अपडेट 
२०७९ असार २८, मंगलवार ०७:२९

धनुषाको मुखियापटटी मुसहरनिया गाउँपालिकाकी ज्योतिरानी कुमारी पासवान राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

श्री बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी नारी दिवसको अवसरमा एनसेल र युएनडिपीको आयोजनामा संचालित राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रदेशमा प्रथम भइ राष्ट्रिय स्तरको कविता प्रतियोगितामा समेत प्रथम भएकी छन् । उनलाई एक कार्यक्रमकाबीच सोमवार विद्यालयमा सम्मान गरिएको छ । मुखियापटटी मुसहरनिया गाउँपालिका वडा न.४ का वडाध्यक्ष उदयचन्द्र झाको अध्यक्षता र गाउँपालिका प्रमुख जयकुमार यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । कार्यक्रममा एनसेल र युएनडिपीले पठाएको प्रमाणपत्र, सम्मानपत्र लगायतको पुरस्कार सामग्री पालिका प्रमुख जयकुमार साहले प्रदान गर्दै पासवानले राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रथम भएर पालिका र विद्यालयको गौरव बढाएकोले प्रशंसा व्यक्त गरे । पढाइमा समेत अब्बल रहेकी दलित समुदायकी छोरी पासवानको उच्च शिक्षाका लागि पालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । पालिका प्रमुख यादवले उच्च शिक्षाका लागि पासवानलाई पालिकाबाट छात्रवृत्ति दिएर पढाउने घोषणा पनि गरे ।

सम्मान कार्यक्रममा वडाध्यक्ष उदयचन्द्र झाले शिक्षाप्रति पालिका प्रमुखको चासो, चाहना र उत्सुकतालाई उच्च सम्मानका साथ लिनुपर्ने बताए । विद्यालयलाई सवल, सक्षम र उत्कृष्ट बनाउनका लागि आफ्नो तर्फबाट हुने सहयोगका लागि आफू सदैव अग्रसर रहने बताए ।

Comment


Related News

Latest News

Trending News