अपडेट 
२०७९ श्रावण ६, शुक्रबार ०७:४८

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७८/७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १ सय ३९ व्यापारीमाथि कारवाही गरेको छ ।

विभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीतको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाइएपछि व्यापारीमाथि कारवाही गरिएको सो कार्यालयका प्रमुख रजनीश झाले जानकारी दिए । यस्तै उक्त अवधिमा विभिन्न शीर्षकमा ३५ लाख ९० हजार ९ सय ९५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । बजार अनुगमनसँगै जिल्लामा डोर खटाएपछि गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा करिब ४७ दशमलव २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख झाले बताए । आर्थिक वर्ष २०७८/७९ मा ६ सय १६ व्यापारीको नापतौल तथा नाप्ने तोल्ने यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गरिएको, एक हजार ५ सय ७८ व्यापारीको नापतौल तथा नाप्ने यन्त्रको जाँच गरिएको, ५ सय ८६ पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको कार्यालय प्रमुख झाले जानकारी दिए । त्यस्तै सो अवधिमा नापतौलसम्बन्धी उपभोक्ताको हकहित संरक्षणका लागि ११ पटकमा ५८ व्यापारिक फर्ममा एकल, आठ पटकमा ४६ व्यापारिक फर्ममा संयुक्त अनुगमन गरिएको प्रमुख झाको भनाइ छ । यसअवधिमा नौ पटक गरी विभिन्न १७ स्थानमा डोर (अनुगमन) खटाइएको समेत प्रमुख झाले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सो कार्यालयले विभिन्न शीर्षकबाट २४ लाख ३८ हजार ९ सय ९५ राजस्व सङ्कलन गरेको थियो । दरबन्दीभन्दा कम जनशक्तिका बाबजुद पनि सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र बागमति प्रदेशका सिन्धुली तथा रामेछापमा व्यापारीले गैरकानूनी रुपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको उनले बताए । कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्न पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकैको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानूनी व्यवस्था छ । नापतौल दस्तुर तथा जरिवाना दस्तुर कम भएको र कानूनी कारबाही प्रक्रियासमेत झन्झटिलो भएकाले व्यापारीलाई कालोबजारी गर्न सजिलो भएको सो कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News