अपडेट 
२०७९ श्रावण १, आईतवार ०९:२५

वरिष्ठ साहित्यिकार एवं राजनीतिक व्यक्तित्व रमेश रन्जन झा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा लगातार दुई पटक प्राज्ञ (परिषद् सदस्य) भइसके । संघीय सरकारको मुख्य सचिव स्तरीय पारिश्रमिक र सुविधा लिएर उनले आठ वर्ष काम गरे । समकालीन मैथिली साहित्यका लगभग सबै विधा–नाटक, गीत, कविता, कथा र उपन्यासमा उनको उल्लेखनीय योगदान छ । यी विधामा दर्जनजति उनका साहित्यिक पुस्तक पनि प्रकाशित छन् । भनिन्छ विद्यापति पुरस्कारको स्थापनामा पनि रमेश रन्जनको पनि योगदान छ । तर यो पुरस्कार प्रदान गर्न थालिएको १० वर्ष बितिसक्दा पनि रमेश रन्जनलाई यो पुरस्कार दिइएन । यसको रिस, क्षोभ, कुण्ठा र वितृष्णा उनको मनमा अवश्य पनि थेग्रिएर बसेको हुनुपर्दछ । संयोगले यस पटक रमेश रन्जनले पुरस्कार हात पार्न राजनीतिक रुपमा असाध्यै अनुकूल वातावरण पाए । अहिले उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका साहित्य तथा संस्कृति विभाग प्रमुख छन् । उनको पार्टी संघीय सरकारमा प्रमुख रुपमा सहभागी छ ।

विद्यापति पुरस्कार कोषसँग सम्बन्धित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उनकै पार्टीका कमरेड मन्त्री छन् । फलतः उनले विद्यापति पुरस्कार सञ्चालक परिषद्का सदस्य सचिवसहितका पदाधिकारी र सदस्य पदमा आफ्नो अनुकूल व्यक्ति चयन गर्न लगाए । रमेश रन्जनले पुरस्कार चयन परिषद्का पदाधिकारी र सदस्यको चयनलाई पनि नराम्ररी प्रभावित गरे । यो मैले मात्रै होइन । जनकपुरदेखि काठमाडौंसम्म जानकारहरुले भन्ने गर्दछन् । यसरी रमेश रन्जनले आफ्नो राजनीतिक पृष्ठभूमिको आड र आफ्नो सत्तारुढ पार्टी र मन्त्रीको प्रभावमा सबै तारतम्य मिलाए र आफूलाई पुरस्कार दिन लगाए । त्यतिमात्र होइन, यसपटक पुरस्कृत अन्य व्यक्तित्वको चयनलाई पनि उनले आफ्नो अनुकूल बनाए । यसरी रमेश रन्जनजस्तो मैथिलीका वरिष्ठ र सबै हिसाबले योग्य साहित्यकारले दुई लाखको विद्यापति भाषा साहित्य पुरस्कार हात पार्न आफ्नो अनुकूल राजनीतिक परिस्थितिलाई कुर्न बाध्य हुनु अत्यन्तै दुर्भाग्यपूर्ण छ । प्रा.डा. रामावतार यादव, प्राÞ.डा. योगेन्द्र प्रसाद यादव, राजेश्वर नेपाली, परमेश्वर कापडि, धीरेन्द्र प्रेमर्षि र देवेन्द्र मिश्रजस्ता हस्तीहरुले पनि दुई लाखको विद्यापति पुरस्कारबाट सम्मानित हुन के आफ्नो अनुकूलको राजनीतिक सत्ताको प्रतीक्षा गर्नुपर्दछ ? आफ्नो अनुकूलको राजनीतिक वातावरण निर्माण नभए गुरुदेव कामत, सुनिल मल्लिक, एससी सुमन, रुपा झा, रश्मी रानी, रामा मण्डल, हरिशंकर चौधरी र मिथिला देवी यादवजस्ता अनेकौं योग्य स्रष्टाले विद्यापति पुरस्कार कहिल्यै नपाउने ? विद्यापति पुरस्कारको सन्दर्भमा यस्तो खालको दुर्भाग्य र असंगति यसलाई राजनीतिक कुप्रभावले नराम्ररी गाँज्दै लगेको अवस्थाको परिणाम होइन र ? मैथिली भाषा साहित्य क्षेत्रका केही अग्रज व्यक्तित्वबाट पटक पटक सुनेको छु कि विगत केही वर्षदेखि अयोग्य व्यक्ति र एक विधाका स्रष्टालाई अर्के विधाको विद्यापति पुरस्कार दिने कुप्रथा बढ्दै गएको छ । गीत, संगीत र सिनेमाका हस्ती मुरलीधरलाई २०७३ सालको विद्यापति अनुवाद पुरस्कार दिने निर्णय गरियो । यस्तै अर्कै क्षेत्रका रामसागर पण्डितलाई २०७४ सालको विद्यापति कला–संस्कृति पुरस्कार प्रदान गरियो ।

