२०७९ असार २५, शनिबार ०६:३२

प्रदेश सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहलाई बोलाएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको अस्पताल जनकपुरधाममा भएको चिकित्सकको लापरबाही सम्बन्धी घटनाको छानबिनको क्रममा उपकुलपति साहलाई बोलाएको छ । अस्पतालमा उपचारार्थ भर्ना भएकी एकजना महिलालाई अनुमानको भरमा अप्रेशन गरिएपछि उनको स्वास्थ्यमा जटिलता आएको थियो । प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठकमा घटनाको विषयमा आवाज उठाएपछि सभामुख सरोजकुमार यादवले रुलिङ्ग गर्दै महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जैनुल राईनको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । समितिले छानबिनका क्रममा घटनाको जानकारी लिन उपकुलपति साहलाई पत्र काटेको सभापति राईनले जनाए । प्रदेश सभाको बैठकमा सभासदहरुले प्रश्न उठाएपछि प्रतिष्ठानका सहकुलपति समेत रहेका सामाजिक विकास मन्त्री नवलकिशोर साहले मात्र थाहा पाएका थिए । मन्त्री साहलाई समेत जानकारी नदिई उपकुलपति साहले पीडितलाई उपचार खर्च उपलब्ध गराई ढाकछोपको असफल प्रयास गरेका थिए । १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन समितिको समयावधि तोकिएको छ ।

अस्पतालका चिकित्सकले विरामीको जाँच बिना पित्त थैलीको शल्यक्रिया गरेको आरोप छ । गर्भवती समेत रहेकी विरामीको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएपछि सभासदहरुले चिकित्सकको लापरवाहीको छानबिन गर्न प्रदेश सभामा आवाज उठाएका थिए । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ घर भई हाल जनकपुरधाम उप–महानगरपालिकामा बहालको कोठा लिएर बस्दै आएकी विभा चौधरीलाई चार महिनाअघि जाँच गराएका आधारमा चिकित्सकले पित्त थैलीमा रहेको पत्‍थरीको शल्यक्रिया गर्दा उनको स्वास्थ्य समस्या बल्झिएको हो । असार १३ गते प्रादेशिक अस्पतालमा बिना जाँच नै शल्यक्रिया गरेपछि महिलाको अवस्था गम्भीर बनेको थियो । त्यसपछि असार १६ गते उनलाई थप उपचारका लागि हेलिकप्‍टरबाट काठमाण्डु लगिएको थियो । २०७८ फागुन २८ मा नै अल्ट्रासाउन्ड गराएको रिपोर्टको आधारमा नै डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र डा. आश्विनी यादवले विरामीको शल्यक्रिया गरेका थिए । यता, पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकहरूलाई कडा कारबाहीका साथै क्षतिपूर्तिको माग समेत गर्दै आएको छ । प्रदेश सरकार मातहत रहेको प्रादेशिक अस्पताललाई चिकित्सा र स्वास्थ्यकर्मीहरुको चर्को विरोधको बाबजुद प्रतिष्ठान मातहत राखिएको छ । प्रतिष्ठानमा रहेका उपकुलपति डा.रामकेवल साह, रजिष्ट्रार विनोद यादव र रेक्टर डा.अंकुर साहले अस्पताललाई मातहतमा ल्याएपछि विरामीले पाउँदै आएको सेवा समेत कटौती भएको छ । अस्पतालमा विज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइएको दाबी गरिए पनि आकस्मिक कक्षको सञ्चालन एच ए र स्टाफ नर्स अध्ययनरत्त विद्यार्थीहरुले गरिरहेका छन् ।

अस्पतालमा आकस्मिक उपचारका लागि आउने विरामीले कपास, बैण्डेज, सिरिञ्ज समेत आफै किनेर ल्याउनु पर्ने अवस्था रहेको रोगीहरुले बताउने गरेका छन् । प्रतिष्ठानले म्याद गुज्रेका औषधि र कमसल उपकरणहरु खरिदमा व्यापक अनियमितता गरेको आरोप लाग्दै आएको छ । समितिले अस्पतालको अवस्था र प्रतिष्ठानले पूर्वमा सञ्चालन गरेको कोरोना अस्पतालको विषयमा समेत छानबिन गर्ने सभापति राईनले बताए । विज्ञको सेवा दिने दाबी गरिए पनि अनुमानको भरमा अप्रेशन गर्ने नयाँ चिकित्सकहरुको जिम्मामा अस्पताल लगाइएको गुनासाहरु समेत आएको उनले जनाए ।

Comment


Related News

Latest News

Trending News