२०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ ।
प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचोक, शिवचोक हुदै भानुचोकमा पुगि आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र कुमार सिंहले मधेश आन्दोलनको आडमा भानुचोकमा स्थापित रहेको भानुभक्त आचार्यको शालिक षडयन्त्रपूर्वक भत्काईएको प्रति दुःख व्यक्त गरेका थिए । अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यलाई ठूलो गुण लगाएको मानिन्छ । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ । रामायण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरी मिथिला संस्कृतिको समेत गौरव बढाउने पूण्यकार्य गरेका आचार्यको शालिक भत्काइनु अक्षम्य पाप भएको भन्दै महासचिव सिंहले आक्रोश पोखे । विश्व हिन्दू परिषद् नेपालले बुधवार देशभरि नै विभिन्न कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाएको छ । परिषद्द्वारा जनकपुरधाममा आगामी वर्षहरुमा पनि भव्यताका साथ भानु जयन्ती मनाईने तथा निकट भविष्य मै शालिक स्थापना गरिने मन्तव्यका क्रममा परिषद्का राष्ट्रिय सदस्य मनोहर साहले बताए ।
कार्यक्रममा बोल्दै अभियन्ता प्रफुल्ल घिमिरेले भानुभक्त आचार्यले आफ्ना साहित्यिक रचनाका माध्यमले सम्पूर्ण समाजलाई जोड्ने कार्य गरेकाले हामी सबैले पनि राजनीतिक एवं भाषिक सीमा भन्दा माथि उठेर विचार गर्नुपर्ने बताए । विश्व हिन्दू परिषद् नेपालले जनकपुरधाममा भानु जयन्ती मनाउन पुनः शुरु गरेको प्रति प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आभार समेत प्रकट गरेका थिए ।

