जनता समाजवादी पार्टीको उद्घाटन सत्रका अधिकांश बक्ताहरुको सम्बोधन डाक्टर बाबुराम भट्टराइको विरोधमै खर्चिएका छन् । बुधबार वीरगञ्जमा सुरु भएको जसपाको उपेन्द्र यादव समूहको विस्तारित केन्द्रीय समिति बैठकको उद्घाटनमा बोल्ने अधिकांश नेताहरुले भट्टराइलाई संघीयता र मधेश बिरोधी भएको आरोप लगाएका छन् ।
वक्ताहरुले पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई समूहले मंगलबार काठमाण्डुमा गरेको भेलाको चर्को विरोध गर्दै उनीमा बाँदर प्रवृत्ति रहेको कटाक्ष गरेका थिए । काठमाण्डुमा भट्टराइले बोलाएको बैठक अवैधानिक भएकोले त्यसको कुनै औचित्य नभएको उपेन्द्र यादव सूमहका नेताहरुले बताए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईमा बाँदर प्रवृत्ति हाबी रहेको बताउँदै उनमा संगठन विस्तार गर्ने क्षमता नरहेको र अरुलाई पनि बाधा अडचन उत्पन्न गर्ने प्रवृत्तिका कारण नआफ्नो घर बनाउने न अरुको बन्न दिने बाँदर प्रवृत्ति रहेको कटाक्ष गरेका थिए । अध्यक्ष यादवले डा. भट्टराई अस्थिर मानसिकता भएको आरोप समेत लगाए । उनले पार्टीको संसदीय दल ,कार्यकारिणी समिति र केन्द्रीय समिति लगायत सबैमा आफ्नो बहुमत भएको दाबी गरे । उनले डाक्टर भट्टराइले बोलाएको बैठकलाई दुई सांसद, आधा दर्जन कार्यकारिणी केही केन्द्रीय सदस्य सहभागी भएको बैठकका नेता डाक्टर साब अब के गर्नु हुन्छ ? भन्दै प्रश्न गरे । अध्यक्ष यादवले जसपा उपेक्षित समुदाय र वर्ग विरुद्धको विभेद, शोषण र उत्पीडितको पार्टी भएको दाबी समेत गरे । विगतमा मधेश विरोधी रहेका बाबुराम अहिले उत्पीडित, शोषित र सिमान्तकृत समुदायको विरोधमा हिडिरहेको आरोप लगाउदै नेता यादवले भने, ‘डाक्टर साबको मानसिकता नै गडबड छ , झुठो कुरा गर्ने बानी माओवादी जनयुद्ध देखिनै हो उनमा ।’
बैठकमा बोल्दै वरिष्ठ नेता अशोक राइले जसपाको झण्डा र ब्यानर दुरुपयोग गरेर समानान्तर पार्टी चलाउने डाक्टर भट्टराइको गतिविधिलाई गलत राजनैतिक चरित्रको सज्ञा दिए । उनले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने अधिकार राष्ट्रिय अध्यक्षलाई मात्र भएको बताए । अहिले पार्टीलाई एकता बनाएर आगामी निर्वाचनमा बढी भन्दा बढी सफलता प्राप्त गर्ने बेलामा डाक्टर भट्टराइले भने पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप उनले लगाए । पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पार्टीको बैठक बोलाउने अधिकार नै नभएका संघीय परिषद् अध्यक्ष डाक्टर भटटराइले काठमाण्डुमा बोलाएको बैठक अवैधानिक भएको बताए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाबुराम संघीयता मास्ने खेलमा लागेको आरोप लगाए । उनले सघीयता समाप्त पार्ने योजना अन्तर्गत जसपालाई फुटाउने षडयन्त्र भइरहेको बताए । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मुख्यमन्त्री राउतले संघीयतालाई मन नपराउने तत्वहरूले जसपालाई फुटाउने षडयन्त्र गरिरहेको बताए । उनले भने, ‘ बाहिर हेर्दा संघीयतालाई स्वीकार गरेको देखिए पनि व्यवहारमा भने संघीयतालाई मन नपराउने कांग्रेस र कम्युनिस्टले नै अहिले जसपालाई फुटाएर संघीयता समाप्त पार्न संस्थागत रुपमै लागेका छन् ।’ अध्यक्ष यादवको अध्यक्षतामा बुधबार देखि शुरु केन्द्रीय कार्य समिति बैठकको उद्घाटन समारोहलाई कृषि तथा पशुपंक्षीमन्त्री मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार विकासमन्त्री इस्तियाक राइ, बन तथा बाताबरण मन्त्री प्रदीप यादव, केन्द्रीय कार्यकारिणी सदस्यहरु सुशीला श्रेष्ठले सम्बोधन गरेका थिए भने स्वागत मन्तब्य वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले व्यक्त गरेका थिए ।
बैठकमा भने केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादव, राजकिशोर यादव, अमृता अग्रहरी, रामनरेश यादव भने कुनै पक्षको बैठकमा सहभागी भएका छैनन् । सो बैठकमा सहभागीहरुमा उत्साह देखिएको छैनन् भने बाहिरी माहोल पनि त्यति उत्साह जनक नदेखिएको बैठकमा सहभागीहरुले बताएका छन् । संघीय परिषद् सदस्य भट्टराईले बोलाएको बैठक पनि उपेन्द्र यादवको विरुद्धमानै सीमित रहेको थियो ।

