जनकपुरधाम । धनुषामा नागरिकता विधेयक फिर्ता विरुद्ध प्रदर्शन गरिएको छ ।
बुधबार ढल्केवरमा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गरेका थिए । उनीहरुले प्रदर्शनमा नेपाल सरकार मुर्दावाद, नागरिकता विधेयक छिटो दर्ता गर र संविधानको धारा लागु गर जस्ता नारा लगाएका थिए । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । ०७५ सालमै सरकारले ल्याएको नागरिकता विधेयक कार्यान्वयन हुने समयमा फिर्ता भएको छ । विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा सात वर्षपछि दिने भन्ने विषयमा विवाद छ । नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् । उनीहरु शिक्षा र राज्यले दिने सुविधाबाटसमेत बञ्चित छन् ।


