
नेपालको पहाडि क्षेत्रलाई केन्द्र बिन्दुमा राखी हाईड्रोपावरमा लगानी गर्दै आएको अपि पावर कम्पनीले बाराको रजघट्टामा सिमरा सौर्य आयोजना १ मेगावाट सुरु गरेको छ ।
आयेजनाको उद्घाटन जीतपुर सिमरा उपमहानगरपालिकाको नगर उप प्रमुख भोला अधिकारीले गरे । सोलार पद्धतिबाट बिद्युत् उत्पादन गरी विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्ने काम आयोजनाले गर्ने गरेको छ । अपि पावर कम्पनीले मधेश प्रदेशका रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगा वाट आयोजना, धनुषाको ढल्केबरमा १ मेगावाट आयोजना र बाराको रजघट्टामा १ मेगावाट आयोजना सौर्य उर्जा उत्पादन सुरु गरेको छ भने बाराको परवानीपुरमा ८ मेगावाटको सौर्य उर्जा उत्पादन गर्ने तयारीमा रहेको कम्पनीका अध्यक्ष सतीश न्यौपानेले जानकारी दिए । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय डुमरबानाको मातहतमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१४ स्थित ६ बिघा जग्गामा सिमरा सोलार आयोजना बनाइ कम्पनीले १ मेगावाट क्षमताको विद्युत् उत्पादन कार्यको शुभारम्भ गरेको छ । आयोजनाले ३० बर्षसम्मकोलागि बिद्यालयको जग्गा भाडामा लिएको छ । उपमहानगरपालिकाको रजघट्टामा निर्मित सोलार आयोजनामा कम्पनीले करिब ८ करोड रुपैया लगानी गरेको छ ।

निकट भबिष्यमा फोहरबाट पनि विद्युत् उत्पादन गर्ने लक्ष्य कम्पनीको रहेको कार्यकारी सञ्चालक संजीव न्यौपानेले बताए । कम्पनीले विभिन्न खाली, ऐलानी तथा बाझो जग्गा कम्पनीको खोजी सूचीमा रहेकाले उपमहानगरपालिकामा त्यस्तो जग्गा उपलब्ध भएको खण्डमा कम्पनीले आफ् नो उत्पादन क्षमता विस्तार गरी उत्पादन बढाउन सक्ने बताए । कम्पनीले उत्पादन गरेको विद्युत् प्राधिकरणलाई ७ रुपैया ३० पैसामा बेच्ने सम्झौता गरेको छ । कम्पनीले उर्जासँगै कृषिलाई जोडेर लगेको छ । सौर्य उर्जा भएका आयोजना क्षेत्रभित्र विभिन्न उन्नत जातका बाख्राहरु पनि पालेको छ । रजघट्टामा भएको सिमरा सौर्य आयोजना १ मेगावाट समुद्घाटन कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चेत प्रसाद पोख्रेल ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,वडा नं.१४ का वडा अध्यक्ष चयन गुरुङ्ग ,निबर्तमान वडा अध्यक्ष रामशरण ब्रतौला ,शिक्षा प्रेमी राजु अधिकारी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमलसिना ,बिद्युत प्राधिकरण सिमरा बितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ ,भरत मण्डारी लगायतको सहभागिता रहेको थियो ।