सत्तासिन जनता समाजवादी पार्टी(जसपा)ले सरकारमा रहेका ३ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ३ जनालाई मन्त्री बनाएको केहि घण्टा नबित्दै संघीय परिषदका अध्यक्ष डा.बाबुराम भटट्राई समुहले बिस्तारित केन्द्रिय समितिको बैठक बोलाएका छन् ।
मन्त्रीबाट कृषि मन्त्री महेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव र वन मन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएका अध्यक्ष यादवले प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्रसिंह यादवलाई सरकारमा पठाएका छन् । रामसहाय यादव मन्त्री रहेका वन मन्त्रालयको जिम्मेवारी पर्साका सांसद प्रदीप यादवले पाएका छन् ।रेनु यादव मन्त्री रहेकी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी इस्तियाक राई र महेन्द्र यादवले सम्हालेको कृषि मन्त्रालयको जिम्मेवारी मृगेन्द्र सिंहलाई दिएको छ । पार्टी अध्यक्ष यादवले आईतवार राती नै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री हेरफेरको सुची दिएका थिए ।त्यस अनुसार नै देउवाले सोमवार मन्त्रीमण्डल पूनर्गठन गरेका हुन् । जसपाको ४ जना मन्त्री मध्ये संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई यथावत राखिएको छ ।उनले नै जसपाबाट सरकारमा सहभागि मन्त्रीहरुको नेतृत्व गरिरहेका छन् । हटाइएका वन मन्त्री रामसहाय यादव अध्यक्ष यादवका अत्यन्त विश्वसनिय सहयोगी हुन् ।उपेन्द्र यादवले मधेशी जनअधिकार फोरम गठन गरेदेखि नै रामसहाय उनलाई सहयोगगर्दै आएका छन् ।यद्यपी यादव पहिलो पटक मन्त्री बनेपनि ८ महिनामै हटाइएका छन् । कृषि मन्त्री महेन्द्र यादव भट्टराई पक्षमा लागेकाले उनी मन्त्रीबाट हट्ने पहिलो नम्बरमा नै थिए ।एकैजनालाई हटाइएको भएपनि महेन्द्र यादव नै त्यसमा पर्ने थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री हेरफेरका लागि गरेको सिफारिस कार्यान्वयन नगर्न भटट्राईले प्रधानमन्त्री देउवालाई फोनबाट आग्रह गरेका थिए ।तर देउवाले उनको सिफारिसलाई अस्वीकारगर्दै सोमवार मन्त्रीमण्डलमा फेरबदल गरेका छन् । सिफारिसको सूचना पाएपछि भट्टराईले प्रधानमन्त्री देउवालाई फोन गरेका नेता गंगानारायण श्रेष्ठले बताए । ‘बाबुराम भट्टराई स्वयम्ले यो गुटको र एकल निर्णय हो, यसमा हामीलाई आपत्ति छ, कार्यान्वयन नगर्नुस् भन्नु भएको थियो ’नेता श्रेष्ठले भने, तर प्रधानमन्त्री देउवाजीले मन्त्रीमण्डल पूनर्गठनगरि एक गुटको सिफारिसलाई कार्वान्वयन गर्नु भएको छ । मन्त्रीमण्डल पूनर्गठन भएकै दिन असन्तुष्ट नेता भटट्राईले केन्द्रिय समितिको समानान्तर बैठक आव्हान गरेका छन् ।अध्यक्ष यादवले मधेश प्रदेशको बीरगञ्जमा असार २९ र ३० गते केन्द्रिय समितिको बैठक आव्हान गरेकै मितिमा काठमाण्डुमा भट्टराईलेपनि केन्द्रिय समितिको बिस्तारित बैठक आव्हान गरेका छन् । उनले एक्लै निर्णय गरेर बैठक बोलाएको भन्दै श्रेष्ठले त्यसबारे छलफल चलिरहेका बेला मन्त्री हेरफेरले विवाद झन् बढेको स्वीकारे ।