अपडेट 
२०७९ असार १९, आईतवार ०७:३३

धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित माध्यमिक विद्यालय बरमझियाको विवाद अल्झिदै गएको छ ।

शनिबार विद्यालयमा स्थानीय, राजनीतिकर्मी र शिक्षकहरुको उपस्थितमा बैठक बसेपनि विवादको टुङ्गो लाग्न सकेनन् । विद्यालयमा स्थानीय निर्वाचनमा उम्मेदवार बन्न राजिनामा दिएकी शिक्षिका रेखा यादव पुनः विद्यालयमा हाजिर हुँदा विवाद उत्पन्न भएको हो । बैठकमा मिश्रित अवाज उठेपछि कुनै निर्णय नभएको नगर प्रमुख जित नारायण यादवले जानकारी दिए । ‘राजिनामा दिएको हामीसँग कुनै ठोस प्रमाण छैन्,’उनले शिक्षिकाको बचाउ गर्दै भने,‘राजिनामा दिएको फोटो कापीहरु देखिरहेका छौं । त्यो सक्कली हो की नक्कली त्यो थाहा भएन् । तर शिक्षिकाले मैले राजिनामा दिएको छैन्, त्यो नक्कली हो भनिरहेकी छिन् ।’ राजिनामा दिएको भए पनि विवाद गर्नुभन्दा कानूनी बाटोबाट समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले असंतुष्ट पक्षलाई अदालतमा मुद्दा दिन सुझाए । बैठकमा दुबै खालको कुरा आएपछि चर्काचर्की भएको थियो । स्थितिलाई ध्यानमा राख्दै कुनै निर्णय नगरी बैठक सकिएको थियो । बैठकमा एक पक्षले शिक्षिकाको बचाउ गरेका थिए भने अर्को पक्षले उनलाई निष्काशन गर्नुपर्ने जिकिर गरेका थिए ।

विद्यालयमा असार १४ गते स्थानीयले सोही विषयमा तालाबन्दी पनि गरेका थिए । आइतबार देखि पुनः विद्यालयमा स्थानीयले राजिनामा दिएकी शिक्षिका हटाउनु पर्ने माग गर्दै धर्ना कार्यक्रम तय गरेका छन् । शिक्षिका रेखा यादवले बैशाख ८ गते राजीनामा दिएकी थिइन् । उनी राहत तृतीय श्रेणी पदमा कार्यरत थिइन् । बैशाख ३० गते भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उनले उम्मेदवारी दिने तयारी गरे पनि अन्तिम समयमा टिकट खोसिएको थियो । उनले दिएको राजिनामा प्रधानाध्यापक यादवले तोक पनि लगाएका थिए । बैसाख ९ गते देखि लागु हुने गरी राजिनामा स्वीकृत गरिएको पत्र रेखा यादवको नाममा पठाइएको देखिन्छ । ती सक्कल राजिनामा पत्र र सक्कल स्वीकृत गरिएको पत्र र सक्कल दर्ता चलानी किताब अहिले उनीहरुले लुकाउन खोजेका छन् । विद्यालयमा व्यवस्थापन समिति छैन् । राहत शिक्षकको राजिनामा स्वीकृत गर्ने जिम्मेवारी प्रधानाध्यापकको हुन्छ । तर प्रधानाध्यापक राजदेव यादव आर्थिक प्रलोभनमा परी राजिनामा दिएको कागजात लुकाउन खोजेका छन् । सोही विषयमा प्रतिक्रिया लिन खोज्दा उनले आफूलाई उक्त विषयमा केही जानकारी नभएको बताए ।

Comment


Related News

Latest News

Trending News