अपडेट 
२०७९ असार २६, आईतवार ०६:५०

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रदेश सभाबाट बहुमतले पास भएको छ ।

शनिवार बसेको प्रदेश सभाको बैठकले बहुमतले बजेट पास भएको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी र विपक्षी दल नेकपा एमालेको प्रदेश सभाको बैठक बहिष्कार गरेपछि सत्तापक्षले बजेट बहुमतले पास गरेको छ । जपानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि संघीय सरकारले शोक दिन मनाउने भनेर घोषणा गरेको अवस्थामा सभाको कामकारबाही एक दिनको लागि स्थगित गर्नुपर्ने र आपूmहरुले बजेटलाई परिमाजनको माग गर्दै आए पनि सरकारले कुनै चासो नदेखाएको भन्दै लोसपा र एमालेका सांसदहरुले सभा बहिष्कार गरेको थियो । बजेटको रेडबुकमा ब्यापक त्रुटि रहेको, बजेट र रेडबुकमा तालमेल नरेहेको, एउटै योजनामा फरक फरक बजेट विनियोजन गरिएको तथा एउटै योजनामा पटक– पटक दोहोरिएको भन्दै प्रमुख प्रतिपक्षी दल लोसपा र विपक्षी दल एमाले बजेट संशोधनसहित ल्याउनु पर्ने माग गर्दै आएको थियो । प्रमुख प्रतिपक्षी दल लोसपाका प्रमुख सचेतक परमेशवर साहले भने–‘बजेटमा हजारौ त्रुटि छन् भने एउटै योजनामा दोहोरो बजेट विनियोजन गरिएको छ, त्यसैले बजेट परिमार्जन सहित ल्याउनुपर्छ भने हाम्रो माग थियो, तर सरकारले त्यसको कुनै वास्ता नगरेकोले आफूहरुले बैठक बहिष्कार गरेका हौ ।’ विपक्षी दलहरु बिना पहिलो पटक प्रदेश सभाको संचालन भएको भन्दै प्रमुख सचेतक साहले भने,‘बजेटमाथि हाम्रो मात्र होईन सत्ता पक्षका कतिपय साथीहरुको असन्तुष्टि रहेको छ । तर पनि सरकारले त्यसमा कुनै संशोधन नगरी पास गरेको छ ।’ उनले मन्त्रीहरुले आ–आफ्नो जिल्लामा मन्त्रालयको ८० प्रतिशत बजेट लगेको आरोप लगाए । यता, सत्ता पक्षका जनता समाजवादी पार्टीका सांसद तथा संसदीय दलका उपनेता रामअशिष यादवले बजेटमा प्राविधिक समस्या देखिए पनि नीतिगत रुपमा बजेट उत्कृष्ट रहेको प्रतिक्रिया दिए । बजेट पास गराउनु सांसदहरुको दायित्व रहेको भन्दै उपनेता यादवले भने, ‘बजेटमा भएको प्राविधिक त्रुटिलाई सच्चाउन सकिन्छ, त्यो ठूलो कुरो होईन तथा पुरै रेडबुक नै परिवर्तन गर्न सकिने अवस्था थिएन । त्यसकारण हामीले सरकारलाई विकास निर्माणको कार्यलाई अगाडि बढाउन बजेट पास गरेका छौ ।’ कांग्रेसका सांसद शिवचन्द्र चौधरीले पनि बजेटमा सामान्य त्रुटि भए पनि समग्रमा बजेट उत्कृष्ट रहेकोले पास गरिएको बताए । बजेटको रेडबुकमा टाईप वा प्रिन्टमा गल्ती विभिन्न स्थानमा भएको छ, उनले भने, ‘ त्यसैले मुख्यमन्त्रीले नै त्यसलाई सच्चाउन सकिने सभामा घोषणा गर्दा पनि विपक्षी दलका साथीहरुले अनावयक बखेडा गरेका छन् ।

दुई विधेयक पारित
प्रतिपक्षी दलको बहिष्कारका बाबजुद मधेश प्रदेशसभाको बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयकसहित दुईवटा विधेयक शनिवार बहुमतले पारित गरिएको छ । शनिवार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएपछि सरकारको विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको शोक मनाउने संघीय सरकारले निर्णय गरेको अवस्थामा शनिवारको प्रदेशसभा बैठकमा शोक प्रस्ताव पारित गरी बैठक स्थगन गर्न माग गरिएको थियो । सभामुख सरोजकुमार यादवले उक्त प्रस्तावमाथि पछि छलफल गरौँला भन्दै बैठकअघि बढाउन खोजेपछि प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरूले शनिवारको बैठक बहिष्कार गरी बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्य बैठक कक्षबाट बाहिरिएपछि १५ मिनेटका लागि स्थगन भएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूको अनुस्थितिमै पुनः सञ्चालन भएको थियो । सो बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित सबै विभागीय मन्त्रीहरूले प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिएका थिए । मन्त्रीहरूको जवाफ सकिएपछि सभामुख यादवले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ पारित भएको घोषणा गरे । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । यस्तै मधेश प्रदेशसभाको शनिवारकै बैठकले प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा मधेश प्रदेश सरकारका कानून, न्याय तथा प्रदेश मामिलामन्त्री प्रमोदकुमार यादवले प्रस्तुत गरेको सो विधेयक पारित भएको सभामुख यादवले घोषणा गरे । त्यस्तै शनिवारको बैठकले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याप्रति शोक प्रस्ताव पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभाको अर्काे बैठक आज बिहान ९ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठक, विपक्षीले गरे बहिष्कार
संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन मधेश प्रदेशको प्रदेशसभा बैठक राखेकोप्रति आपत्ति जनाइएको छ । बैठकप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् । शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाईएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका थिए । बैठक सुरु भएलगत्तै लोसपा सांसद परमेश्वर साह र उपेन्द्र महतो, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ ले शोक घोषणा गरेका दिन बैठक बोलाईएको बारे सभामुखको ध्यानाकर्षण गराएका थिए । स भ ा म ु ख सरोज कुमार यादवले बैठकलाई निरन्तरता दिएपछि यी सांसदले बैठक बहिष्कार भएको घोषणा गर्दै बैठकबाट बाहिरिएका थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News