएको छ ।
मिथिला नगरपालिका वडा नं. ७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको थियो । शनिवार प्रस्तावित उक्त जग्गाको माटो परीक्षणको काम शुरु गरिएको संघीय आयोजना कार्यान्वयन ईकाई धनुषाका सबईन्जिनियर सुनिल ठाकुरले जानकारी दिए । माटो परीक्षण कार्य दुई दिन सम्म चल्ने जनाइएको छ ।
यसअघि नेकपा एमालेका स्थानीय नेता तथा जनप्रतिनिधिहरुको अनावश्यक विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा नै ट्रमा सेन्टर बनाउन मेयर महतो सक्रिय भएपछि निर्माण कार्यको प्रक्रिया शुरु भएको छ । गत चैत्र १७ गते आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर तत्कालीन शहरी विकासमन्त्री रामकुमारी झाँक्री जग्गा निरीक्षण गर्न ढल्केवर आएकी थिइन् । तर, पनि निर्माण कार्य शुरु हुन सकेको थिएन् । तत्कालीन मन्त्री झाँक्रीसँगै ढल्केवर आएका शहरी विकास मन्त्रालयका सचिव डा रमेश प्रसाद सिंहले अहिलेसम्मको अध्ययन अनुसार ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताउँदै आएका थिए । यद्यपि निर्माण कार्य सुचारु गराउन नसकेपछि मेयर महतो एक साता काठमाण्डुमै बसेर निर्माण कार्य प्रक्रिया बढाउन दबाद दिएका थिए । मेयर महतोको दबाब पछि प्रस्तावित जग्गामै ट्रमा सेन्टर निर्माण गर्न लागिएको छ ।
शनिवार माटो परीक्षण शुरु गरिएको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो स्वमं पुगेका थिए । उनले सोही जग्गामा ट्रमा सेन्टर निर्माण हुने दावी गरे । उपयुक्त जग्गालाई पनि अनावश्यक बखेडा झिकेर विवादित बनाउन मात्रै खोज्नेको मनसाय कुनै पनि हालतमा सफल नहुने मेयर महतोले दावी गरे । मेयर महतो केहीदिन अघि मात्रै ढल्केवरमा ट्रमा सेन्टर र १५ शैयाको अस्पतालको पहलका लागि काठमाण्डु पुगेका थिए । नेपाली कांगे्रसबाट मेयरमा निर्वाचित महतोले चुनावी घोषणामा समेत उक्त स्थानमा नै ट्रमा सेन्टर बनाउने प्रतिबद्धता गरेका थिए । उक्त प्रतिबद्धता अनुरुप एक साताको काठमाण्डु बसाई पछि ट्रमा सेन्टर निर्माणको ढोका खुलेको छ । ढल्केवरमा बन्ने ट्रमा सेन्टर मिथिला नगरपालिकाको गौरवशाली योजना भएको भन्दै फास्ट ट्रयाकमा त्यस योजनाको प्रक्रिया अघि बढाउन मन्त्रालयका मन्त्री र मातहतका सचिवलगायतलाई दबाब दिएको मेयर महतोले बताए । मधेश प्रदेशको जनतालाई सहज रुपमा सेवा पुर्याउन ढल्केबरमै ट्रमा सेन्टर र सरकारी अस्पतालको आवश्यकता रहेको छ, मेयर महतोले भने, ‘केही राजनीतिक दलका नेताको अड्चनकै कारण निर्माण रोकिदैंन्, ढुक्क हुनुस ट्रमा सेन्टर र १५ शैयाको अस्पताल द्रुत गतीमा निर्माण गरेर संचालनमा ल्याउँछौं ।’
यसअघि स्थानीहरुले बुधेश्वर महतो र चन्देश्वर महतोको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर ट्रमा सेन्टर बचाउका लागि सडक तताउँदै आन्दोलन गरेका थिए । ढल्केवरमै ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै उनीहरुले पटकपटक नगरपालिका घेराउ गर्दै स्थानीय सरकारलाई दबाब दिदैं आएका थिए ।


