२०७९ असार २९, बुधबार ०८:४८

वन तथा वातावरण मन्त्री प्रदीप यादवले वातावरणलाई सन्तुलित राखेर मात्रै विकास निर्माणका काम गर्नुपर्ने वताएका छन् ।

पछिल्लो समयमा विकासको नाममा विनाशका गतिविधि हुने गरेकोमा आपत्ति जनाउँदै मन्त्री यादवले पर्यावरणीय सन्तुलनलाई आत्मसात गरेर भएका विकास निर्माण दीगो हुने बताए । क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले वीरगञ्जमा आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा मन्त्री यादवले राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक), निजगढ अन्तर्र ाष्ट्रिय बिमानस्थल लगायतका कामलाई तीव्र गतिमा अघि बढाउने जिकिर गरे । उनले भने–‘मैले मन्त्रीका रुपमा पदभार ग्रहण गरेको आज एक हप्ता पनि पुगेको छैन, अहिले मन्त्रालयका विषयवस्तुहरु बुझ्ने क्रममा छु, काम र जिम्मेवारी धेरै भए पनि समय अत्यन्तै कम भएकाले मेरो कार्यकाल स्मरणीय बनाउनेमा म अग्रसर हुनेछु ।’ मन्त्री यादवले राजनीतिक संरक्षणमा बिना लाइसेन्सको क्रसर उद्योगहरु धमाधम संचालन भइरहेकोमा चिन्ता ब्यक्त गर्दै यसरी अवैध रुपमा संचालनमा आएका क्रसर उद्योगलाई चाडो भन्दा चाडो बन्द गराउने प्रतिबद्धता व्यक्त गरे । उनले देशका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गर्ने जानकारी दिए । अवैध रुपमा सञ्चालित क्रसर उद्योगले चुरे दोहन गरेर मधेशलाई मरुभूमिकरण गरी रहेको हुँदा यसलाई नियमन गरिने उनले प्रष्ट गरे । बहुचर्चित नागरिकता विद्येयक पास गराउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले जनताको रहर, हरित शहर कार्यक्रम सञ्चालन गरेर श्रावन महिनामा एक करोड विरुवा रोप्ने बताए ।



क्रियाशील युवा पत्रकार मञ्चले बधाई पत्रसहित मन्त्री यादवलाई उपहारस्वरुप बिरुवा प्रदान गरिएको मञ्चका अध्यक्ष प्रणय कुमार साहले बताए । क्रियाशील युवा पत्रकार मञ्च नेपालको संस्थागत सुदृढीकरण र संस्थागत विकासका लागि सदैव तयार रहने बताउँदै उनले समाज भित्रका बेथिती र बिकृतिविरुद्ध कलम चलाउन आग्रह गरे । मञ्चका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले युवा पत्रकारहरुलाई क्रियाशील भइरहन आग्रह गरे । मञ्चमा आवद्ध पत्रकारहरुलाई सक्रियताका साथ उर्जाशील एवम् उत्साहित भएर काम गर्न आग्रह गर्दै उनले सामाजिक कार्यलाई निरन्तरता दिन पनि सुझाव दिए । मञ्चले गर्ने क्रियाकलापमा साथ र समन्वय गर्न महानगर तयार रहेको मेयर सिंहको भनाइ थियो । कुनै पनि दलको मुखपत्र नभएर निष्पक्ष एवम् स्वतन्त्र रुपमा पत्रकारिता गरी समाज रुपान्तरणका लागि संस्थागत भूमिका निर्वाह गर्ने शुभेच्छा पनि उनले व्यक्त गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का युवा नेता मुकेश द्विवेदी, जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ईश्वरचन्द्र यादव, मञ्चका सल्लाहकार मनोज उपाध्याय, शिवशंकर साह, प्रताप श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको मञ्चका महासचिव बिरेन्द्र साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News