२०७९ श्रावण ६, शुक्रबार ०७:४१

सर्लाही जिल्लाको सीमावर्ती विष्णु गाउँपालिकाबाट सशस्त्र प्रहरीले स्रोत बिनाको करिब १८ लाख नेपाली रुपैयाँ र लागूऔषध हेरोइन सहित बिहीबार एक युवकलाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतीय बजारबाट नेपाल छिरेका युवकलाई प्रहरीले चेकजाँच गर्दा १७ लाख ८२ हजार ५ सय नेपाली रुपैयाँ र ५.२७० ग्राम लागूऔषध हेरोइन समेत बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीको प्रहरी टोलीले विशेष सुराकीको आधारमा निगरानी बढाएको थियो । सशस्त्र प्रहरी बल नम्बर १० गणका प्रमुख एसपी भरत खानियाका अनुसार पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षीय सुमन विक रहेका छन् । प्रदेश २–००६ प ३४५१ नम्बरको मोटरसाइकलमा सबार भइ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा विकलाई बिष्णु गाउँपालिकाको वडा नम्बर १ बारा उधोरण नाकाबाट पक्राउ गरिएको एसपी खानियाले बताए । एसपी खानियाका अनुसार पक्राउ परेका युवकको साथबाट ५.२७० ग्राम लागूऔषध हेरोइन पनि बरामद भएको छ । विकको साथमा रहेको १७ लाख ८२ हजार ५ सय रुपैयाँको स्रोत समेत नखुलेकोले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए । ‘विकको साथबाट ३ थान मोबाइल समेत बरामद भएको हो’ एसपी खानियाले भने, मोटरसाइकलमा लुकाएको अवस्थामा नेपाली रुपैयाँ र लागूऔषध बरामद गरिएको छ ।

बरामद भएको नेपाली रुपैयाँ आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ । लागूऔषध, मोटरसाइकल, मोबाइल सहित युवकलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आवश्यक कारवाहीका लागि बुझाइएको उनले जनाए । गत महिनादेखि प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ सीमावर्ती क्षेत्रमा नियमित रुपमा बरामद गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार ४१ लाख बढी स्रोत बिनाको नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो । त्यस अघि सशस्त्र प्रहरी बलले धनुषाको इनर्वाबाट आलुको बोरामा राखिएको स्रोत बिनाको ८२ लाख नेपाली रुपैयाँ बरामद गरेको थियो । प्रहरीले ५–१० लाख रुपैयाँ कयौं पटक बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार स्रोत बिनाको नेपाली रुपैयाँ सहित पक्राउ पर्ने नेपाली वा भारतीय नागरिकहरु भरिया मात्र रहेका छन् । उनीहरु भन्सार कार्यालयबाट सामान्य धरौटीमा रिहा हुने गरेका छन् । प्रहरीले स्रोत नखुलेको रुपैयाँ बरामदगरी कारवाहीका लागि सवारी साधन र व्यक्तिलाई भन्सार कार्यालयमा पठाएसँगै अनुसन्धानको पाटोलाई बन्द गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News