धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष जयकुमार यादवले पालिकाभित्रको जनतालाई निः शुल्क दन्त सेवा उपलब्ध गराउने भएका छन् ।
गाउँपालिकाका जनतालाई निःशुल्क दन्त सेवा उपलब्ध गराउन मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष जयकुमार यादव र अप्पन डेन्टल चेम्बर्सका अध्यक्ष डा.अजय कुमार साहवीच शुक्रवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जनकपुरधाम उपमहानगरपालिका –९ स्थित रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानद्वारा संचालित अप्पन डेन्टल चेम्बर्सले मुखियापट्टी मुसहर्निया गाउँपालिकाका स्थानीयहरुलाई सम्झौतापत्रमा हस्ताक्षर भएको मितिदेखि ४ वर्षसम्म निःशुल्क दन्त सेवा उपलब्ध गराउने डा. अजय कुमार साहले जानकारी दिए । सम्झौतापत्रमा निःशुल्क दन्त सेवाअन्तर्गत दन्त र मुख परीक्षण र दाँत झिक्ने सेवा सवै उमेरका लागि उपलब्ध गराउने र जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग, असशक्तको हकमा अस्थाई दाँत समेत राख्ने गरी सहमति भएको छ ।
निःशुल्क दन्त सेवा अप्पन डेन्टल चेम्बर्सको कार्यालय अस्पताल रोडबाट उपलब्ध गराइनेछ । सार्वजानिक विदाको दिनबाहेक दैनिक १० बजेदेखि २ बजेसम्म मुखियापट्टी मुसहर्नियाका जनताले निःशुल्क दन्त सेवा लिन सक्ने गाउँपालिका अध्यक्ष जयकुमार यादवले बताए ।

