
साझेदारी वन उपभोक्ता महासंघको मधेश प्रदेश स्तरीय गोष्ठी बाराको सिमरामा सम्पन्न भएको छ ।
नेपाल सरकारले जारी गरेको वन नियमावली २०७९ को बिषयमा सल्लाह सुझाव लिन र साझेदारी वन उपभोक्ता समूहहरुले कार्यदौरान भोगिरहेका समस्याको बिषयमा बुझन गोष्ठी आयोजना गरिएको थियो । साझेदारी वन उपभोक्ता महासंघ मधेश प्रदेश नेपालको आयोजनामा भएको दुई दिने गोष्ठीमा साझेदारी वनका पदाधिकारीहरुको क्षमता अभिबृद्धि हुने गरी मधेश प्रदेशका उद्योग ,पर्यटन तथा वन मन्त्रालयका सचिव बिशाल घिमिरे र प्रदेश वन निर्देशानलयका निर्देशक जगरनाथ प्रसाद जैसवालले प्रशिक्षण दिएका थिए । प्रदेश सचिव घिमिरेले साझेदारी बनको घाट गद्दीमै काँठहरु कुहिएर जानु तर उपभोक्ताले नपाउँनु दुखद बिषय भएको बताए । सचिव घिमिरेले जसरी भएपनि काठ समयमै उपभोक्ता माझ पुग्नु पर्ने बताए । कसैले अनावश्यक बाँधा अड्चन खडा गरेकै कारण काठ कुहिन गएको खण्डमा त्यस्ता ब्यक्ति वा संस्थालाई कडा कारवाही गर्ने बताए । संघीय सरकारले ल्याएको वन नियमावलीको अधिनमा रही प्रदेश सरकारले चाडै नै प्रदेश नियमावली ल्याउँन लागेको सचिव घिमिरेले जानकारी दिए । उनले तीनै तहको सरकारको समन्वयमा साझेदारीले उपभोक्ताको हक, हितमा काम गर्नुपर्ने धारणा ब्यक्त गरे । नेपाल सरकारले हालसालै ल्याएको वन नियमावली प्रगतीशिल भएको भन्दै साझेदारी बनका पदाधिकारीहरुले यसको प्रसंसा गरेका थिए ।

उनीहरुले आपूmहरुको ७५ प्रतिशत समस्याको समाधान नियमावली गरेको भन्दै नेपाल सरकारलाई धन्यबाद ब्यक्त गरेका थिए । साझेदारी वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशमा रहेका १५ वटा साझेदारी बनका अध्यक्ष र ८ वटै जिल्लाका डिभिजन बन अधिकृतहरुको सहभागिता रहेको थियो । गोष्ठीमा साझेदारी वन उपभोक्ता महासंघको निबर्तमान केन्द्रीय अध्यक्ष रामरुप कुर्मी, महासचिव रामचन्द्र गिरी, डिभिजन वन कार्यालय बाराका वन अधिकृत बिनोद सिँह, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत सुभाष दास , डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत सुनिल कर्ण ,डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत मञ्जुर अहमद ,डिभिजन वन कार्यालय महोत्तरीका डिभिजन वन अधिकृत सन्तोष झा ,डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुरेश शर्मा ,डिभिजन वन कार्यालय सिरहाका वन अधिकृत शैलेन्द्र मिश्रा र डिभिजन वन कार्यालय सप्तरीका वन अधिकृत हेमन्त साह , साझेदारी वन उपभोक्ता महासंघका प्रदेश महासचिव रजनी कान्त झा ,कोषाध्यक्ष लखन लाल साह ,सचिव संजिता ठाकुर कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत अनिल कुमार साहले गरेका थिए ।