चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले मधेश प्रदेश सरकारबिरुद्ध सडकमै सुतेर बिरोध जनाउने भएको छ ।
१५ गत्ते आईतबार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर मधेश प्रदेश सरकारबिरुद्ध बिरोध जनाउने अभियानका संयोजक सुनिल यादवले बताएका छन । जनकपुरधामको जनक चोकमा चुरे तथा वन जंगल संरक्षण अभियान समितिको नेतृत्वमा बिगत ११ दिनदेखि रिले अनसन जारी छ । तीन बुंदे माग राख्दै प्रदेश सरकारविरुद्ध सुरु भएको अनसनको शुक्रबार ११ दिन पुगेको छ । मधेश प्रदेशको आठै जिल्लाबाट भूमिहीन जनताहरु आएर अनसनमा समर्थन जनाएका छन । तर सरकार पक्ष हालसम्म मौन देखिएको छ । केही दिन अघि समितिले सप्ताहव्यापी कार्यक्रम गरी सरकारलाई वनको जग्गा अतिक्रमण र वन कर्मचारीको मनोमानी बारे ध्यानाकर्षण गराएका थिए । अभियानका संयोजक यादवले माग पुरा नभए सम्म रिले अनसन जारी रहने बताए । ‘हाम्रो पुरानै माग छ, जुन माग पुरा गर्ने सरकारले सम्झौता पनि गरिसकेको छ,’उनले भने,‘०७८ भदौ ४ गते सरकारले चुरे अभियानीसँग गरेको सम्झौता कार्यान्वयन गराउनको लागि हामी संघर्ष गरिरहेका छौं ।’ सरकारले त्यतिबेला तीन बुंदे सम्झौता गरेको पनि कार्यान्वयन गर्न आलटाल गरिरहेको उनको भनाइ छ । प्रदेश सरकारले बनाएको छानबिन समितिले प्रतिवेदन तयार गरेपनि प्रदेश सरकारले आर्थिक चलेखल गरी प्रतिवेदन सार्वजनिक नगरेको उनले आरोप लगाए ।
‘देशका विभिन्न दल, पार्टी र नेताहरु चुनाबको समय घरघरमै आएर आफूलाई जिताए भूमीहिनलाई जग्गा उपलब्ध गराउने वाचा गर्छन तर जितेर गएपछि कुनै वास्ता गर्दैनन’, संयोजक यादवले आरोप लगाए । उनले सच्चा र असल नेता कोहि छन भने आएर अभियानलाई समर्थन गरि भूमिहिनको मांग पूरा गराएर देखाउन चुनौती दिए ।
बिगत ११ दिनदेखि रिले अनसनमा बसेपनि सरकारकोतर्फबाट कुनै किसिमको प्रतिकृया नआएकोले आब सरकारलाई कडा ढङले ध्यानाकर्षण गराउन आफूहरु आईतबार सडकमै सुतेर बिरोध जनाउने संयोजक यादवले बताए ।

