जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफुहरुको बहस पार्टीको रुपान्तरण र पुनर्गठनमा केन्द्रीत रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आफुपक्षिय केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाले पार्टीलाई देशव्यापी बनाउनका लागि रुपान्तरण र पुनर्गठनमा बहस गर्न खोजेको बताउनुभएको हो । भट्टराईले पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवले एकपक्षिय निर्णय गर्दै हिडेको र पार्टीभित्र कुनै छलफल नै नगरि बीरगंजमा बैठक बोलाएको आरोप लगाउनुभयो । उहाले वैधानिक ढंगबाट बैठक राख्न र सरसल्लाह गरेर विधिसम्मत बैठक राख्न यादवलाई सुझाव दिनुभयो । भट्टराईले आफ्नो मनसाय पार्टी बिभाजन नभएको बरु संगठनलाई बलियो बनाएर अघि बढाउनु मात्रै रहेको तर्क गर्नुभयो । बैकल्पीक शक्ति र समावेशी पार्टी बनाउने परिकल्पनामाथि गम्भीर आघात पुगेको र पार्टीमा नै कालो बादल देखापरेकाले त्यसैलाई निवारण गर्नका लागि बैठक बोलाइएको उहाको भनाई छ ।
त्यस्तै जसपा नेता महेन्द्र राय यादवले पार्टीको बिधि र बिधान नमानेर एकलौटी गर्दा आफुहरुलाई चित्त दुखेको बताउनुभयो । उहाले पार्टीभित्र आफ्नो कुरा राख्न नपाएपछि विस्तारित बैठक बोलाउनुपरेको भन्दै आफुहरुले पार्टी बिभाजन नगर्ने स्पष्ट पार्नुभयो ।
बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन समेत पेश गर्नुभएको छ । पार्टीभित्र विवाद बढिरहेका बेला उपेन्द्र यादव पक्षले मंगलबार र बुधबार वीरगंजमा केन्द्रीय कार्यकारिणी समिति बोलाउनुभएको थियो भने भट्टराई पक्षले पनि काठमाडौंमा केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको हो ।