उनले अध्यक्ष यादवले बोलाएकै दिन काठमाण्डुमा बिस्तारित केन्द्रिय समितिको बैठक बोलाइएको जनाउँदै त्यसमा सबै केन्द्रिय सदस्यलाई सहभागिताका लागि आव्हान गरिएको बताए । ‘जसपाका अध्यक्ष यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन’ श्रेष्ठले भने, एकलौटी रुपमा बैठक बोलाएको कारण त्यसमा हाम्रो उपस्थिति हुनेछैन । अध्यक्ष यादवले सांसदहरूको माग, कार्यकारी र संसदीय दलको निर्णयका आधारमा पार्टीका वरिष्ठ नेताहरूले मन्त्री हेरफेरको निर्णय गरेको बताए । ‘त्यसमा भट्टराई र उनी पक्षका नेता डाकिएका थिएनन् ’ उनले भने, ‘म त हिँडे’ भनेर गइसकेपछि बोलाउने आशा राख्न हुँदैन्थ्यो । अध्यक्ष यादवले भटट्राईले सहमतिमा नै पार्टीबाट अलग होउ भन्दै बिदा लिएर गइसकेको बताएपनि भटट्राई समुहका नेताहरुले बिस्तारित केन्द्रिय समितिको बैठकपछि निर्णय हुने बताएका छन् । ‘जसपा विभाजन हुने कि के हुने त्यसको निर्णय विस्तारित बैठकले गर्ने छ’ श्रेष्ठले भने, पार्टीबाट अलग हुने वा त्यही बस्ने एकजनाले मात्र निर्णय गरेर हुँदैन् । केन्द्रीय समिति तथा पार्टीका अन्य निकायको राय अनुसार निर्णय गरिने उनले बताए ।
नवनियुक्त मन्त्रीहरुले सोमवार नै सपथग्रहणगरि पदभार सम्हालेका छन् ।उनीहरु अध्यक्ष यादवलाई साथ दिन सहमत भएपछि भटट्राई समुह कमजोर बनेका थिए ।सांसद प्रदीप यादव र इस्तियाक राईको सहयोग पाए सम्म भटट्राई समुह नै जसपामा बहुमतमा थिए ।
निवर्तमान मन्त्री महेन्द्र र रेनुबीच छलफल
।सरकारबाट हटाइएका कृषि मन्त्री महेन्द्र यादव र भौतिक पूर्वाधार मन्त्री रेनु यादवले सोमवार साँझ लामो छलफल गरेका छन् ।उनीहरुले पार्टीमा रहने अथवा नरहने विषयमा कुनै निर्णयमा भने पुग्न सकेनन् । जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समिति सदस्य समेत रहेकी रेनु यादवले पार्टी र गुटमा नलागेर स्वतन्त्र रुपमा राजनीति गर्ने धारणा राखेकी थिईन् ।मन्त्रीबाट हटेपछि निराश बनेकी यादवले पार्टी र संसदबाट समेत राजिनामा दिएर स्वतन्त्र भएरै काम गर्ने मनशाय व्यक्त गरेकी थिईन् । पार्टीबाट अलग हुन बिस्तारित केन्द्रिय समितिको बैठक बोलाएका डा.बाबुराम भट्टराई समुहमा समेत नलाग्ने उनले प्रष्ट गरिन् ।भट्टराईसित मिलेर चुनावमा जान नसकिनेमा रेनु यादव र महेन्द्र यादवपनि सहमत देखिएका छन् ।उनीहरुले जसपा नछाड्ने भित्री निर्णय गरिसकेको स्रोतले जनाए । छलफलमा निवर्तमान मन्त्री रामसहाय यादव भने सहभागि थिएनन् ।मन्त्रीबाट हटेपछि उनीपनि पीडामा रहेको बताइन्छ ।तर उनी भट्टराई अथवा महेन्द्र यादव र रेनु यादवको समुहमा सहभागि हुने सोंचेका पनि छैनन् । भटट्राइले बोलाएको बैठकमा उनी निकट पूर्व नयाँशक्ति पार्टी बाहेकका केन्द्रिय सदस्यहरुको सहभागिता नरहने अध्यक्ष उपेन्द्र यादव निकटका नेताहरुको विश्वास छ ।



