जानकी मन्दिरको सौन्दर्यकरणमा व्यापक अनियमितता भएको पाइएको छ ।
मधेश प्रदेश सरकारले जानकी मन्दिरको सौन्दर्यकरणका लागि लगाइएको मार्वल गुणस्तरहीन रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार जानकी मन्दिर प्रांगणमा मापदण्डविपरीतका गुणस्तरहीन मार्बल प्रयोग गरेको र त्यहाँ करोडौंको अनियमितता भएको उल्लेख छ । पुरातत्व विभाग केन्द्रीय कार्यालय र गुठ्ठी संस्थान केन्द्रीय कार्यालयले जानकी मन्दिरमा सुझाएको मार्बल र टाईल्स भन्दा फरक कम मूल्यका सामग्री लगाइएको प्रतिवेदनमा उल्लेख छ । मन्दिर प्रांगणमा विभिन्न रंग मार्बल बिछाउने सम्झौता भएकोमा पुरातत्व विभागले सेतो रंगको मार्बल मात्र प्रयोग गर्न भनेको थियो। यो विषयमा मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमति भए पनि काम गर्दा भने सहमतिलाई बेवास्ता गरिएको छ ।
गुठ्ठी संस्थान र पुरातत्व विभागले सिफारिस गरेको भन्दा कम मूल्य भएको कमअसल मूल्यका रंगीन मार्बलहरू प्रयोग गरिएका छन्। जसले गर्दा मन्दिरको सौन्दर्यकरणमा पनि प्रभाव परेको छ। रंगीन मार्बल ४ हजार र सेतो मार्बल ५ हजार ३ सय रुपैयाँ प्रतिवर्गमीटरका दरले खरिद सम्झौता भएको थियो। सुरुको सम्झौतामा सेतो मार्बल १९४५.०८ वर्गमिटर रहेकोमा तेस्रो बिलसम्म ६ हजार ५ सय ७६ वर्गमिटर देखाएर ३ करोड ४८ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरिएको छ। तर किनिएको सेतो मार्बल अधिकांश गुणस्तरहीन रंगीन मार्बल प्रयोग गरिएको छ। सेतो मार्बलको स्थानमा प्रयोग भएका रंगीन मार्बलको मूल्य घटाउँदा सम्झौताभन्दा ६० लाख २१ हजार रुपैयाँ बढी भुक्तानी गरिएको पाइएको छ । महालेखाको प्रतिवेदनमा मापदण्डविपरीत रंगीन मार्बल प्रयोग गरिएको र गुणस्तरहीन मार्बल भएको कारण ठाउँ–ठाउँमा चर्किन थालेको उल्लेख छ ।
जानकी मन्दिर सौन्दर्यकरण अन्तर्गत एक वर्षमा मर्मत सम्भार गर्ने २०७५ मंसिर १७ गते ६ करोड ७५ लाख ४६ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो। तर, समयमा काम सम्पन्न हुन नसक्दा २०७८ साल सम्मको म्याद थप गरिएको थियो । मार्बल बिछ्याउने कार्यमा मात्रै आव ०७७/०७८ सम्ममा १ करोड ४० लाख ३५ हजार र २ करोड ९० लाख ७९ हजारसहित दुई पटक गरी निर्माण व्यवसायीलाई ४ करोड ३१ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

