२०७९ असार २३, बिहीबार ०६:३६

सांसदहरुले बजेटमाथि व्यापक असंतुष्टि व्यक्त गरेका छन् । बुधबार प्रदेशसभाको बैठकमा विनियोजन विधेयक ०७९ माथिको छलफलमा प्रतिपक्षी दलसँगै सत्तापक्षका सांसदहरुले पनि असंतुष्टि व्यक्त गरेका हुन् ।

छलफलमा अधिकांश सांसदले रेडबुक परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले बहुवर्षीय योजनामा आपत्ति जनाए । यी योजनामा समय अवधि उल्लेख नगरेको भन्दै लक्ष्य प्रष्ट गर्न सरकारसँग माग गरे । मुख्यमन्त्री लाल बाबु राउतप्रति पनि उनले आक्रोश व्यक्त गरे । ‘साइकल वितरण गर्ने कार्यक्रम हटाएउनु भयो तर फेरि ल्यापटप वितरण किन आफ्नै मातहात राखियो ?,’उनले प्रश्न गरे । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री राम सरोज यादवप्रति संकेत गर्दै उनले व्यङ्ग्य गरे । हिजो मन्त्रीमुखी र टुक्रे योजनाको आरोप लगाउनेहरु पनि त्यही बाटोमा हिडिरहेको उनको भनाइ छ । ‘सरकारसँग खुद्रा योजना बाँडन पैसा हुन्छ, तर गौरवको योजनाको लागि पैसा छैन भनेर हुन्छ,’उनले भने,‘पालिकाले गर्ने काम प्रदेश सरकारले गरिरहेका छन् ।’ पर्यटनमा लक्ष्य ठूलो राखिए पनि बजेट न्यून विनियोजन गरिएको उनले बताए । जसले लक्ष्य पूरा गर्न समस्या हुन सक्ने उनले धारणा राखे । यस्तै, जनता समाजवादी पार्टी (जसपा) का सांसद ज्ञानेन्द्र कुमार यादवले नीति तथा कार्यक्रमसँग बजेट मेल न खाएको बताए । रेडबुकमा देखिएको त्रुटि बारे औल्याउदै रेडबुकमा पुँजीगत बजेटमात्रै राखिएको हुनाले सुधारेर रेडबुक तयार पार्न सुझाव दिए । बजेटमा कुन मन्त्रालय के काम गर्ने किटान नगरिएको हुनाले एउटै योजना धेरै ठाउँमा दोहोरिएको पनि बताए । भौतिक पूर्वाधार मन्त्रालयको योजनामा उनले आश्चर्य व्यक्त गरे । ‘ एउटै योजना तीन/तीन ठाउँमा राखिएको छ ।

जनकपुरधाम वडा नम्बर १९ को एउटा पीसीसी ढलान र नाला निर्माणको योजना तीन ठाउँमा राखिएको छ,’उनले भने, ‘तर यी योजनामा जुन ठाउँ कोड गरिएको छ त्यहाँ गत वर्ष नै सडक र नाला निर्माणका काम भइसकेको छ ।’ अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई लक्षित गर्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारी विस्तारै कम गर्दै जाने भाषण गर्ने सोही सवारी खरिदको लागि बजेट छुट् याएको बताए । जसपाकै सांसद सरोज सिंह कुशवाहाले छानविन समिति गठन गरेर बजेट परिर्मार्जित गर्न माग गरे । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले शुरुमै सांसदभन्दा कर्मचारीको तलव बढी नहुनु पर्ने बताए । ‘सांसदभन्दा कर्मचारीको तलव बढी भयो भने प्रोटोकल बिग्रिन्छ,’उनले भने,‘यो धेरै गम्भीर विषय हो, यसमाथि सरकारको ध्यानाकर्षण होस् ।’ मन्त्रालयगत बजेट बारे उल्लेख गर्दै उनले सरकारको बचाउ गरे । मधेशी शहीद मार्ग, प्रादेशिक स्थानीय सडक सुधार योजनाहरु बजेटको सकारात्मक पक्ष रहेको उनले बताए । सबैलाई चित्त बुझाउन टुक्रे योजना बढी देखिएको उनले प्रष्टीकरण दिए । जसपाकी सांसद डा. रीना यादवले पनि मन्त्रीमुखी बजेट रहेको टिप्पणी गरिन् । ‘शौचालय निर्माणबाट धेरै कमिशन आउन छ होला त्यही भएर सबै मन्त्रालयले शौचालय बनाउनमा जोड दिएको छ,’उनले भनिन्,‘सरकार सडक, मन्दिर र शौचालय बनाउनमा मात्रै ध्यान नदियोस् ।

उत्पादनमूलक क्षेत्र र क्षमता अभिवृद्धितर्फ पनि लगानी गर्नु पर्ने आवश्यकता छ ।’ लोसपाकी सांसद रानी शर्मा तिवारीले पनि वडाध्यक्ष सरह प्रदेश सरकारले बजेट ल्याएको आरोप लगाइन् । वीरगञ्जमा बढी र जनकपुरमा कम बजेट दिएकोप्रति उनले आपत्ति जनाउँदै परिमार्जन गर्न माग गरिन् । एउटा पालिकादेखि अर्को पालिका जोड्ने सडक प्रदेश सरकारले बनाउनु पर्नेमा गल्लीको सडक प्रदेश सरकारले बनाउने गरेको उनले उल्लेख गरिन् । चार वर्षमा पनि योजनामा प्रदेश सरकारले परिपक्क योजना बनाउन नसकेको उनले बताइन् । नेकपा एमालेकी सांसद शारदा थापाले पनि परिर्माजन गरी रातो किताव ल्याउन माग गरिन् ।

Comment


Related News

Latest News

Trending News