लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पछिल्लो समय नेकपा एमालेसँग टाढिन थालेको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता विधेयकलगायत मधेशका माग पुरा गर्ने आश्वासन दिएदेखि नै लोसपाले एमालेसँग दूरी बढाउन थालेको छ । कांग्रेस नेतृत्वको गठबन्धन सरकारले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गरिसकेको छ । नागरिकता विधेयक पारित भएसँगै लोसपा एमालेसँग झन् टाढिएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नागरिकताको समस्या अध्यादेशमार्फत समाधान गरेका थिए । त्यतिबेला ओलीले जसपाभित्र ध्रुवीकरण भइरहेको समयमा महन्थ ठाकुर पक्षलाई विश्वासमा लिन नागरिकता सम्बन्धी अध्यादेश ल्याउनका साथै मधेशका अन्य माग पुरा गर्ने प्रक्रिया थालेका थिए । यतिमात्र होइन, ठाकुर नेतृत्वको समूहलाई ओलीले सरकारमै सहभागी गराएका थिए । सरकारबाट ओलीको बहिर्गमनपछि जसपाभित्रको कलह थप बढ्नुका साथै पार्टी नै विभाजन भएर लोसपा गठन भएको थियो ।
लोसपा गठनपछि एमाले र लोसपाबीचको सम्बन्ध सुमधुर नै थियो । पछिल्लो समय भने लोसपाले एमालेको तुलनामा कांग्रेसलाई महत्व दिन थालेको छ । प्रधानमन्त्री देउवाले पनि पटकपटक लोसपा अध्यक्ष ठाकुरसँग छलफल गरेका छन् । छलफलमा उठेका विषयप्रति गम्भीर हुँदै प्रधानमन्त्री देउवाले मधेशका माग पुरा गर्ने आश्वासनमात्र दिएनन्, प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित गराएपछि लोसपाले कांग्रेससँगको निकटतालाई अझ बढाउने संकेत दिएको छ । लोसपाका एक कार्यकारिणी समिति सदस्यले एमालेसँग दूरी बढेको स्वीकार गरे । उनका अनुसार कांग्रेसले लोसपालाई गठबन्धनमा सामेल हुन प्रस्ताव गरेपछि लोसपाले नागरिकता समस्यालगायत मधेशका माग पुरा भएमात्र गठबन्धनमा सामेल हुने अडान राखेको थियो । उनले भने, ‘नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भयो । अन्य मुद्दाको बारेमा दुई पक्षले बनाएको समितिले अध्ययन गरिरहेको छ ।’ यसले गर्दा लोसपा स्वाभाविक रुपमा कांग्रेससँग निकट भएको उनको भनाइ छ । उपसभामुखका लागि चुनाव हुँदा लोसपाले कांग्रेसलाई साथ दिएको थियो ।
एमालेले भने त्यतिबेला लोसपाबाट साथ पाउने अपेक्षा गरेको थियो । तर लोसपाले कांग्रेसलाई साथ दिएपछि एमालेले चित्त दुखाएको छ । संघ तथा प्रदेशको चुनावमा एमाले र लोसपाबीच चुनावी गठबन्धन गरेर जाने सन्दर्भमा दुबै दलको बीचमा छलफल चलिरहेको समयमा लोसपाले कांग्रेससँग निकटता बढाएपछि एमाले सशंकित बनेको छ । लोसपाका ती नेताले भने, ‘ जबसम्म कांग्रेससँग गठबन्धनका बारेमा टुङ्गो लाग्दैन, तबसम्म एमालेसँग सम्बन्ध तोडिँदैन, एमालेसँग गठबन्धन गर्ने सम्भावना अझै पनि छ तर अहिलेको अवस्था हेर्दा एमालेको तुलनामा कांग्रेससँग लोसपा निकट भएको हो ।’ मधेशको माग मुद्दा जसले सम्बोधन गर्छ, लोसपाले उसैलाई साथ दिने ती नेताले प्रस्ट पारे । अहिलेको सन्दर्भमा कांग्रेसले नागरिकता समस्या समाधानका लागि पहल गरेका कारण कांग्रेससँग लोसपाको निकटता बढेको उनको भनाइ छ । लोसपाका कार्यकारिणी सदस्य अकवाल मियाँ पनि यही तर्कमा सहमत छन् । उनले भने, ‘यसअघि हाम्रो माग एमालेले पुरा गरिरहेको थियो, त्यो अर्थमा हामी एमालेको साथमा थियौं, अहिले कांग्रेसले हाम्रो माग पुरा गरेको छ, हामी कांग्रेसको साथमा छौं ।’ आफूहरुको माग पुरा गरेका कारण स्वाभाविक रुपमा अहिले कांग्रेससँग नजिक भएको प्रस्ट पार्दै उनले एमालेसँग सम्बन्ध नै तोडेको भनेर अर्थ लगाउन नमिल्ने बताए । ‘अहिले कुन पार्टीसँग गठबन्धन गर्ने भन्नेबारे लोसपामा स्पष्ट भएको छैन,’ उनले भने, ‘मुद्दाका आधारमा कुनै दलसँग नजिक वा टाढा भए पनि गठबन्धनको बारेमा निर्णय लिन बाँकी छ ।
’ स्रोतका अनुसार लोसपामा गठबन्धन बनाउने विषयमा पनि दुई धार छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो एमालेसँग गठबन्धन हुनुपर्ने पक्षमा छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर कांग्रेससँग गठबन्धन गर्ने पक्षमा छन् । एमालेसँग गठबन्धन भयो भने धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोलाई फाइदा हुन्छ भने महोत्तरीमा महन्थ ठाकुरलाई गाह्रो हुन्छ । कांग्रेससँग गठबन्धन भयो भने महन्थ ठाकुरलाई महोत्तरीमा फाइदा हुन्छ भने महतोलाई धनुषामा गाह्रो हुन्छ । त्यही भएर दुवैजनाले आ–आफ्m् नो स्वार्थ अनुसार गठबन्धनका लागि लबिङ गर्न थालेका छन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

