अपडेट 
२०७९ श्रावण ३, मंगलवार ०७:५१

राजनीतिक परिवर्तनहरुले आर्थिक र साँस्कृतिक पक्षहरुलाई पनि प्रभावित गर्छ । देशमा गणतन्त्र र संघीयताको अर्थ राजनीतिक मात्र होइन, यसले हाम्रो साँस्कृतिक र सामाजिक दृष्टिकोणमा परिवर्तनको अपेक्षा गर्छ । यस अर्थमा नेपाली जनताको अथक परिश्रम, संघर्ष, त्याग र बलिदानबाट प्राप्त वर्तमान संघीय गणतन्त्रको दीर्घायुको निम्ती हाम्रो साँस्कृतिक चेतनामा परिवर्तन अत्यावश्यक छ । गणतन्त्र जनताको प्रतिनिधिमूलक व्यवस्थाको शासन प्रणाली हो । यस व्यवस्थामा सत्ताको सबै भन्दा माथिल्लो पदमा जनता द्वारा चयनित व्यक्ति नै आसीन हुन्छ । यो बेग्लै कुरा हो कि अहिलेको संघीय गणतन्त्रका चालकहरु जनअपेक्षाका कसीमा खरो उत्रन सकेका छैनन् । उनिहरु जनताको भन्दा पनि दलाल पूँजी पति तथा नौकरशाह वर्ग प्रति बढी समर्पित देखिन्छ । यस अर्थमा वर्तमान संघीय गणतन्त्रलाई वास्तविक अर्थमा जनताको राज्य अर्थात् संघीय जनगणतन्त्रमा परिणत् हुन बाँकी नै छ । यस्का निम्ती जनताले गर्ने संघर्षहरु बाँकी नै छन् ।

तर यसै निहुँमा गणतन्त्रको विकल्प राजतन्त्र वा यस्तै कुनै गैरजनवादी व्यवस्था हुन सक्दैन । यसको अर्थ वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प समाजवादी संकल्प सहितका संघीय जनगणतन्त्र हुनसक्छ । र, यस्को निम्ती जनसमुदायको चेतनामा राजनैतिक र साँस्कृतिक अर्थमा अग्रगामिता आवश्यक हुन्छ । विकल्पहरु अग्रगामी हुनुपर्छ । तर वर्तमान गणतन्त्रमा विद्यमान भ्रष्टाचार, गैरजिम्मेवारीपना तथा निजी स्वार्थपूर्तिको निम्ती सत्तालालसा जस्ता गैरजनवादी विकृतिहरु देखाएर एउटा हिस्साले संघीयता खारेजी तथा राजतन्त्रलाई विकल्पको रुपमा प्रस्तुत गरेर देशको राजनीतिक परिवर्तनलाई प्रतिगामी बनाउन चाहन्छ । केही तत्वहरुले त सामाजिक सञ्जालमा बजाफ्ते संघीयता खारेजी अभियान नै सञ्चालन गरिरहेका छन् । यस्को अर्थ हाम्रो राजनीतिक र सामाजिक परिदृश्यमा पुरानो राजनीतिक व्यवस्थाको अवशेष र चेतना अझै बाँकी छन् । यी अवशेषहरुले नयाँ पुस्तालाई समेत प्रभावित गर्न खोजी रहको छ । पुरातनमुखी चिन्तन प्रवृत्तिले ज्ञान, सभ्यता र श्रेष्ठता सबैलाई पौराणिकता तथा मिथअर्थात विश्वासमा आधारित विगतमै खोज्ने गर्छ । यस्तो पश्चगामीचिन्तन भएकाहरुले नयाँ विकास तथा परिवर्तन र चलनहरु समाज र सभ्यताको निम्ती उचित ठान्दैनन् । समाजमा भएका विकृतिहरु परम्परागत सामाजिकताको निरन्तरता तथा यसबाट विकसित नकारात्मक तत्वहरुको कारण हो भन्ने तथ्यलाई स्वीकार्दैनन् । उनिहरु यस्को सम्पूर्ण दोष नयाँ परिवर्तनको टाउको थोपर्न चाहन्छन् र यसै आधारमा नयाँ भन्दा पुरानोलाई श्रेष्ठ साबित गर्न चाहन्छन् । यथार्थ के हो भने हरेक राजनीतिक तथा सामाजिक परिवर्तन पुरानोको विकृतताको प्रतिरोधमा नै हुने गर्छ । वस्तुतः जसलाई हामी नयाँ भन्छौँ त्यो समाजको जनपक्षीय सकारात्मक इतिहासको निरन्तरता हो । यस्तो सकारात्मकता, जस्लाई गैर सामाजिक तत्वहरुले किनारा लगाई दिएको हुन्छ ।

यी गैर सामाजिक (वागैरजनवादी) तत्वले जनसमुदायको श्रेष्ठता तथा उसको सामान्यहित समेतको विचार र परिवर्तनको चाहनालाई अज्ञान घोषित गरिदिन्छ र आफ्नो सनातनयथा स्थिति र विचारलाई नै ज्ञान र सभ्यताको उपाधि प्रदान गर्छ । राजनीतिक व्यवस्थाले समाजको आर्थिक र साँस्कृतिक अनुकूलन गर्छ । त्यसैले ऐतिहासिक कालखण्डमा समाज जुनखाले सत्ताविशेषमा हुन्छ, त्यसै अनुकूलका ज्ञान र सभ्यता परम्परामाउसको मनोजगत अनुकूलित भैसकेका हुन्छन् । राजतन्त्रमालामो परम्पराबाट गुज्रेको हाम्रो समाजमा राजा र धर्ममा आधारित ज्ञानमिमांसा श्रेष्ठ मानिन्छ । हामीलाई परिवर्तनले प्रभावित नगर्ने होइन । हामीले विज्ञानका उपलब्धिहरुको पनि उपयोग गरिरहेका हुन्छौँ । तर जब धर्म र विज्ञान एक अर्काका सामू प्रतिरोधी मुद्रामा खडा हुन्छ, हाम्रो पुरानो चिन्तनको समाज धर्मलाई श्रेष्ठ मान्न थाल्छ । त्यतिबेला विज्ञान उसको निम्तीविध्वंसक र सैतान जस्तै देखिन थाल्छ । पुरातन ज्ञानमिमांसा प्रतिको यो मोह कतिसम्म जड छ भने हामीलाई आफ्नै अर्थात मानवीयताको विरोधमा रहेका पौराणिक चिन्तन तथा चलनहरु समेत राम्रो लाग्न थाल्छ । राज्य र धर्म (अर्थात इश्वरिय चेतना) ले समाजको अनुकूलन गरेको यो नै हो । यस चेतनाले हामीलाई गैरमानवीय सत्ता तथा ज्ञान मिमांसाको प्रतिरोधी चेतनाबाट रोक्छ र आफ्ना सबै संकटको हल चेतनाको स्तरमा धर्म वा ईश्वरको शरणागतिमा खोज्न प्रेरित गर्छ । समाजको यो अप्रतिरोधी चेतना तथा धर्मको शरणागति गैरजनवादी राज्यसत्ताको निम्ती सहयोगी हुने गर्छ र यसै कारण कुनै बेलायथास्थितिको विरुद्ध परिवर्तन गरेर सत्तामापुग्न सफल शासकवर्ग आफ्नो हितमा अमानवीय भैसकेको धर्म र परम्परालाई प्रोत्साहित गर्न थाल्छ । धर्म र मानवबीचको यसै प्रवृत्ति र अन्तर्सम्बन्धलाई लक्षित गरेर माक्र्सले धर्मलाई ‘हृदयहीनहरुको हृदय’ तथा ‘धनीहरुको शान र गरिबहरुको सुस्केरा’ भनेका थिए । माक्र्सको भनाईमा धार्मिकताले यस्तो प्रभामण्डल खडा गर्छ, जस्मा डुबेर मानिसलाई यस्तो भ्रमितआनन्दबोध हुन्छ, मानौँ उसका सबै समस्या र संकटहरु हल भैसकेका छन् । यथार्थमा उसका समस्याहरु यथावत् नै हुन्छन् ।

तपाँईले जीवन भरी गरिबीको दंशझेलीरहेको कुनै दुःखी मानिसलाई कुनै किर्तनमा मस्त र भावविभोर भएर भजनगाईरहेको तथा झालबजाई रहेको हेर्नु भयो होला । उसको मस्त, भावविभोर र आनन्दमय अनुहार यस्तो देखिन्छ, मानौँ ऊ पूर्णरुपमा संकटमुक्त भैसकेको छ । तर यथार्थ के हुन्छ भने उसका समस्या र संकटहरु यथावत् हुन्छन् र ऊ केही बेरलाई मात्र आफ्नो संकटबाट मुक्त भएको स्थितिमा हुन्छ । धर्मको यसै स्वाभावलाई लक्षित गरेर माक्र्सले धर्मलाई अफीम भनेका थिए । दोष त्यस मानिसको होइन, जस्ले धर्म मान्छ । कारक त परम्परागत चेतना र राज्यहो जस्ले धर्मको प्रभामण्डलको सृजना गरेको छ । यो धर्मको अफिमीपना नै हो, जस्ले गर्दा मन्दिर, मस्जिद र चर्चहरु र यस्का सञ्चालक धर्मगुरुहरु घोर अमानवीयतामा परिणत भैसकेको भए पनि पुरातन चेतनायुक्त समाज त्यसको अस्तित्वकायम राख्नकै निम्ती प्रयत्न गरि रहेको हुन्छ । यति मात्र होइन ज्यान दिन र लिन सम्मको निम्ती तयार हुने गर्छ । यस गन्थनमन्थनको सार के हो भने राज्यको संरक्षणमा धर्मले मानिसको प्रतिरोधी चेतनालाई मत्थर पार्छ र शासक वर्गको हित अनुकूल अनुकूलित गर्छ । व्यावहारिक स्तरमा नागरिकको दृष्टिले हाम्रो जीवनमा सत्ताका शासन हुने नै भयो, तर यो अनुकूलित चेतना नै हो, जस्ले हाम्रो जीवनमा जन्मदेखी मृत्युसम्म धर्म र ईश्वरको श्रेष्ठता र अनुभूति सृजित रहन्छ । यो प्रभाव हामीमा यति घनीभूत हुन्छ कि हामीलाई हामी बाँच्ने जगत र मानवीयता दुबै अधम् र हीन अनुभूत हुन थाल्छन् । सत्ता र धर्मबारेको यो विवेचना धर्मप्रतिको घृणा वा विरोध होइन । कसैले धर्मप्रतिआस्था राखेका छन् भने उनको व्यक्तिगत आस्थाको सम्मान नै गर्नु पर्छ । हजारौँ वर्षदेखी मानिसको चेतना र चलनमा कब्जा गरी बसेको यो पौराणिक र मिथविश्वास त्यसै हराउँदैन पनि । यस्का निम्ती लामो र अथक बौद्धिक र व्यावहारिक विमर्शको आवश्यकता हुन्छ । तर आधुनिक समाज र चेतनाको दृष्टिले यस्का मान्यताहरुमा अधिकांशकोऔचित्य सकिएका छन्, त्यसैले यसलाई इतिहासको म्युजियममा थन्काएर नयाँ र आधुनिक समाजको आवश्यकता अनुकूल चिन्तन प्रवृत्तिको अवलम्बन उचित हुन्छ ।

