अपडेट 
२०७९ असार २४, शुक्रबार ०७:४९

ऐतिहासिक तथ्यहरुबाट यो ज्ञात हुन्छ कि मिथिला र नेपाल उपत्यकाको गहिरो सम्बन्ध रहेको छ । मिथिलाको प्रभाव नेपाल उपत्यका माथि दुरगामी प्रभाव परेको थियो । विद्यापतिद्वारा लिखित “गोरक्ष विजय” नाटकबाट यो थाहा हुन्छ कि महाकवि विद्यापति नेपाल उपत्यकामा केही दिन वास बस्नु भएको थियो र उनी नेपाल उपत्यकाको ललितपुर जिल्लाको पाटनको चर्चा यस नाटकमा गर्नु भएको छ । विद्यापति त्यस नाटकमा कदलिपुर पाटनको नगरमा मत्स्येन्द्रनाथको साम्राज्यको वर्णन गर्नु भएको छ । मत्स्येन्द्रनाथ अथवा मच्छिन्द्रनाथ (यस ठाउँको बोलचालमा) मन्दिर ललितपुरको पाटनमा छ । र यसको निर्माण १४०० ई. मा भएको थियो । यसबाट यो ज्ञात हुन्छ कि नेपाल उपत्यकामा मत्स्येन्द्रनाथको अनुयायीहरु प्रभाव नीकै बढी थियो । विध्यापतिको यसै प्रभासको फलस्वरुप नेपाल उपत्यकामा विद्यापतिका गीतहरुको अनुशरण मल्लराजाहरुले पनि गर्नु भएको र त्यति मात्र होइन नेपालमा विद्यापतिका नामधारी कवि पनि भए जो कृष्णाश्रित पदको रचना गर्नु भएको थियो । विद्यापति दोश्रो पटक नेपाल आउनु भएन भन्न सकिदैन । किनकि विद्यापतिको रचनाहरुको प्रभाव निकै गम्भीर रुपमा नेपाल उपत्यकामा परेको देखिन्छ । आजसम्म त्यो प्रभाव दृष्टिगोचर भै रहेको पाइन्छ । जगजज्योति मल्लको “हरगौरी विवाह” नाटकमा विद्यापतिका ७ वटा गीतहरु संकलित छन त्यस्तै उनको “नानाराग” गीत आदिमा विद्यापतिका गीतहरु संकलित भएका छन । मल्लकालमा नेपाल उपत्यकामा मिथिलाको भारी प्रभाव परेको देखिन्छ ।

गया सुद्दीन तुलगलक शाह मिथिला विजय १३२४ ई.मा गरेका थिए त्यसै वर्ष कर्णाट वंशी राजा हरिसिंहदेव अफ्ना राजधानी सिमरौनगढ छाडी जनकपुरको बाटो गरी सिन्धुली हुँदै नेपाल पसेको थिए । उनको साथमा उनका कुलदेवी तुलजा भवानी पनि गएको जसको नेपालका राज परिवारहरुद्वारा आफ्नो कुलदेवीको रुपमा मान्यता पाएको कुरा इतिहासकारहरु बताउँछन । र अठारहौं शताव्दी सम्म तुलजा भवानीको पूजा आजा राजदरवारहरुमा भइ रह्यो । अहिले पनि महादशमीको बखत इनको पूज ागर्ने परम्परा छँदैछ । हरिसिंहदेव नेपाल उपत्यकामा प्रवेश गर्नु भएको पूर्व नै उनको मन्त्री चण्डेश्वर नेपाल उपत्यका आउनु भएको कुराको अनुमान गरिन्छ । तर उनी भन्दा पूर्वदेखि नै मैथिलहरुको नेपाल उपत्यकामा आगमन भएको कुरा बुझिन्छ । जब हरिसिंहदेव नेपाल उपत्यकामा प्रवेश गर्नुभयो त्यस बेला नेपाल उपत्यकामा गृहकलह प्रारम्भ भै सकेको थियो त्यसै कारण उनलाई युद्धै नगरी भादगाउँ अर्थात भक्तपुरको विजय भयो र त्यहाँको राजा हुनुभयो । विभाजित नेपाल उपत्यकाको प्रताप मल्ल तथा ज्योति मल्लहरुले आफ्नो वंश अत्यन्त प्राचीन भएको सावित गर्न उनीहरु आफ्नो वंश क्रम नान्यदेवबाट निर्धारण गरे । हरिसिंह देवको सार्थ र अन्य वखत उपत्यकामा बसेको मैथिलहरु आफ्नो साथमा विध्या, शिल्प एवं अन्य गुणहरु लिएर आउनु भएको थियो । यिनीहरुलाइृ राम्ररी आदर गरी राखियो । स्थितिमल्ल पाँचवटा पण्डितहरुलाई मिथिलाबाट बु्लाउनु भएको थियो जो थिए कीर्तिनाथ उपाध्याय, कान्यकुन्ज “रघुनाथ झा मैथिल, श्रीनाथ भट्ट, महिनाथ भट्ट र रामनाथ झा । विद्यापतिको पदावली नेपाल पुगेको थियो । नेपालका राजाहरु कविताका बड≥ो प्रेमी थिए ।

