२०७९ असार २०, सोमबार ०८:५३

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको नेतृत्वमा एक शिष्टमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुसँग उनकै कार्यकक्षमा भेटघाट गरेका छन् ।

भेटघाटको क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अग्रवालले नेपालका लागि आयात भई रक्सौल रेल्वे साइडिङ्गमा थुप्रिने धुलोजन्य औद्योगिक कच्चा पदार्थहरु ल्याण्ड कस्टम रक्सौल – मैत्री पुल हुँदै आयात हुँदै आएकोमा ल्याण्ड कस्टम रक्सौलले १ जुलाई २०२२ देखि सो रुट परिवर्तन गरी रक्सौल मुख्य बजार – लक्ष्मीपुर – एकीकृत जाँचचौकी कायम गरिएको भनी ल्याण्ड कस्टम रक्सौलको २८ जुन २०२२ को परिपत्रले नेपाली आयातकर्ताहरु मर्कामा परेको कुरा जनाएका थिए । उनले जुलाई मसान्तसम्म नेपालका लागि आयात हुने धुलोजन्य औद्योगिक कच्चा पदार्थहरुको आयातको लागि नेपाली आयातकर्ताहरुले ल्याण्ड कस्टम, रक्सौल – मैत्री पुलको बाटो प्रयोग गर्न पाउने भए पनि त्यस पश्चात् रक्सौल मुख्य बजार – लक्ष्मीपुर – एकीकृत जाँचचौकीकै बाटो प्रयोग गर्नु पर्ने बाध्यात्मक अवस्थालाई सहज गर्न र रेल्वे साइडिङ्गबाट आईसिपीसँगको एप्रोच रोड ४ लेन नहुञ्जेलसम्म ल्याण्ड कस्टम रक्सौल हुँदै मैत्री पुलको बाटो नै प्रयोग गर्न पाउनुपर्ने तर्फ मन्त्री बडुसँग आग्रह गरेका थिए । उनले वीरगञ्जमा सञ्चालित सुख्खा बन्दरगाहको भौतिक पूर्वाधार तथा संरचनागत विकासलाई प्राथमिकतामा राखिनुपर्ने, भारत सरकारले गहुँको निर्यातमा लगाएको रोक हटाउनुपर्ने, डस्टी कार्गोको व्यवस्थापन एवम् भण्डारणको लागि एउटा छुट्टै पोर्ट निर्माण गर्नुपर्ने, तत्कालका लागि सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकीको बीचमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको ६२ बिघा जमिनलाई डस्टी कार्गोको भण्डारणका लागि प्रयोग गर्नुपर्ने, एकीकृत जाँचचौकीलाई अझ व्यवस्थित तुल्याउनुपर्ने, भारत हुँदै विदेश यात्राको लागि चाहिने “नो अब्जेक्शन पत्र” परराष्ट्र मन्त्रालयले जारी गर्दै आएकोमा सो अधिकार प्रत्यायोजन गरी कुनै स्थानीय कार्यालयलाई दिनुपर्ने, भन्सारमा प्रयोग हुने अनलाईन कम्प्यूटर प्रणालीको सर्भरमा सधैं समस्या आउने गरेकोले सोलाई सुधार गर्नुपर्ने लगायतको सुझाव दिएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले सङ्घबाट प्रस्तुत सुझावहरुप्रति आफू गम्भीर रहेको बताए । उनले डस्टी कार्गोको भण्डारण तथा आयात सम्बन्धी समस्याहरुलाई नेपाल तथा भारतका सम्बन्धित निकायहरुसँगको सहकार्यमा समाधान गर्न पहल गर्ने आश्वासन दिएका थिए । त्यस्तै एकीकृत जाँचचौकी तथा सुख्खा बन्दरगाहलाई अझ व्यवस्थित ढङ्गले सञ्चालन गर्न पहल गर्ने र भन्सारमा प्रयोग हुने अनलाईन कम्प्यूटर प्रणालीको सर्भरलाई अपग्रेड गरी समस्या समाधानको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए । भेटघाटका क्रममा सङ्घका उपाध्यक्ष माधव राजपाल लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News