राजविराज नगरपालिकाका उपमेयर इसरत परबीनलाई अहिले भ्याइ न भ्याइ छ । २ महिना अघि उपमेयरमा निर्वाचित भएकी उनी यति बेला मेयरको पनि जिम्मेवारी सम्हाल्न पुगेपछी बढेको कार्यव्यस्तताले भ्याइ न भ्याइमा परेकी छन् ।
उनी एकाविहानै उठी घर व्यवहार गरी नगरपालिका कार्यालयमा पुगेर मेयरको जिम्मेवारी निर्वाहमा तल्लीन हुने गर्छिन । २०७४ सालमा राजविराज ७ स्थित राजरंगशालाको स्तरोन्नति कार्य गर्दा निर्माण कम्पनी न्यू गहिल कन्ट्रक्शनले गरेको काम भन्दा २ लाख ६३ हजार बढी भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कम्पनीका तत्कालीन संचालक समेत रहेका राजविराज नगरपालिकाका नव निर्वाचित मेयर भीमराज यादव विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि हाल उनी निलम्वित अवस्थामा छन् । यद्यपि मेयर यादवले यस्तो कुनै अनियमितता नगरेको र ५ वर्ष अघि सम्पन्न निर्माण कार्यको विषय ब्यूँत्याएर आफूलाई फसाउन खोजिएको दाबी गर्दै अदालतबाट आफू न्याय पाउने विश्वास ब्यक्त गर्दै आएका छन् । मेयर नहुँदा सोको पनि जिम्मेवारी सम्हाल्न पुगेकी उपमेयर परबीन दोहोरो जिम्मेवारीले कार्य बोझ र कार्य व्यस्तता निकै बढाएको बताउँछिन । “अप्ठेरो त छ, उनले भनिन–“तर सबै कर्मचारी र जनप्रतिनिधिको सहयोगले उत्साहित भएर अघि बढेकी छु ।” उनले प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवसहित सबै कर्मचारीले पनि कार्यसम्पादनमा उत्तिकै सहयोग गरिरहेको बताइन । स्थानीय तहमा जनप्रतिनिधि भएर आउने उनको पहिलो अनुभव छ । शुरुमा मेयरको समेत कार्यभार थपिँदा निकै अप्ठेरो लाग्यो, उनले भनिन–“तर निलम्वित मेयर यादव बाहिर वसेर पनि हौसला, साथ र सहयोग दिन थालेपछि काम गर्न सहज भएको छ ।” उनले नगरपालिकाद्वारा संचालित विकास निर्माण कार्यमा आफू प्राविधिक सहितको टोली लिएर अनुगमन गर्ने गरेको र मापदण्ड अनुसारको काम भएकालाई मात्र भुक्तानी दिने गरिएको बताउँदै भविष्यमा हुने यस्ता काममा सम्बन्धित निर्माण कम्पनी र उपभोक्तालाई गुणस्तरीयताको ख्याल राख्न सचेत पनि गराएकी छन् ।
राजविराज नगरपालिकाका मेयर र उपमेयर दुबै जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन् । पार्टीले पनि आफ्नो काममा साथ, सहयोग र हौसला दिने गरेको उनी सुनाउँछिन । सबैको विश्वासमा आफू खरो उत्रिने गरी काम गरिरहेको र नगरपालिकामा आफूलाई सबैले साथ दिइरहेकोले सुधार र विकासका संकेतहरु छिट्टै देखिने उनी बताउँछिन । उनको मुख्य जिम्मेवारीमा पर्छ न्याययिक समिति । ती जिम्मेवारी पनि कुशलतापूर्वक उनी निर्वाह गर्न थालेकी छिन । स्थानीयतहको सेवा संचालन ऐन तथा व्यवस्था सम्बन्धी आदेशको पुरै अध्ययन गरी सकेको बताउँदै उनले यसै आधारमा अघि बढ्दा खासै समस्या न हुने गरेको सुनाईन । “जेष्ठ नागरिकलाई खान लाउन नदिएको, जग्गा मिचेको, अर्काको घर जग्गालाई असर पर्ने गरी संरचना निर्माण गरेको, घेरवार गरेको, अंश नदिएको, मिटर ब्याज लिएको, दाईजोको निहँुमा घर निकाला गरेको लगायतका समस्या लिएर न्यायिक समितिमा आउने गरेको संख्या पनि उत्तिकै छ, उनी भन्छिन–“दस्तावेजको आधारमा अध्ययन र कानूनी सल्लाहकार संग दफा उपदफा सबै केलाएर न्याय दिने काम छिटो छरितो बनाएका छौं ।” उनले संविधानले दिएको अधिकार क्षेत्र भित्रै रहेर न्यायिक समितिमा आउने मुद्दालाई टुग्याउँने गरेको बताइन । उनले अधिकाँश मुद्दामा मिलापत्र गराइएको, कतिपयमा कडा निर्देशन दिएको र क्षेत्राधिकार बाहिर रहेका केही मुद्दा अदालतमा पठाइएको जानकारी दिइन । उनका श्रीमान् समिम कानून व्यवसायी छन् । उनले पनि यस्ता विवाद निरुपण र न्याय सम्पादन कार्यमा निकै मद्दत गर्ने गरेको उपमेयर परबीन सुनाउँछिन । “घर सल्लाह भयो, मलाई परिवारले आफ्नो इच्छा अनुसार सामाजिक र राजनीतिक क्षेत्रमा लाग्न प्रेरित गरेकोले घरको पर्खाल नाघेर समाज सेवा तर्फ लागे, उनी भन्छिन– जनताको मन जितेर यहाँ सम्म आइपुगें ।
” नेपालकै पुरानो टाउन प्लानिङ्ग भएको नगर राजविराजलाई सुन्दर र व्यवस्थित बनाउन नगरपरिषद्बाट विभिन्न योजना पास भई कार्यान्वयनको दिशामा अघि बढेको उनको भनाइ छ । उनले नगर विकासको मुद्दा सबैको साझा भएको भन्दै यस कार्यमा नगरपालिकाका पूर्व मेयर,कानून व्यवसायी, बुद्धिजीवी सबैबाट उचित सहयोग र सुझावका लागि आग्रह समेत गरेकी छन् ।