कृष्णाश्रित पदावली जो विद्यापतिद्वारा रचित थिए राजाहरुको कविता प्रेमको कारणले सम्वद्र्धन पाएको थियो । वंगालका चैतन्य महाप्रभु जो विद्यापतिका पदावली गाएर विभोर भै रहन्थे उनी पनि नेपाल उपत्यकामा प्रवेश गरेका थिए । यसले यो पनि स्वष्ट हुन्छ कि उनी आफ्ना साथमा विद्यापति पदावलीका गीतहरु अवश्य पनि ल्याएका थिए होलान । माथि यो उल्लेख गरेको छु कि मिथिलाका विद्वानहरुको नेपाल आगमन भै रहेको हुँदा मैथिली भाषा साहित्यको प्रचार प्रसार निकै भएको र यस सन्दर्भमा मैथिली भाषाको भक्ति प्रधान गीतहरु लेख्ने राजाहरुमा पाटनका राजा सिद्धनरसिंह मल्ल निकै प्रसिद्ध थिए । उनले लेखेको गीतहरुको संग्रह पनि पाइन्छ भनी इतिहासकारहरु बताउँछन । अर्को राजा भूपतिन्द्र मल्ल पनि कवि थिए र उनीद्वारा लेखिएका एकसय मैथिली गीतहरुको संग्रह काठमाडौंको पुस्तकालयमा रहेको छ । उनी लेखेका एउटा पदको केही अंश यस्तो छ –

देवी शरण राख भवानी मन वच करम करओ मान कछु से सबए तुअ आपद जानि हमे अति दीन खिन तुअ सेवा राख हरि भजन ठानि ।

यसबाट यो थाहा हुन्छ कि मल्ल राजाहरुका दरवार हरुमा मैथिलीको निकै प्रचार रहेको थियो । “मुदित कुवलयाश्व” नाटकका लेखक जगज्योति मल्ल भनिएको छ । यो नाटक पनि मैथिलीमा नै छ । तर यसको लेखक वंशमणि ओझा हुनुहुन्थ्यो । वंशमणि रामचन्द्रका छोरा थिए र मिथिलाबाट गएका थिए । उनी “गीत दिगम्वर” गीति नाट्य पनि लेख्नु भएको थियो जो मैथिलीमा थियो ।

भूपेन्द्र मल्ल रचित “नलचरित” नाटकबाट एउटा गीतका केही अंश यस्तो छ– तेरो वदनमा तो शशिधर मेरो नयन चकोरा देखत मोहिए अधिक सोहए कहछु वचन मोरा देखिते सुन्दर चपल लोचन काजर शोभारी मनो पंकज भम सोहत पवन से लधुचारी ।

