२०७९ असार २९, बुधबार ०८:१७

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा सदस्यहरुले जोड दिएका छन् ।

सोमबारदेखि जारी केन्द्रीय समितिको बैठकमा मंगलबार बोल्ने केन्द्रीय सदस्यहरुले गठबन्धनमा केही कमीकमजोरी देखिए पनि कांग्रेसलाई कुनै क्षति नभएको तर्क गरेका छन् । बैठकमा सहभागी एकजना सदस्यले जनाए अनुसार गठबन्धन गरेरै चुनावमा जान अधिकांश सदस्यहरुले गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिन सुझाव दिएका छन् । बैठकमा बोल्ने सदस्यहरुले स्थानीय तह निर्वाचनको क्रममा गठबन्धनले समग्रमा राम्रो गरेकोले अब संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जनाए । ‘गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा राम्रो परिणाम आएको छ’ बैठकमा सहभागी सदस्यहरुको भनाइ उद्घृतगर्दै प्रवक्ता महतले भने, यद्यपि विभिन्न ठाउँमा प्लस र माइनस छ । तर समग्रमा गठबन्धनले राम्रो गरेको छ । आगामी चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोडदिदै सदस्यहरुले अहिलेका कमीकमजोरी र देखिएका समस्याहरुबाट पाठ सिकेर त्यसको आधारमा गठबन्धनका लागि ध्यान दिनुपर्ने बताए । सदस्यहरुले आउँदो चुनावमा स्थानीय तह निर्वाचनमा कुन दलको कति मत आयो त्यसलाई महत्वपूर्ण आधार मानेर प्रदेश र प्रतिनिधि सभाका लागि सिटको बाँडफाँट गर्नुपर्नेमा जोड दिएको प्रवक्ता महतले बताए । केन्द्रीय समितिको बैठकमा गठबन्धनलाई निरन्तरता दिनेमा अधिकांश सदस्यहरुको धारणा आए पनि त्यसको स्वरुप लगायतका विषयमा पछि छलफल हुने उनले बताए ।

‘निर्वाचनमा अरुले गठबन्धन गर्दा के परिणाम आएको थियो सबैलाई थाहा छ,’ उनले भने, ‘विविध अनुभवका आधारमा गठबन्धनलाई निरन्तरता दिएर निर्वाचनमा जाँदा राम्रो हुन्छ भन्ने साथीहरुको निष्कर्ष छ । कसरी गर्ने, कसरी जाने भन्ने कुरामा पछि छलफल हुने डा. महतले जनाए । पार्टीको समग्र संरचनाहरुलाई पूर्णता दिएर चलायमान बनाउने विषयमाथि पनि छलफल भएको उल्लेखगर्दै डा. महतले भने, ‘पार्टीको निश्चित फोरमबाहिर टिकाटिप्पणी र बहस नगर्न नेताहरुलाई सचेत गराइएको छ । ’ ‘जति पनि पार्टीभित्र आफ्नो चासो, चिन्ता र गुनासोहरु हुन्छन । असन्तुष्टि हुन्छन् । त्यसलाई पार्टीको फोरम, केन्द्रीय समितिमै राख्नुपर्छ ’ उनले भने, पार्टीको फोरममा कुरा राख्न निषेध छैन । यही नै छलफल, बहस गरौं । यही मन्थन गरेपछि निर्वाचनमा जानुपर्छ । डा. शेखर कोइराला समूहले सोमबार पार्टी कार्यालयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गराएका थिए । उनीहरुले पार्टीमा संस्थापन पक्षले हैकमवादी चरित्र देखाएको, ओली प्रवृतिलाई निरन्तरता दिएको जस्ता आरोप लगाएका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच बुंदे सुझाव दिएका छन् । उनले चुनावमा गठबन्धन बनाएर जाँदा नै पार्टीले बढीभन्दा बढी सिट सुरक्षित गर्नसक्ने धारणा राखेका हुन् । ‘आगामी चुनावमा गठबन्धन गरेर जानुपर्छ । चितवनमा गठबन्धन गर्दा नै राम्रो परिणाम आयो’ पौडेलले भने, स्थानीय तह निर्वाचनले यही सन्देश दिएको छ । अर्थतन्त्र बिग्रिएको भन्दै उनले यसका लागि विज्ञहरुसँग परामर्श गरेर सकारात्मक पहलकदमी लिन पनि प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

‘अर्थतन्त्र बिग्रिँदै गएको अवस्था छ’ उनले भने, अर्थ मन्त्रालयको नेतृत्व पनि प्रमले नै सम्हाल्नु भएकाले यो विषयमा विज्ञहरुसँग सुझाव लिएर नीतिगत निर्णय लिनुपर्छ ।’ यस्तै पौडेलले तत्कालीन केपी ओली सरकारले आफू मातहत राखेका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत अहिले पनि प्रधानमन्त्री मातहत नै रहेको भन्दै त्यसलाई तत्काल सच्याइनुपर्नेमा जोड दिए । जुन विषय त्यतिबेला कांग्रेसले उठायो अझै पनि नसच्याइएको पौडेलको भनाइ थियो । ‘ओली सरकारले अधिनायकवाद लाद्यो भनेर हामीले जेजे भनेका थियौं । ती कुराहरु अहिले पनि निरन्तरता भएको छ । त्यो तत्काल खारेज हुनुपर्नेमा उनले जोड दिए । उनले पार्टीका विभागलाई पूर्णता दिनुपर्नेमा पनि उनको जोड थियो ।

Comment


Related News

Latest News

Trending News