अपडेट 
२०७९ श्रावण ११, बुधबार ०८:०१

विद्यालय एउटा स्थायी संस्था हो । नेपालको अहिलेको ऐन कानुनले विद्यालयमा व्यवस्थापन समितिको व्यवस्था गरेको छ । यो अनिवार्य व्यवस्था हो । अझ कतिपय अवस्थामा त यो पनि व्याख्या गरिएको पाइन्छ कि विद्यालय व्यवस्थापन समितिको अभावमा विद्यालयको कल्पना पनि गर्न सकिन्न । अर्थात् विद्यालयमा विद्यालय व्यवस्थापन समिति (विव्यस) नभई हुँदैन तर अहिले पनि धेरै विद्यालय यस्ता छन् जहाँ विव्यस छँदै छैन । औपचारिक रुपमा विव्यस नभएको भए पनि विद्यालयले काम चलाइरहेको हुन्छ । यसरी काम चलाउँदा सामान्यतया शिक्षक कर्मचारीको संयुक्त बैठकले गरेको निर्णयलाई कार्यान्वयन गराइन्छ । यो कतिपय अवस्थामा मात्र लागू हुन्छ ।

सदैव लागू हुन सक्दैन अर्थात् विव्यस नभई नहुने अवस्थामा शिक्षक कर्मचारीको बैठकको गरेको निर्णय काम लाग्ने हुँदैन । यसबाट यो सिद्ध हुन्छ कि विव्यस अनिवार्य संरचना हो विद्यालय तहमा । विव्यस अनिवार्य संरचना भए पनि यसको प्रकृति भने स्थायी किसिमको रहेको छैन । यसले गर्दा विद्यालयमा विव्यस गठन गर्नु भनेको जहिले पनि जुनसुकै विद्यालयका प्रअका लागि टाउको दुखाइ हुने गरेको छ । टाउको दुखाइ किन हुने गरेको छ भने विव्यसको गठनमा धेरैले आफ्नै किसिमले अभिरुचि राखेका हुन्छन् । विद्यालयमा हुने आम्दानीबाट धेरैले फाइदा लिन चाहेका हुन्छन्, सामाजिक प्रतिष्ठा बढाउन चाहेका हुन्छन् र आफ्ना मानिसलाई विभिन्न पदमा नियुक्ति दिलाउन खोजेका हुन्छन् । अझ विद्यालयमा हुने विकास तथा निर्माणको कामबाट पनि कतिपय अवस्थामा फाइदा लिन सकिने ठाउँ पनि हुन्छ । अझ विद्यालयमा यदि आफ्नै स्रोतको आम्दानी छ भने त्यसलाई परिचालन गर्न पनि सजिलो हुन्छ । साथै शिक्षकहरुमाथि रजाईँ गरेको अनुभूति पनि कतिपयमा हुने गरेको छ । यी र यस्ता कारणले नै विद्यालयको विव्यसमा धेरैको अभिरुचि रहने गरेको छ । अझ कपितयको बुझाइ यो पनि रहेको छ कि विद्यालय नै राजनीतिको केन्द्र हो । यदि विद्यालयको राजनीतिमा सफल भइयो भने धेरै हदसम्म अन्य राजनैतिक वातावरणमा सफल हुन सजिलो हुन्छ । कपितय यस्ता मानिस छन् जो राजनीतिमा सफल छन्, तिनले बताउने गरेका पनि छन् कि विव्यसमा गएपछि मलाई समाजसेवातर्फ आकर्षित हुने अवसर प्राप्त भएको हो र राजनीतिमा आएको हुँ ।