मुलमानी आक्रमणको भयले मिथिलाका ब्राह् मणहरु अनेकौं हस्तलिखित पु्स्तकहरु आफ्नो साथ लिएर उपत्यकामा पसेका थिए । तर मैथिल ब्राह्मणहरुको नेपाल उपत्यकाको दरवारहरुमा बढेको प्रभावले गर्दा नै जगज्जय मल्लले राजगद्दी प्राप्त गर्न पनि सफल हुनुभयो । तर यसले गर्दा स्थानीय दरवारीहरु कुपित भए र जब राजा अस्वस्थ हुनुभयो अनि दरवारीहरुले राजाका सम्पतिहरु लुटेका थिए । मल्लकालमा नेपाल उपत्यकामा जतियनि नाटकहरु लेखिएका थिए ती सबै मैथिली चरित्रका थिए । त्यसैले ती नाटकहरु मैथिली भाषाको श्रेण्(ाीमा आउँछन । सूर्य विक्रम ज्ञवाली आफ्नो पुस्तक“नेपाल उपत्यकाको मध्यकालीन इतिहास” मा “हरिसिंह देवद्वारा नेपाल उपत्यकामा प्रवेशबाट नेपाल उपत्यकाको शासन व्यवस्थामा परिवर्तन भएको पाइन्छ ।” भनी उल्लेख गर्नु भएको छ । डा. प्रफुल्ल कुमार सि.ह मौनको अनुसार जब हरिसिंह देव की महारानी देवल देवी र छोरा जगत सिंह कर्णाट आदि भक्तपुर उपत्यकामा रुद्र मल्लका शरणागत भए राजा रुद्रमल्लको छोरा थिएन । अनि उनकी पुत्री नायक देवी उत्तराधिकारीणि भईन जो देवल देवीको संरक्षणमा पालन– पोषण गरिएकी थिइन । कर्णाट कुल की राजमहिषी देवल देवीको अभिभावकत्व एवं संरक्षणमा नायक देवी एवं जगत सिंह कर्णाटको विवाह भयो । र उनीहरुबाट राजल देवीको जनम भयो । अनि पछि स्थितिमल्लसँग विहे भयो ।

यसबाट मल्ल एवं कर्णाट राजवंशीको रक्त सम्बन्ध उपत्यकामा स्थापित भयो । महारानी देवल देवी वीरागंना थिइन र केही राज्यहरु विजय गर्न सफल रहेकी थिइन । केही इतिहासकारहरुको विचारमा नेपाली राजवंश र हरिसिंहदेवका सन्तानहरुको द्वैध शासन थियो । हरिसिंह देवको उत्तराधिकारीहरुको राणाकालीन महाराजाधिराज र नेपालको प्राचीन राणा प्राइममिनीटरहरु सदृशको स्थिति थियो । मल्लकाल उपत्यकाको स्वर्णकाल मानिएको छ । यस वखत कला, संगीत, वास्तुकला आदिहरुको विकास भएको चाल पाइन्छ । डा. टीकाराम शर्माको विचारमा त्यस वखत जाति संघर्षको निराकरणको लागि ब्राह्मण आदिलाई दक्षिणबाट बुलाइएको थियो । (पुस्तक– नेपालमा राज परम्परा र साहित्यिक रुपरेखा– प्रतिभा प्रकाशन) । यति मात्र होइन उपत्यकामा मैथिल ब्राह्मणहरुलाइृ पुजारी बनाउने वि.सं. १९७७ सम्म चलेको थियो जो गुठी संस्थानको अभिलेखबाट थाहा हुन्छ । विष्णुलाल झा वि.सं. १९७७ मा भक्तपुरको सुर्यविनायक मन्दिरमा पुजारी नियुक्त भएका थिए । वि.सं. २०५७ सम्म विष्णु लाल कै सन्तान राजेन्द्र प्रसादले आफ्नो पुर्खाको अभिभारा सम्हाल्नु भएको थियो । सुर्यविनायकमा वि.सं. १८५० मा भवलाल झा पुजारी नियुक्त भएका थिए । वि.सं. १८६५ मा विष्णुदास, ध्रुवदास एवं गोविन्द दास मखन टोल स्थित जगन्नाथजी मन्दिरमा पुजारी भएको कुरा पता लाग्छ । असन टोलका अन्नपूर्ण मन्दिरमा वि.सं. २०३२ मा हुतराज झाको मरणोपरान्त मैथिल व्राह्मणहरुद्वारा साप्ताहिक नित्यपूजाको परम्परा विछिन्न भयो । राजा योगनरेन्द्र मल्ल की छोरी योगमतीद्वारा पाटनमा निर्माण भएको च्यासी देवल मन्दिर, हरिशंकर मन्दिर र ज्वाला नरसिंह मन्दिरका पुजारी गुरु दत्त मिश्र आफ्ना पुर्खाको पेशालाई निरन्तरता दिनु भएको बुझिन्छ । राजा यज्ञमल्लद्वारा दरवारमा चर्तुमुखी यक्षेश्वर महादेव (पशुपति) स्थापना गर्नु भएको र त्यसै बेला देखि तिरहुतिया ब्राह्मणहरुलाई त्यहाँ ससम्मान उपस्थिति प्रारम्भ भएको बुझिन्छ ।

