जानकी मन्दिरका महन्त राम तपेश्वर दास बैष्णवले मनपरी ढंगले लगानी गरेको तथ्य सार्वजनिक भएको छ ।
यसै अन्र्तगत धनुषाको नगराईन नगरपालिका—५ गंगुलीस्थित मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र सञ्चालनमा रहेको तथ्य फेला परेको छ । सो अनुसन्धान केन्द्र ३ बिग्घा १५ कट्ठा जग्गामा करिब ६० हजार स्क्वायर फिटको भवनमा सञ्चालित छ । २०६३ सालमा सञ्चालनमा ल्याइएको अनुसन्धान केन्द्रमा न त पठनपाठन हुन्छ न त अन्य सेवा नै रहेको छ । नेपाल संस्कृत विश्वविद्यालयबाट मान्यता प्राप्त गरी सञ्चालनमा ल्याइएको यो कलेजको सम्बन्धन अहिले खारेज गरिसकिएको छ । र, यसका सम्पूर्ण जग्गा र भवन व्यक्तिका नाममा नामसारी गरिएको छ । दासले २०६२ सालमा केन्द्रलाई कानूनी रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराएका थिए। नाफामूलक व्यवसायका रूपमा दर्ता गराइएको यस कम्पनीलाई मूर्तरूप दिन दासको निकट मानिएका निर्मला ठाकुरले आफ्नो निजी जग्गा उपलब्ध गराएकी थिइन् । ठाकुरले करिब ४ बिघा जग्गा कम्पनीको नाममा साढे ६ लाख रुपैयाँमा राजीनामा गरेको कागजी प्रमाण छ । जग्गा प्राप्ति भएपछि दासले कलेज स्थापनाका लागि प्रक्रिया सुरु गरेका थिए । कम्पनीको सुरुआतमा चुक्ता पुँजी १ करोड २५ लाख देखाइएको थियो। जसमध्ये दासको नाममा रहेको लगानी ८५ लाख थियो जो कि कुल पुँजीको ६८ प्रतिशत हुन आउँछ भने ठाकुरको नाममा ४० लाख लगानी देखाइयो जो कुल पुँजीको ३२ प्रतिशत हुन जान्छ ।
मन्दिरको पूजाआजा गर्नुबाहेक अन्य पेसामा संलग्न नरहेका दासको मूल आम्दानीको स्रोत मन्दिर नै हो । कम्पनी दर्ता गर्दा देखाउनुपर्ने ३ पुस्ते दस्तावेजमा पनि दासले मन्दिरका पूर्वमहन्त स्वर्गीय रामशरण दासलाई गुरु पिता र बाजेको नाममा रामशरण दासका गुरु स्वर्गीय नबल किशोर दासलाई राखेका छन्। यसरी आफू मन्दिरको प्रतिनिधि पात्रका रूपमा सो कम्पनी दर्ता गराएको देखिन्छ । कलेजको सबै भौतिक निर्माण जानकी मन्दिरले नै गराएको हुनाले दासको नाममा रहेको ६८ प्रतिशत लगानी मन्दिरको सम्पत्ति रहेको कानूनी रूपमा देखिएको छ । मन्दिरकै लगानीमा सञ्चालित अनुसन्धान केन्द्र दासको नाममा रहेको शेयर २०७४ सालमा ठाकुर र अनुराधा पाण्डेयको नाममा बेचिएको पाइन्छ । दासले ८५ लाखको आफ्नो शेयरमध्ये ६० लाख निर्मलाको नाममा र २५ लाख अनुराधाको नाममा बिक्री गरेको प्रमाण छ । शेयर खरिद गरेकी अनुराधा निर्मलाको नातामा भान्जी पर्छिन्। ११ वर्षमा जग्गा र भवनको मूल्यांकन ५० गुणासम्म बढे पनि दासले शेयर पुरानै मूल्यांकनमा बिक्री गरेका छन् । तर, शेयर जे जसरी बिक्री गरिएको भए पनि सो रकम जानकी मन्दिरको आम्दानीमा दाखिला हुनुपर्नेमा त्यसो भएको पाइँदैन ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