विव्यसको राजनीति आफ्नै किसिमको हुन्छ तर यसको गठन भने अभिभावकबाट हुने गर्दछ । अभिभावकहरुको भेलाले चयन गर्ने भएकोले नै यसले केही बढी आकर्षण पाएको हो कि भन्ने भनाइ छ । साथै विद्यालयका प्रधानाध्यापकको मुख्य जिम्मेवारी भन्नु चाहिँ विद्यालयको प्रशासन र पठनपाठन भएकोले अभिभावक भेला बोलाएर विव्यस गठन गर्नु फलामको चिउरा चपाउनु सरह हुने गरेको छ । अधिकांश विद्यालयमा विव्यस हुन नसक्नुको कारण यही हो । नियमावलीले त के भन्दछ भने विव्यसको म्याद गुज्रिनुभन्दा पहिले नै विव्यस गठनको प्रक्रिया सुरु गर्नु पर्छ । विव्यसको म्याद तिन वर्षको हुन्छ तर कतिपय विद्यालय यस्ता छन् जहाँ सजिलै पाँच सात वर्षसम्म त्यही विव्यसलाई कायम राखिन्छ । विव्यस कायम राख्नु एक किसिमले नियमसंगत होइन तर अभिभावक भेला बोलाएर विद्यालयमा नयाँ विव्यस गठन गर्नु प्रअको लागि जहिले पनि चुनौती नै हुन्छ । अभिभावक भेला जहिले पनि चुनौतीपूर्ण भइरहने कारणमा यो पनि एक हो कि अभिभावकले जहिले पनि सम्बन्धित विषयमा केन्द्रित नरहेर जथाभावी र जहाँतहीबाट प्रश्न गर्न खोज्दछन्, प्रअलाई तल देखाउन खोज्दछन् । साथै विव्यस गठनको लागि हुने भेलाको खर्च पनि पु¥याउन धेरैलाई सजिलो हुँदैन । जे होस् र जतिसुकै राम्रो कुरो होओस्, विव्यस गठन एउटा चुनौती नै भएकोले प्रायः विद्यालयमा विव्यसको म्याद सकिँदा पनि अन्य निकाय वा व्यक्तिले ताकेता गर्न थालेपछि वा अन्य कारणले विव्यसको गठन अत्यावश्यक भएपछि बल्ल प्रअको ध्यान अनिच्छापूर्वक विव्यसको गठनमा जान्छ । सायदै कोही यस्तो प्रअ होलान् जो नियमानुसार स्वेच्छापूर्वक विव्यस गठनको लागि समयमै सार्थक प्रयास गर्दछन् ।

हैनभने औपचारिक प्रयास गर्ने र अलिकति अवरोध सिर्जना हुने स्थिति आयो वा प्रतिकूल हुने अवस्थामा सोझै सूचना प्रकाशित गरेर गठन प्रक्रिया स्थगित गर्ने गरेको पाइन्छ । विव्यसलाई जसरी अनिवार्य गरिएको छ, त्यसरी अनिवार्य र सममै गठन गर्नुपर्ने गरी अन्य कुनै निकायले समन्वय गर्ने गरेको पाइएको छैन । यदि विव्यस गठनमा जिम्मेवार भएर कुनै निकायले विद्यालयसित समन्वय गर्ने हो भने सम्भवतः अहिलेको जस्तो विव्यस गठन गर्न प्रअले खुट्टा कमाउनु पर्ने तथा विद्यालयहरु विव्यसविहीन भइरहनु पर्ने अवस्था नआउला कि ? साँच्चिकै विद्यालयमा विव्यसको स्थायी संरचना हुनु आवश्यक छ तर यो सम्भव छ कि छैन त ? वर्तमान ऐनले थोरै रोकावट गरेको देखिन्छ तर यसलाई फुकाउने हो भने असम्भव छैन । यदि निर्वाचित विव्यसको म्याद समाप्त हुन्छ भने म्याद समाप्त हुनासाथै अर्को नयाँ गठन नहुन्जेलको लागि अन्तरिम प्रकृतिको स्थायी संरचना पनि बनाउन सकिन्छ वा म्याद सकिएपछि स्वतः अर्को परिचालित भइहाल्ने संयन्त्र बनाउन सकिन्छ । जस्तो कि वर्तमान ऐन तथा नियमावलीले के मानेको छ कि विव्यसको सदस्य सचिव सम्बन्धित विद्यालयको प्रअ स्वतः हुने हुन्छन् । यसै गरी एक जना शिक्षक अनिवार्य रहेको विव्यसमा । साथै सम्बन्धित वडाको वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ । अभिभावकबाट चयन भएर आउने सदस्यहरुबाट अध्यक्षको चयन हुनुपर्ने भनिएको छ । यदि विव्यस गठनमा समस्या भएमा वा विव्यसको म्याद सकिएमा यही सरचनालाई केही थपघट गरेर स्थायी समितिको बनाउन सकिन्छ । जुन विद्यालयमा विव्यस छैन, वा विव्यसको म्याद सकिएको छ भने सम्बन्धित पालिकाको उपप्रमुखलाई स्वतः अध्यक्ष रहने वा उपप्रमुखको पदावधि सकिएमा सम्बन्धित पालिकाको शिक्षा प्रमुख स्वतः कार्यवाहक अध्यक्ष बन्ने व्यवस्था हुनुपर्छ ।