पछिल्लो १० वर्षमा विद्यापति पुरस्कार प्रदान गरिँदा यस्ता धेरै असंगतिहरु देखिएका छन् । विद्यापति पुरस्कार कोष र यसको पुरस्कार चयन परिषद्ले यस्ता असंगत निर्णयहरुको समीक्षा गर्नुपर्दैन ? यस्तो असंगति यस पटकको पुरस्कार चयनमा पनि देखियो । यस पटक निर्मला झा र अशोक दत्तलाई संयुक्त रुपमा विद्यापति कला संस्कृति पुरस्कार प्रदान गरियो । निर्मला झा को हुन् ? खोजबीन गर्नुपर्ने अवस्था आयो । कवि एवं गीतकार अशोक दत्तलाई कला संस्कृति पुरस्कारको लागि किन चयन गरियो ? आश्चर्यमा परियो । मैले सुनेअनुसार अशोक दत्तले गत वर्ष २ लाख नगद राशिको भाषा साहित्य पुरस्कारको लागि आवेदन दिएका थिए । गत वर्ष त्यो पुरस्कार नपाएपछि यस वर्ष दत्तले भाषा साहित्य पुरस्कारका साथै कला संस्कृति पुरस्कारको लागि पनि आवेदन दिए । उनलाई भाषा साहित्य पुरस्कार दिन नसकिएपछि दत्तको मन राख्नको लागि कला संस्कृति पुरस्कार दिइएको जस्तो देखिन्छ । जुन अत्यन्तै अनुचित छ । यो सम्बन्धित स्रष्टाको अनादर मात्र होइन, गलत नजिरको पुनरावृति पनि हो । यस्तो गलत निर्णयले गायन र संगीत क्षेत्रका एक जना वरिष्ठ स्रष्टा सम्मानित हुनबाट वञ्चित भएका छन् । यस्तै, मिथिला चित्रकला अत्यन्तै प्रतिस्पर्धी र उन्नत विधा भइसकेको छ । मिथिला चित्रकारहरुले विदेश भ्रमण गर्ने गरेका छन् । अनेकौं एकल र दर्जनौं सामूहिक चित्रकला प्रदर्शनीमा देश र विदेशमा सहभागी हुने गरेका छन् । केही चित्रकारका अनेकौं मिथिला चित्रले सामाजिक र ऐतिहासिक महत्व स्थापित गरेका छन् । उनीहरुका चित्रहरुले सामाजिक र सांस्कृतिक योगदान दिइरहेका छन् । यस्ता हाइप्रोफाइल र चमकिलो छवि भएका मिथिला चित्रकारहरुको कमी नरहेको अवस्थामा निर्मला झालाई किन पुरस्कार दिइयो ? बायोडाटामा १५ वा बीस वर्षदेखि चित्रकला क्षेत्रमा लागेको भनेर लेखिएको भरमा निर्मला झालाई कला संस्कृति पुरस्कार दिनु कतिको उचित हो ? यस पुरस्कारका लागि के उनीभन्दा हाइप्रोफाइल र राम्रा चित्रकारले आवेदन दिएका थिएनन् ?

यदि दिएका थिएनन् भने एससी सुमन र मिथिला देवी यादवजस्ता चित्रकारलाई आवेदन दिन लगाएर वा ससम्मान बोलाएर उनीहरुलाई पुरस्कृत गर्न सकिँदैन्थ्यो ? अवश्य पनि सकिन्थ्यो । तर मनोगत हिसाबले आफ् नो गोजीका व्यक्तिलाई पुरस्कार दिने चलनले यस्तो सम्भव भइरहेको छैन । विद्यापति पुरस्कार कोषको विधान र पुरस्कारसम्बन्धी कार्यविधिअनुसार एक लाख नगद राशिको विद्यापति कला संस्कृति पुरस्कार एक जना स्रष्टालाई प्रदान गर्ने गरिन्थ्यो । गत वर्षदेखि किन दुई जनालाई पुरस्कृत गर्न थालियो ? के कला र संस्कृति क्षेत्रका कलाकार भाषा र साहित्य क्षेत्रका विद्वानभन्दा कमजोर हुन्छन् ? के साँच्चै उनीहरुको क्षमता र योगदान दोस्रो दर्जाका हुन्छन् ? मैथिली गीत, संगीत र मिथिला चित्रकला रत्तिभर पनि मैथिली भाषा र साहित्यभन्दा कमअसल छैनन् । अनि एक लाखको पुरस्कार राशिलाई दुई भागमा बाँडेर चित्रकार र संगीत तथा सिनेमा क्षेत्रका कलाकारलाई प्रदान गरी उनीहरुलाई किन होच्याउन थालिएको हो ? के उनीहरु दोस्रो दर्जाका स्रष्टा हुन् ? मैथिली प्रज्ञा क्षेत्रका अग्रज स्रष्टाहरुले विगत केही वर्षदेखि विद्यापति पुरस्कारको विभिन्न आयामबारे गम्भीर प्रश्न उठाउन थालेका छन् । उनीहरुले विद्यापति पुरस्कार संचालक परिषद् र पुरस्कार चयन परिषद्को छनोटमा प्रश्न गर्न थालेका छन् । व्यक्तिगत स्वार्थ र कुष्ठा एवं राजनीतिक प्रभावले आफ्ना आसेपासेलाई पुरस्कार संचालक परिषद् र चयन परिषद् मा भर्ना गर्न थालिएकोमा उनीहरुको आपत्ति नाजायज छैन । यस्तै अनुसन्धान पुरस्कारलाई लेखन र अनुसन्धान वृत्तिको विकासका लागि उपयोग गर्नुपर्ने सल्लाहलाई पनि नजरअन्दाज गर्नुहुँदैन । त्यसैगरी, विद्यापति अनुवाद पुरस्कारलाई विस्थापित गरेर संगीत र सिनेमा क्षेत्रका स्रष्टाको लागि एक लाखको पुरस्कारको व्यवस्था गर्दा सुनमा सुगन्ध हुन्छ । यस्तै, कला संस्कृति पुरस्कारलाई केही परिमार्जित गरेर मिथिला चित्रकारलाई मात्र प्रदान गर्ने प्रावधान बनाउँदा धेरै राम्रो छ । विद्यापति पुरस्कारमा देखिन थालेको मुख्य समस्या भनेको राजनीति, भनसुन र कृपावाद हो ।

