अपडेट 
२०७९ श्रावण ७, शनिबार ०७:३२

वटेश्वर गाउँपालिका–१ साविकको लक्ष्मीनिवास गाविसस्थित स्वास्थ्य चौकीमा खानेपानी र बिजुली नहुँदा कर्मचारी तथा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको छ ।

लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको साविकको स्वास्थ्यचौकीलाई दुई वर्षअघि मानववस्तीभन्दा टाढा चौरीमा सारिएको थियो । मानववस्ती भन्दा एक किलोमिटर टाढा आँपको बगैचामा सारिएको स्वास्थ्य चौकी सञ्चालनमा खानेपानी र बिजुलीवत्ती अहिलेसम्म जडान हुन सकेको छैन् । बिजुली तथा खानेपानीको व्यवस्था नहुँदा गर्मी र वर्षायाममा काम गर्न कठिनाई भई रहेको स्वास्थ्यचौका इन्चार्ज श्याम साहले बताए । बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न भवन निर्माण गरिएपनि हालसम्म बिजुली र खानेपानीको व्यवस्था नहुँदा कर्मचारीहरु चर्को गर्मी भएर आपँको गाछीको छहारीमा बसेर विरामीलाई स्वास्थ्य उपचार गर्न बाध्य छन् । चर्को गर्मीले गर्दा विना बिजुलीको कार्यकक्षमा बसेर विरामी उपचार गर्ने सम्भव नभएर आँपको गाछीको तल छहारीमै चिकित्सकहरु बसेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्यकर्मी रमेश महतोले जानकारी दिए । उनले स्थानीय जनप्रतिनिधिको बेवास्ताका कारण चर्काे गर्मीको समयमा आपँको रुखको तल बसेर स्वास्थ्यसेवा दिनुपर्ने बाध्यताको साथै खानेपानीको व्यवस्था घरबाटै गरेर ल्याउनुपरेको बताए । स्वास्थ्य चौकीमा हाल एकजना वरिष्ट अहेव, २ जना हेल्थ असिस्टेन्ट, २ जना अनमी, एकजना अहेव र एकजना कार्यालय सहयोगी कार्यरत रहेका छन् । स्वास्थ्यचौकी सञ्चालनको लागि गाउँपालिकाको बजेटबाट बनाइएको भवनमा बिजुलीको समस्या र खानेपानीको समस्या रहेको छ ।

खानेपानीको लागि धाराको पाइप जडान गरिएको छ तर पाइप वीच वीचमा फाटेकाले गर्दा फोहोर पानी आउने गरेको छ । स्वास्थ्यचौकीको प्राङ्गणमा डिप टयुवेल जडान छ तर बिजुली अभावले गर्दा सञ्चालन हुन नसकेको स्वास्थ्यकर्मी अम्रेश सिंहले बताए । चौरीमा सारिएको स्वास्थ्यचौकीमा पर्खाल छैन । पर्खाल नभएकाले गर्दा राति र सार्वजानिक विदाका दिन बाहिरका मानिस भवनको माथिबाट पसेर मेडिकल सामग्री र औषधि चोर्ने गरेको गुनासो उनले गरे । स्वास्थ्यचौकी इन्चार्ज श्याम साहका अनुसार मानव वस्तीबाट टाढा आँप बगैचामा सारिएको स्वास्थ्यचौकीमा आउन जान समेत डर लाग्ने गरेको छ । उनले सुनसान चौरीमा सारिएको स्वास्थ्यचौकी वरिपरि बाँदर, बँदेल, निलगाईलगायतको जंगली जनावरहरु हुलका हुल आउने गर्दछ, हामी स्वास्थ्यकर्मीहरुलाई समेत दिउँसै स्वास्थ्यचौकीमा बस्न अप्ठयारो महसुस हुने गरेको बताए । चौरीमा सारिएको स्वास्थ्यचौकीमा सेवाग्राहीहरुलाई समेत सेवा लिन आउन समस्या भई रहेको छ । सेवाग्राही एक्लै आउन समस्या रहेकाले अधिकांश सेवाग्राही नआउने गरेको बताए । चौरीमा हेल्थ पोस्ट भएका कारण बिरामी आउन नचाहेको उनले बताए । बिरामी आएपनि गाउँपालिकाबाट समयमा औषधि आपूर्ति हुन नसक्दा फर्केर जाने गरेको इन्चार्ज साहले जानकारी दिए । बटेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोक कुमार महतोका अनुसार आपूm निर्वाचित हुनु पूर्व नै स्वास्थ्यचौकी सवै दलको सहमतिमा सारिएको छ । मानववस्ती भन्दा टाढा राखिएकोले विजुली पुप्याउने हाम्रो चाहना हो । तर चौरी भएकाले गर्दा बिजुली पुर्याउनका लागि धेरै रुख काटनुपर्ने भएकाले गर्दा समस्या भई रहेको बताए । बिजुलीवत्तीको लागि पोल गाडिएको भएपनि सडक छेउमा पर्ने रुखधनीहरुले रुख नकाटेकोले गर्दा समस्या भई रहेको बताए । आपूmले चाँडै जग्गाधनीहरुसंग समन्वय गरेर समस्या समाधान गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News