यज्ञ मल्लद्वारा यक्षेश्वरका पुजारी बनाइएका ब्राह्मण सदन झाका सन्तान थिए । अहिले पनि पूजा–अनुष्ठान गर्ने मैथिल ब्राह्मणहरुलाई काठमाडौं उपत्यकामा जुजु बाजे भनेर चिन्हिन्छ । ललितपुरका यथवहा, बखुवहा, यगुंवहा, टौवहा, तिछुगली, महापाल, र्युिसंगाल कुपण्डोल एवं देवनगर, भक्तपुरका इताछे, गोल्मढी, बलाखु र काठमाडौंका ढोका टोल, मखन, नरदेवी, मरुहिटी, यटखा, प्यापल, न्हयोखा, भीमसेन स्थान र लगन टोल सदृश प्राचीन टोलहरुमा उनीहरुको बसोवास रहेको देखिनछ । धेरै परिवार यसमा नेवारी भाषा बोल्नु हुन्छ र मैथिली भाषा विर्सि सकेका छन । यति हुँदा हुँदै पनि धेरैले आफ्ना वंश परम्परा जोगाउन तराई क्षेत्रका रौतहट, पर्सा, जनकपुर, दरभंगा आदिमा आफ्ना सन्तानहरुको विहे सम्बन्ध गर्दछन । यसमा केही यस्ता पनि छन जो आफ्नो सन्तानलाई मैथिली भषा सिकाउने आँट गर्दछन । जब जयप्रकाश मल्ललाई गोली मारियो उनी घाइते भए अनि उनको आदेश भयो कि तिरहुतिया बाहेक अरुको विश्वास गर्नु भएन, अरु बेइमान छन जसले गर्दा म यस्तो अवस्थामा पुगेको छु । केही मानिसहरुको त भनाइ यो पनि छ मैथिलहरु पहिला टोल–टोलमा गएर घुमी–घुमी रामलीला प्रस्तुत गर्दथे । भनिन्छ विसं. १७७० को नजीक काठमाडौं उपतयकामा युगल ठाकुर एउटा मैथिल ब्राह्मण शक्तिशाली बनेर राजमाता भुवन लक्ष्मीलाई आफ्ना प्रभावमा पारी वंशीधर मास्केलाई पदच्युत गराइ आपैm प्रधानमन्त्री (चौतरिया) बनेका थिए । देवल देवी पछि विभिन्न कालखण्डमा नेपालको दरवारमा कर्णाटवंशकी राजमति एवं तिरहुत सुन्दरी कान्तवती सर्वेसर्वा बनेकी थिइन । नेपाल उपत्यकामा दश दिनसम्म महादशमी मनाउने प्रथा तिरहुतियाहरु नै चलाएका थिए । लिच्छवीकालमा तन्त्रमन्त्र देवी देउताहरुको पूज ागर्ने प्रथा थिएन ।

