अपडेट 
२०७९ असार ३०, बिहीबार ०८:१६

सप्तरी कै पुरानो मध्येका एक राजविराजस्थित लेखनाथ आदर्श पुस्तकालयको अस्तित्व संकटमा परेपछि यसलाई पुर्नजिवन दिने अभियान सुरु भएको छ ।

तत्कालीन वडा हाकिम बद्री बिक्रम थापाको विशेष पहलमा राजविराज–७ मा स्थापना भइ २०७२ सालदेखि पूर्णरुपमा बन्द रहेको उक्त पुस्तकालयलाई पुनःसंचालनमा ल्याउन स्थानीय महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक सुरेन्द्र प्रसाद गुप्ताले अभियान थालेका हुन् । उनले सामाजिक सञ्जालमार्फत पहल थालेपछि विभिन्न क्षेत्रबाट सहयोगको प्रतिबद्धता आउन थालेको छ । पुस्तकालयको जीर्ण भवनलाई भत्काएर नयाँ संरचना निर्माण गरिए पनि पुस्तकालयका लागि आवश्यक कोठाको व्यवस्था नगरी व्यापारिक प्रयोजनका लागि सटरहरु निर्माण हुदाँ पुस्तकालय लोप हुने अवस्थामा पुगेको गुप्ताको भनाइ छ । संचारकर्मी तथा साहित्यकर्मी समेत रहेका गुप्ताले पुस्तकालयलाई पुर्नजिवन दिन सामाजिक सञ्जालमार्फत अभियान चलाए पछि विभिन्न ब्यक्तिहरुले सहयोगको प्रतिबद्धता जनाएको र यो क्रम बढ्दै गएको जानकारी दिएका छन् । उनका अनुसार सामाजिक सञ्जाल मार्फत अभियान चलाएपछि हाल काम विशेषले जिल्ला बाहिर रहेका राजविराज निवासी आनन्द मिश्रले १५ हजारदेखि २० हजार सम्मको संख्यामा विश्वका उत्कृष्ट पुस्तकहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

यस्तै मिश्रले अफ लाईन र अनलाईन पढ्न सकिने करिब १० हजार पुस्तक थप सहयोग स्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको गुप्ताले जानकारी दिए । उनका अनुसार साहित्य प्रेमी योगिस खरेल, विमल न्यौपाने, संजिव उपाध्याय लगायतका दर्जनौ व्यक्तिले पुस्तकालयलाई पुर्नजिवन दिने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सभ्य समाजको सूचकको रुपमा रहेको पुस्तकालयको पुनः संचालनका लागि राजविराज नगरपालिकालाई दबाब दिन पनि सामाजिक सञ्जालमार्फत अभियान चलाएको बताउदै गुप्ताले भने “पढ्ने बानीमा ह्रास आइरहेकोले पठन संस्कृतिको विकासका लागि पनि यो अभियान चलाएका हौं ।” अभियानमा सघाउने र सहयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गए पनि राजविराज नगरपालिकाले खासै चासो नदेखाएको उनको भनाइ छ । पुस्तकालयमा रहेका अधिकांश फर्निचर र पुस्तक नष्ट भइ सकेका छन् । भवन समेत नहुँदा पुस्तकालयको अस्तित्व नै संकटमा परेको लेखनाथ आदर्श पुस्तकालयका अध्यक्ष समेत रहिसकेका प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा बताउँछन । उनले पूस्तकालय हुँदा राजविराजवासीको फुर्सदको समयको सदुपयोग हुनका साथै विद्यार्थी वर्गदेखि समाजका अध्ययनशील सबै व्यक्ति लाभान्वित हुने गरेको स्मरण सुनाउँदै अविलम्ब यसको सचालन हुनु पर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवले ऐतिहासिक लेखनाथ आदर्श पुस्तकालयलाई पुर्नजिवन दिन नगरपालिका गम्भीर रहेको बताए ।

Comment


Related News

Latest News

Trending News