यथार्थ के हो भने धर्म मानव विकासको ऐतिहासिक क्रममा विकसित भएको व्यवस्था र चेतनाहो, जस्लाई वर्तमान समाजको पौराणिक समुदायले आदतवश र औपचारिकतावशबोकेकामात्रहो । यो नै साँस्कृतिक चेतनाको बिन्दु हो, जसलाई न उल्ट् याई मानवीय समाज निर्माण गर्न सकिँदैन । नयाँ र पुरानो चेतना बीचको द्वन्द्व पनि यो नै हो । अहिले पुरानो सत्ता फर्काउने प्रयासमा लागेकाहरु यस्तै पुरातन चेतनाबाट प्रेरित छन् । यस कारण वर्तमान संघीय गणतन्त्रलाई वास्तविक अर्थमा मानवीय र जनवादी बनाउनको निम्ती राजनैतिक मात्र होइन, साँस्कृतिक रुपमा पनि मानवीय चेतनाबाट लैस हुन जरुरी छ । यो भनेका मानवीय हितलाई केन्द्रमा राख्ने धर्म निरपेक्षता, समानता तथा मानवीय दृष्टिकोण सहितको जनवादिता हो । नेपालका सबै वर्ग, धर्म र जन समुदायले राजतन्त्र विरुद्ध गरेको संघर्ष र परिवर्तनका प्रेरक आधारहरु पनि यी नै थिए । यो भनेको, यो संघीय गणतन्त्र पुरानो सत्ताबाट उत्पीडित सबै वर्ग र समुदायको हो, र यसको रक्षा र विकासको दायित्व पनि यिनीहरु कै हो । तर समस्या कहाँ छ भने, राजावादी दक्षिण पन्थीहरु मात्र होइन, गणतन्त्र र संघीयताको निम्ती संघर्ष गर्ने राजनीतिक दलहरु भित्र समेत पुरातन चेतना तथा संघीयता विरोधी स्वरहरु सुनिन्छन् । यो भनेको राजनीतिक रुपमा गणतन्त्र आए पनि साँस्कृतिक चेतनाको स्तरमा गणतान्त्रिक आत्मबोध हुन अझै बाँकी छ । यसले प्रतिगामी र दक्षिण पन्थीहरुलाई बल पु¥याउँछ । यस्ले गणतन्त्र पछि वयस्क भएको पुस्तामा अन्यौल पनि सिर्जना गर्छ र भावावेशमा उनिहरु जानीनजानी गणतन्त्र विरोधी तथा राजतन्त्र जस्तो परतन्त्रताको अभियानमा आकर्षित हुन पुग्छन् । यसै कारण गणतन्त्र र संघीयताको राजनैतिक मात्र होइन, यस्को साँस्कृतिक चेतनाको प्रसार अत्यन्त जरुरी छ । नयाँ पुस्तालाई यस गणतन्त्र र संघीयताको निम्ती हाम्रा पुर्खाहरु र सन्तानहरुले वरण गरेको महान शहादतको कथा सुनाउनु तथा आधुनिक विचारहरुबाट लैस गर्नु जरुरी छ । निश्चय नै वर्तमान गणतन्त्रमा अनेकौँ विकृतिहरु छन् र यसको निम्ती यसका वर्तमान सत्ता सञ्चालकहरु दण्डित हुनुपर्छ । तर यस्को विकल्प पुरातन होइनकि अग्रगामी मात्र हुन सक्छ । सबैलाई चेतना भया ।

Comment


Related News

Latest News

Trending News