अघिल्लो जनप्रतिनिधि र कर्मचारीको उदासीनताका कारण राजविराज नगरपालिकाका १ सय भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरु एक वर्षको प्रोत्साहन भत्ता पाउनबाट बञ्चित भएका छन् ।
प्रति वर्ष मासिक २ हजारका दरले आर्थिक वर्षको अन्त्य तिर एकमुष्ट २४ हजार पाउनु पर्ने प्रोत्साहन भत्ता अघिल्लो कार्यपालिका र जिम्मेवार कर्मचारीले बजेट विनियोजन नै नगरिदिएपछि राजविराज नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु प्रोत्साहन भत्ताबाट बञ्चित हुन पुगेका हुन । उनीहरुले बुधवार प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई भेटेर सो भत्ता उपलब्ध गराउन माग गरेका छन् । राजविराज नगरपालिकाको १६ वटै वडामा गरी १ सय ३ महिला स्वास्थ्य स्वयसेविकाहरु कार्यरत छन । उनीहरुले २०७८ साउन देखि ०७९ असार सम्मको प्रोत्साहन भत्ता पाउन नसेकेको गुनासो गरेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविका निर्मला पोखरेलले गत आ.ब.२०७७÷०७८ मा आयोजित भिटामिन “ए” कार्यक्रममा खटिए बापत जनही १ हजार ६ सयका दरले पाउनु पर्ने भत्ता समेत आफूहरुले पाउन नसकेको गुनासो पोखिन । प्रमुख प्रशासकीय अधिकृत यादवले अघिल्लो कार्यपालिका र सम्बन्धित फाँटका कर्मचारीले उक्त शीर्षकमा बजेट नै विनियोजन नगरे पछि समस्या भएको बताए ।

