२०७९ असार २२, बुधबार ०७:३०

भारतबाट अवैध रुपमा ल्याइदै गरिएको साढे ८३ लाख भन्दा बढी रुपैया सहित मंगलवार दुई जनालाई पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल नेपाल ८ नम्बर गणको गस्ती टोलीले आलुको बोरामा राखिएको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।उनीहरुले भारतबाट नेपाली रुपैया बोरामा लुकाएर नेपालमा प्रवेश गरेपछि चेकजाँचको क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ इनर्वा चेक प्वाईन्टमा बीओपी इनर्वाबाट खटेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल कमाण्डको ४ जनाको मोटरसाईकल गस्ती टोलीले दिउँसो करिब सवा १ बजे चेक जाँच गर्ने क्रममा ज.७ प ५००७ नम्बरको मोटरसाईकलमा रहेको आलुको बोरा खोल्दा त्यसबाट रुपैया बरामद भएको थियो । १ क्विन्टल आलु रहेको बोराको बीचमा रुपैया भएको झोला राखिएको थियो ।आलु खन्याएपछि बोराबाट निस्केको झोलामा नेपाली रुपैया ८३ लाख ६४ हजार ५ सय रुपैया बरामद भएको हो ।प्रहरीले आलुको बोरा बोकेका जनकनन्दनी गाउँपालिका ५ का ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई नियन्त्रणमा लिएको हो ।प्रहरीले उनीहरु सवार ज ७ प ५००७ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा बल नेपाल ८ नम्बर गणका प्रमुख (एसपी) प्रकाश कुमार सुवेदीले जनाए अनुसार गोप्य सूचनाको आधारमा इनर्वास्थित चेकजाँच गर्ने क्रममा रकम बरामद भएको हो ।

भारतबाट आलुको बोरामा लुकाएर नेपालतर्फ ल्याउदै गरेको सो रकम सहित २ जनालाई नियन्त्रणमा लिएको उनले बताए । बोरा भित्र रहेको झोलामा राखिएको १ हजार दरको ७ हजार थान, ५ सय दरको २ हजार ६ सय ९९ थान, १ सयको १ सय थान र ५० को १ सय थान नोट फेला परेको एसपी सुवेदीले जनाए । बरामद भएको नगद, मोटरसाईकलसहित मानिसलाई आवश्यक कारवाहीका लागि जनकपुरधाम भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ । भन्सार कार्यालयले आवश्यक अनुसन्धान गरी कारवाही बढाउने बताइएको छ । प्रहरीका अनुसार पक्राउ परेका मण्डलद्वय भरिया मात्र हुन् ।उनीहरुले अन्य हुण्डी कारोबार गर्नेहरुको भरिया भएर काम गरेको प्रारम्भिक बयान दिएका छन् । सीमावर्ती भारतीय बजारमा नेपाली नोट प्रचलनमा रहेको छ ।१ सय भारतीय रुपैयाको मूल्य नेपाली रुपैया १ सय ६० निर्धारित रहेपनि भारतीय बजारमा ५ रुपैया बट्टा लिने गरिएको छ ।अर्थात, १ सय भारतीय रुपैयाको मूल्य नेपाली १ सय ६५ रुपैया तोकेर कारोबार हुने गरेको छ । भारतीय बजारमा कारोबार भएको नेपाली रुपैया अन्य माध्यमबाट अथवा भारतीय बजारमा अन्य कारोबारमा प्रयोग हुन नसक्ने भएकाले बोकेर नै नेपाल पठाउने गरिएको छ ।भारतबाट नेपाल फर्केर आउने नेपाली रुपैयालाई भारतीयहरुले सुनचाँदीबाट बढी साट्ने गरेका छन् ।भारतीय व्यवसायीहरुले नेपालबाट सुन लगायतका महँगा मालवस्तुहरुसित नेपाली मुद्रा साट्ने गरेको बताइन्छ । नेपाली रुपैया सीमावर्ती क्षेत्रबाट आए पनि सुनचाँदी भने भारतको राजधानी नयाँदिल्ली लगायतका ठूला सहरहरुमा नेपाली सीमावर्ती बजारबाट पठाइने गरिन्छ ।नेपाल र भारतबीच हुने हुण्डी कारोबारमा सुनचाँदी मुख्य रुपमा जोडिएको छ ।

सीमावर्ती क्षेत्रमा तस्करीको मालसमान ओहरदोहर भए जस्तै नेपाली रुपैया पनि ओहरदोहर भइरहन्छ ।नेपालबाट भारतीय बजारमा खुद्रा कारोबार गर्ने सधारण उपभोक्ताहरुले नेपाली रुपैयाको प्रयोग गर्छन् ।तर त्यो रुपैया हुण्डीबाट नभइ तस्कर हरुले बोकेर नै ल्याउने गरेका छन् । प्रहरीले हाल बरामद गरेको नेपाली रुपैया चालु आर्थिक वर्षको सबै भन्दा बढी रकम रहेको छ ।अवैध रुपमा नियमित रुपमा भारतबाट नेपाली रुपैया आउने गरे पनि ‘सेंटिग’ हुने भएकाले प्रायःबरामद हुँदैन् ।तर प्रहरीलाई दिने नियमित कमिसन रोकिएको अवस्था अथवा तस्करहरुबीच विवाद भएपछि सुराकीको आधारमा रकम बरामद हुने गरेको छ । नेपाली रुपैया सहित पक्राउ पर्ने व्यक्तिहरु भने सामान्य धरौटी राखेर रिहा हुने गरेका छन् ।भन्सार कार्यालयले उनीहरुलाई भरियाको रुपमा प्रयोग भएको देखाएर सामान्य धरौटीमा छाड्ने गरेको छ ।भन्सारकै मिलोमतोमा तस्करी र नेपाली मुद्राको अवैध कारोबार हुने गरेको छ ।सीमावर्ती क्षेत्रमा भन्सारका कर्मचारीहरु ‘घुमुवा’ प्रहरी जस्तै असुली धन्धामा सक्रिय रहने गरेका छन् । तस्करहरुले भन्सारकर्मीहरुलाई मासिक रुपमा कारोबारको अनुपातमा तोकिएको रकम बुझाउने गर्छन् ।तस्करी भएर नेपाल भित्रिएका मालसमान प्रहरीले बरामद गरे पनि भन्सारले मिलोमतोमा कम मूल्यांकन गरी छाड्ने गरेको छ ।भन्सारकर्मीको मिलोमतोको कारण भारतबाट आउन समानका मूल्यांकन न्यून राखेर भन्सार काट्ने गरिन्छ ।

Comment


Related News

Latest News

Trending News