येति मात्र होइन जंग बहादुर राणा प्रधानमन्त्रीद्वारा वि.सं. १९१० मा लेसपति र लोकपतिमा नामका दुइवटा ब्राह्मणहरुको सहयोगमा नेपालको सुप्रसिद्ध कानून मुलुकी एन बनाइएको थियो र उनी दुवैजनालाई पुरस्कार स्वरुप सप्तरी जिल्लामा पाँच–पाँचसय विग्हा जमीन दिइइएको थियो । सिमरौनगढ छाडी जंगल पसेका बेला तिरहुतियाहरु भुखले मर्न लागेपछि अर्ना भैंस (जंगली भैंसहरु) को मासु खान लागेको र त्यसै बेलादेखि नेपाल उपत्यकाहरुमा राँगा (भैसा) मासु खाने प्रथा भएको कुरा इतिहासकारहरु बताउँछन । इतिहासकार हरुको यो पनि कथन छ कि नेपाल उपत्यकामा प्रवेश पश्चात बहुसंख्यक तिरहुतियाहरु गुरुवाचार्य, बज्राचार्य, मिश्र, झा, देउभाजु, आचाजु, गुमाजु, चर्तुवेदी, द्विवेदीको रुपमा नेपाली समाजमा एकाकार भए । वि.स. १८९१ मा सुब्बा कुलानन्द झाद्वारा पशुपतिमा तीनवटा चानीको ढोका चढाइएको थियो । अर्को मैथिल ब्राह्मण नरसिंह ठाकुर गृहेश्वरी देवी शक्तिपीठको स्थापना गरेका थिए । यस मन्दिरको निर्माण प्रताप मल्लद्वारा भएको थियो । इतिहासकारहरुको भनाइ छ कि पाटनको मंगल बजारको विश्वनाथ मन्दिरको निर्माण भैया झाको संस्मरणमा श्री निवास मल्लद्वारा भएको थियो । यस ठाउँमा अहिलेसम्म मैथिल ब्राह्मणद्वारा पूजा हुँदै आइ रहेको छ । मैथिलहरु न्ै यसको पूजारी हुने गरेको छ । एक पटक भारी अंनिकाल प¥यो र मानिसहरु भुखले मर्न थाले अनि भक्तापुरका राजालाई सपना भयो कि उनका इष्ट देउताले भन्नुभयो कि मिथिला क्षेत्रका ब्राह्मण ल्याएर महायज्ञ गराएपछि यो अनिकाल समापत हुन्छ र राजा त्यस्तै गरे । इष्टदेव सपनामा भने बमोजिम अनिकाल समाप्त भयो । राजाद्वारा ती ब्राह्मणहरुलाई भक्तापुरमा बस्ने आग्रह गर्दा उनीहरुले “हामीहरु आँप र माछाका प्रेमीहरु भएकोले यी जहाँ पाइन्छ हामी त्यही बस्छौं” भनेका थिए । तर भक्तपुरमा यसको अभाव भएकोले त्यस्तो ठाउँ खोजियो र नुवाकोटमा त्यस्तो स्थान भेटेपछि त्यही गएर उनीहरु वास बस्नु भयो । जनु ठाउँमा उनीहरु वासवस्नु भयो त्यहाँ अहिले पनि मैथिल भगवती मन्दिर विद्यमान छ । यो इलाका मैथिल टार नामले प्रख्यात छ । यस ठाउँमा चारसय वर्ष पूर्व मैथिलहरु आउनु भएको थियो र अहिले पनि बग्दै गरेको नदीको नाम मैथिली खोला छ । यस ठाउँमा अहिले नेपाली सेनाको व्यारेक छ र यसलाई मैथिली व्यारेक भनिन्छ ।