यसै गरी वडाध्यक्ष पदेन रहेको अवस्थामा यदि वडाध्यक्षको पनि म्याद सकिएको छ वा निर्वाचित वडाध्यक्ष नरहेको अवस्था छ भने त्यहाँ वडाध्यक्षको कामकाज हेर्ने वडासचिवलाई वैकल्पिक पदेन सदस्य मान्न सकिन्छ । यसै गरी विद्यालय संचालनमा रहेको ठाउँका पूर्व प्रअ वा शिक्षा शाखा, विभाग तथा मन्त्रालयमा सेवा गरी निवृत्त भइसकेका एक जनालाई अनिवार्य रुपमा आमन्त्रित सदस्यको रुपमा राख्न सकिन्छ । यसरी सम्बन्धित पालिकाबाट विव्यस अध्यक्ष, वडाबाट पदेन सदस्य, शिक्षकहरुमध्येबाट पदेन सदस्य, सेवा निवृत्त शिक्षा सेवा वा शिक्षकबाट पदेन सदस्य र प्रअलाई पदेन सदस्य सचिव हुने गरी विव्यसको पाँच सदस्यीय वैकल्पिक स्थायी व्यवस्था गर्ने हो भने अहिलेको जस्तो अवस्थाको सिर्जना हुन पाउँदैन । यस वैकल्पिक व्यवस्थाले प्रअलाई निरन्तर जिम्मेवार बनाइरहन्छ । यदि अर्को विव्यस गठन गरिएन भने उपप्रमुख तथा वडाप्रति निरन्तर जवाफदेही भइरहनुपर्छ भनेर प्रअलाई लाग्न सक्छ । साथै यदि वैकल्पिक स्थायी संरचनाको विव्यसले काम गरेर विव्यसको गठन भयो भने वैकल्पिक विव्यसमा रहेका शिक्षक, प्रअ तथा वडाध्यक्ष त गठन भएको विव्यसमा पनि रहने हुनाले जिम्मेवार हुन सजिलो हुन्छ ।

यसै गरी सम्बन्धित पालिकाको उपप्रमुख वा शिक्षा शाखाको प्रमुखले पनि सम्बन्धित वैकल्पिक व्यस्थालाई बलियो बनाउन तथा विश्वसनीय बनाउन सहयोग गर्ने हुन्छ । शिक्षा क्षेत्रमा जीवन गुजारेका एक जनाले शिक्षाको कमी कमजोरी तथा समाजको चासोको प्रतिनिधित्व पनि गर्ने सक्ने हुन्छ । यसरी विद्यालयमा एउटा वैकल्पिक वा स्थायी प्रकृतिकै विव्यसको संरचना बनाउनु आवश्यक छ । यसले विद्यालयलाई निरन्तर लयमा ल्याइरहन्छ जसबाट विद्यालय अभिभावकविहीन भएको अनुभूति हुन पाउँदैन ।

Comment


Related News