प्रतिनिधि सभामा लामो समयदेखि अनिर्णित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ शुक्रवार बहुमतले पारित भएको छ ।
नागरिकता विधेयक पारित गर्न प्रतिनिधि सभाको कार्यसूचीमा रहेका अन्य विधेयकहरुलाई हटाइएको थियो । प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी सो विधेयकको विपक्षमा रहेका थिए । प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै विधेयकको विपक्षमा मतदान गरेका हुन् । सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए । तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारले संसदमा दर्ता गराएको विधेयकमा वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र दिने प्रस्तावलाई संशोधित विधेयकबाट हटाइएको छ ।वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी प्रावधान हटाइएकाले नेपाली नागरिकसित विवाह गरेका विदेशीले तत्काल नागरिकता पाउने विषयमा अल्मल देखिएको छ । २०४७ को संविधानमा विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता दिन विदेशको नागरिकता त्याग्ने कारबाही चलाएको हुनुपर्ने भनिएको थियो ।
अन्तरिम संविधान बनेपछि नागरिकता ऐन संशोधन गरेर नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलाले बिहे दर्ता गरेर नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने प्रावधान राखिएको थियो ।नयाँ संविधान २०७२ ले वैवाहिक अंगीकृत नागरिकताबारे कुनै नयाँ व्यवस्था गरेको छैन । तत्कालीन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली नागरिकसँग विवाह गरेर नेपाल आई नेपालमा निरन्तर ७ बर्ष बसेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान राख्यो । मधेश केन्द्रीय दलहरु त्यसमा सहमत भएनन् । नयाँ विधेयक ल्यायो, जसमा वैवाहिक अंगीकृत नागरिकता पाउन ७ वर्षे समयसीमा राख्ने व्यवस्था छैन । अर्थात् अहिले पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तिको प्रक्रिया अघि बढाउन सक्नेछन् । नेकपा एमालेले ७ वर्षे प्रावधान राख्नुपर्ने भन्दै राखेको संशोधन अस्वीकृत भयो । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेपछि नागरिकता लिने प्रक्रिया सुरु गर्न सक्ने व्यवस्थाले निरन्तरता पाएको छ । २०७५ साउन २२ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१ असारमा फिर्ता लिएर नयाँ नागरिकता विधेयक दर्ता गरेको थियो । जसलाई शुक्रबार प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा समयसीमा राख्नुपर्ने विषयमा धेरै सांसदले संसोधन प्रस्ताव दर्ता गराएका थिए ।
विधेयकमाथिको दफावार छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरुले आफ्नो प्रस्ताव फिर्ता लिए । प्रतिनिधि सभाबाट पास भएको नागरिकता विधेयकले वैवाहिक अंगीकृत नागरिकता कसरी कुन विधिबाट दिने भन्ने प्रावधान समेटेको छैन । यसबारेमा पछि राजनीतिक दलबीच छलफल गरेर टुङ्गोमा पुग्ने गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभामा जवाफ दिए । अन्तरिम संविधान–२०६३ मा भएको नागरिकतासम्बन्धी कतिपय व्यवस्था २०७२ मा संविधानसभाले जारी गरेको संविधानले परिवर्तन ग¥यो । त्यसपछि नागरिकता ऐनलाई नयाँ संविधान अनुकूल बनाउनका लागि संशोधन गर्नुपरेको हो । त्यही कारण सरकारले २०६३ सालको नागरिकता ऐनलाई संशोधन गर्न विधेयक ल्याएको हो । तर प्रतिनिधिसभामा दर्ता भएको करिब चार वर्षपछि शुक्रबार पारित भएको हो । यसले जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानको नागरिकता, गैरआवासीय नागरिकता लगायतका विषयलाई सम्बोधन गरेको छ । अन्तरिम संविधान–२०६३ ले २०४६ साल चैत मसान्तसम्म नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेका व्यक्तिलाई जन्मको आधारमा नागरिकता दिने व्यवस्था ग¥यो । संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएकाहरुको १६ वर्ष उमेर पुगेका सन्तानले वंशजको आधारमा नागरिकता लिन सक्ने प्रावधान पारित भएको विधेयकमा छ ।
नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेका र बाबुको पहिचान नभएका व्यक्तिले भने अब आमाको नामबाट नागरिकता पाउने छन् । नागरिकता विधेयक राष्ट्रियसभाबाट पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि गैर आवासीय नेपालहरुले पनि नेपाली नागरिकता लिन सक्छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा अघि सार्दै नागरिकताका लागि लबिंग गर्दै आएका थिए । प्रतिनिधि सभाबाट पारित भएको विधेयकमाथि अब राष्ट्रियसभामा छलफल हुनेछ ।राष्ट्रिय सभामा पनि सत्तासीन गठबन्धनको बहुमत रहेकाले सो विधेयक सहजै पारित हुने देखिन्छ ।राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नेछिन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY



