२०७९ असार २६, आईतवार ०७:४८

चुरे वन जङ्गल संरक्षण अभियानले चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगतमा विभिन्न प्रकारको दबाबमूलक कार्यक्रमदेखि आमरण अनसन गर्दा पनि चुरेको विनाश नरोकिएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको छ ।

अभियानले शनिवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले विगतमा विभिन्न प्रकारको आन्दोलन तथा जनकपुरधामको जनक चोकमा गरेको आमरण अनसनपछि ७ बुँदाको सहमति हुँदा पनि माग पुरा नभएको भन्दै सुकुम्वासीको नाउँमा गलत व्यक्तिलाई चुरे तथा वनजंगलको जग्गा दिने काम भइरहेको बताउँदै पुनः २७ गतेबाट आन्दोलन गर्ने जनाएको छ । विगतमा आफूहरूले जनकपुरधामको जनक चोकमा गरेको आमरण अनसनमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले गरेका सात बुँदाको सहमति हालसम्म कार्यान्वयन नगरेको भन्दै २७ गतेबाट पुनः मधेश प्रदेशको राजधानी केन्द्रित आन्दोलन गर्ने जानकारी संयोजकले गराए । असार २७ गते जनकपुरधाममा रहेका तीनै तहका सरकारका निकायहरू, विभिन्न राजनीतिक दललाई स्मरण पत्र दिने, २८ गते दिउँसै मशाल जुलुस निकाल्ने, असार २९ गते पुस्तौँदेखि तराई मधेशमा वास्तविक सुकुम्बासी रहेका महिलाहरूले झाडु जुलुस निकाल्ने र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाम बन्द गर्नेसम्मको आन्दोलन गर्ने जानकारी उनले दिए ।

तराई मधेशका चुरे तथा बुट्यान क्षेत्रमा अतिक्रमण हुने क्रम जारी रहेको, सिरहा जिल्लाको चौहर्वामा रहेको मारुती सिमेन्ट कारखानाले ३ विघा ३ कठा चुरेको जग्गा हडपेको र सुकुम्वासीको नाउँमा जग्गा भएकाहरूलाई लालपूर्जा वितरण गर्ने काम भएकाले बदर हुनुपर्ने माग आन्दोलनकारीको छ । यादवले अहिले गर्न लागेको आन्दोलनबाट उत्पन्न हुने अवस्थाको सम्पूर्ण जिम्मेवार तीनै तहका सरकार हुने चेतवनी दिए ।

Comment


Related News

Latest News

Trending News