२०७९ असार १९, आईतवार १४:१५

भारतीय दूतावासले नेपालको विभिन्न स्वास्थ्य संस्था र विद्यालयलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले यी संस्थाहरुलाई आइतबार चाबी प्रदान गरेका हुन् ।

विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई सहयोग प्रदान गरिएको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्री पौडेलले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र २ देशबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै, भारतीय राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्‍याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको बताए।

सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न हितग्राही संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको छ। यसले स्वास्थ्य र शिक्षा सुविधाहरुलाई सुदृढ गर्ने र यस्ता सेवाहरुमा मानिसहरुको पहुँच विस्तार गर्ने सरकारको प्रयासमा भारत सरकारको सहयोग सदैव रहने दूतावासले जनाएको छ।

 

Comment


Related News

Latest News

Trending News