पृथ्वीनारायण शाहद्वारा वि.स. १८२५ मा काठमाडौं उपत्यकाको विजय पश्चात मल्लराजाहरुका दरवारहरुमा रहेका मैथिल ब्राह्मणहरुलाई उपेक्षा र अपमान भएको चर्चा पनि छ । यिनीहरुलाई यो भनियो कि यिनीहरु तांत्रिकहरु छन र यिनीहरुले छोएपछि अनिष्ट हुन्छ, त्यसको प्रचार गरिएको थियो । त्यसको फलस्वरुप यिनीहरुलाई उपत्यका छाड्ने उर्दि जारी गरिएको थियो । तर जब उनीहरु उपत्यका छाड्न थाले हुनमान ढोका दरवार स्थित जम्बुवान (कारी हनुमान) को मूर्तिबाट पसिना आउन थाल्यो अनि सबै ब्राह्मण (मैथिल ब्राह्मण) हरुलाई ससम्मान फिर्ता ल्याइयो । यस्तो यस ठाउँका वासिन्दाहरुको भनाइ रहेको छ । डा. साफल्य अमात्यको अनुसार मल्लकालमा मैथिली राजकीय भाषा थियो नेपाल उपत्यकाको । राजा भूपतिन्द्र मल्लद्वारा निर्माण गरिएको भक्तपुरको पाँच तल्ले मन्दिरको गुणगान र भजन गरिएका मैथिली गीतहरु अहिले पनि गाइने गरिएको छ । कृष्णका रासलीलासँग सम्बन्धित विद्यापतिका गीतहरु अहिले पनि मन्दिरहरुमा समय समय सुनिन्छ । पाटनको प्रख्यात कृष्ण मन्दिरमा अहिले पनि मैथिली गीतहरु गाइन्छ । एउटा विद्वान अनुसार नेपाल उपत्यकामा अहिले पनि “नाथ महादेव भोला रंगे” बाट प्रारम्भ गरी अन्तमा “भनए विद्यापति आरती गावे सब दुख हरले ओ गौरा माता” सदृश भजन प्रतिदिन गाइन्छ । “माइग्रेशन अफ मैथिल पण्डित फ्रम आइटीन हण्डे«ड टु नाइनटीन हण्डे«ड एडी” विषयमा शोध गर्ने डा. जगदीश चन्द्र झा आफ्नो विचार प्रगट गर्दै “भक्तपुरका झा, मिश्रहरु नेवार भै सक्नु भएको छ तर यिनीहरु क्ेही रिटेन गर्नु भएको छ ।” भन्नु भएको छ । यो कुरा नेपाली समाजमा स्वीकृत छ कि मैथिल ब्राह् मण नेपाल उपत्यका पसेर युगौसम्म मिश्रित वसोवास मार्पmत नेपाली समाजलाई सुन्दर बनाउदै आइ रहेका छन । धर्म संस्कृति एवं मिश्रित वसोवासको उन्नयनमा पुग्न पुग सातसय वर्ष पूर्व नेपाल उपत्यकामा पसेका मैथिलहरुको योगदान अति उच्च रहेको छ । यो कुरा माथि वर्णित तथ्यहरुबाट पनि प्रमाणित हुन्छ । तर यी मैथिलहरुको भाषा मैथिली जो कहिले नेपालको राजकीय भाषा थियो र यी मैथिलहरु नेपालको शासन व्यवस्थाको सुधारमा भागिदार थिए त्यसै मिथिला क्षेत्रका मानिसहरु राज्यद्वारा उपेक्षाको सिकार बनेका छन ।

Comment


Related News

Latest News

Trending News