मिटर व्याजीको आरोपमा पक्राउ परेकाहरुको बयान लिने काम भइरहँदा सप्तरी जिल्ला अदालतको मूल ढोकामा मंगलबार पीडितहरुले दिनभर धर्ना र प्रदर्शन गरेका छन् ।
बिहान ११ बजेदेखि विभिन्न गाउँगाउँबाट आएका पीडितहरुले अदालतको मूल ढोकामा धर्ना दिएर नाराबाजी गरेका छन् । अदालत बन्द हुने समय ५ बजेसम्म लगातार धर्ना र नाराबाजी गरेका उनीहरुले आफूहरुलाई चर्को मिटर ब्याज लिएर घरबार बिहीन बनाउने सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका साहुकार मिटरब्याजी रामदेव साह र उनका परिवारलाई कारवाही नगरिए अदालतकै अगाडि आत्महत्या गर्ने भन्दै नाराबाजी गरिरहे । उनीहरुले हाल फरार रहेका रामदेवलाई अविलम्ब पक्राउ गर्न र पक्राउ परिसकेका रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधामाथी कानून बमोजिम कारवाही हुनुपर्ने माग गरेका छन् । मिटरब्याजीका आरोपि साह परिवारलाई कारवाहीका लागि दबाब दिन धर्ना र प्रदर्शन गरेको मिटरब्याजी साह परिवारबाट पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक तैयब अलीले बताए । यस्तै भनाई राखिन अर्को पीडित साबित्री रायले पनि । पीडितहरुले साह परिवारसँग लिएको ऋण चर्को ब्याजसहित चुक्ता गरिसकेपनि बन्धकी स्वरुप राखेको जग्गा फिर्ता नगरेको भन्दै दिनहुँ जसो सदरमुकाम राजविराजमा प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरुले अदालतबाट न्याय नपाए अब आफूहरुसँग मर्नुको विकल्प नरहेको बताउँदै आएका छन् ।
विपन्न नागरिकको उठिवास लगाउने मिटरब्याजी रामदेव अझै फरार छन् । पीडितहरुको उजुरीको आधारमा रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधा दुई साताअघि नै पक्राउ परी ठगी तथा अपराधिक विश्वासघात मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । रामदेवको भने व्यापक खोजतलास भइरहेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । दुई पटक अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएका दुबै जनाको मंगलबार न्यायाधीश सूर्यप्रकाश अधिकारीको उपस्थितिमा बयान लिने काम सकिएको छ । बुधबार थुनछेक बहस हुने अदालत श्रोतले जनाएको छ ।