यससम्बन्धी आरोप व्यापक रुपमा सुनिन थालिएको छ । यस्तै जातिवाद र जिल्लावादले पुरस्कारको गरिमा र विश्वस्नीयतामा नै प्रश्न खडा गरेको धेरै जनकपुरियाहरुकै भनाइ छ । मेरो पछिल्लो जनकपुर यात्राको क्रममा केही व्यक्तिले अधिकांश ब्राह्मण र कायस्थ जातिका स्रष्टालाई नै पुरस्कार दिनुछ भने पुरस्कार वितरणको यस्तो नाटक किन गरिएको भन्ने चर्चा मसँग गरेका थिए । विद्यापति पुरस्कारबाट बृहत्तर मैथिली भाषी समाजलाई सम्मानित गर्न नचाहेको तर एक एक जना साह र यादव वा अन्य जातिका व्यक्तित्वलाई पुरस्कृत गरेर अधिकांश पुरस्कार ब्राह्मण र कायस्थ जातिमा सीमित गर्न खोजिएको उनीहरु आरोप लगाउँछन् । ती जनकपुरियाहरुका अनुसार यदि यादव र साहजस्ता केही जातिका स्रष्टालाई ललिपप चुसाएर ब्राह्मण र कायस्थ जातिका व्यक्तित्वलाई नै सम्मानित गर्नुछ भने पुरस्कार चयनको नाटक किन गर्नुप¥यो ? एक करोडको अक्षय कोषलाई सिधैँ मैथिल ब्राह्मण महासभा र चित्रगुप्त सेवा समितिलाई बाँडेर दिए भइहाल्यो नि भन्ने उनीहरुको विचार थियो । मेरो विचारमा विद्यापति पुरस्कारबारे विकसित हुँदै गएको यस किसिमको अवधारणालाई पनि मनन गर्नुपर्दछ । विद्यापति पुरस्कार स्थापना र वितरण सुरु भएको १० वर्षभन्दा बढी भइसक्यो । पुरस्कृत व्यक्तित्व चयन गर्ने क्रममा प्रत्येक वर्ष विभिन्न विकृति र असंगति घटित हुँदै गएको छ । यसले दिनानुदिन पुरस्कारको गरिमा र यसप्रतिको आकर्षण घट्दै गएको छ । अब चाहिँ विद्यापति पुरस्कारको समग्र समीक्षा हुनुपर्दछ । म आफैँ २०७७ सालको विद्यापति पाण्डुलिपी पुरस्कार विजेता हुँ । यसको निर्मम समीक्षामा सहयोग गर्न र इतिहासको कठघरामा उभिन म तयार छु । दश वर्षको अवधिमा पुरस्कारसँग सम्बन्धित पर्दापछाडि र अगाडि रहेका सम्पूर्ण व्यक्ति, पुरस्कार संचालक परिषद् र पुरस्कार चयन परिषद, पुरस्कृत व्यक्तित्व र कृतिमाथि सकल मिथिला समाजले समीक्षा गर्नुपर्दछ । विद्यापति पुरस्कारबारे समीक्षा र मन्थन गर्न ढिलो गर्नुहुँदैन । समीक्षा र मन्थनबाट यस पुरस्कारको गिर्दो साखमा सुधार ल्याउन सक्दैनौं भने हामीले विद्यापति पुरस्कार खारेजीको लागि पहल थाल्न संकोच मान्नुपर्दैन ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News