अपडेट 
२०७९ श्रावण १४, शनिबार ०७:०९

२०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएकै सांझ धनुषाका एक नगरपालिकाका मेयरजीले फेसबूक वालमा शुभकामना संदेश लेख्नु भयो– ‘ एसईई परीक्षामा उत्तीर्ण भएका पालिकाभित्रका सम्पूर्ण भाई–बहिनीलाई शुभकामना तथा उज्वल भविष्यको शुभकामना ।’ सखा सन्तान सफल भएपछि , शुभकामना दिनु,भोज–भतेर गर्नु नयाँ होईन तर नगर प्रमुख त नगरका अभिभावक हुन्, परीक्षामा उत्तीर्ण हुने र अनुत्तीर्ण हुने दुबैप्रति उनको समान चासो र दायित्व हुनुपर्ने हो । सांचौ भनौ भने सफल हुन नसकेकाहरुप्रति अझ बढि । माध्यमिक तहसम्मको शिक्षा अचेल स्थानीय पालिकाहरुकै कार्यक्षेत्रभित्र गाभिएको छ । शिक्षकको तलवदेखि बालबालिकाको खाजासम्मको बजेट पालिकाकै माध्यमबाट वितरण हुन्छ । पालिकाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्व बोकेको कुनै मेयरले उत्तीर्ण बालबालिकालाईमात्र बधाई तथा शुभकामना दिनु भनेको शिक्षाप्रतिको अल्पज्ञान हो ।

अझ भनौं भने शिक्षाक्षेत्रप्रतिको उदासीनता हो । २०७८ सालको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा विगत पाँच वर्षयताकै कमजोर छ । यसमापनि सरकारी विद्यालयहरुको परीक्षाफल अझ कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार देशभरिबाट परीक्षामा सहभागी भएका ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै शतप्रतिशत ( ४ जीपीए ) ल्याएका छन् । जबकि २०७४ सालमा ७४ जना र २०७५ सालमा १ सय ६ जनाले ४ जीपीए ल्याएका थिए । तर कोरोना महामारीको बेला विद्यालयहरु बन्द हुंदा अझ बढि विद्यार्थीहरुले ४ जीपीए ल्याएका थिए । विद्यार्थीहरु घरमै मिहिनेत गरेर वा शिक्षकहरु घरघरै अध्यापन गराएर विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाएर बढि जीपीए ल्याएका थिएनन् । अपितु शिक्षकहरुको कृपा र लोभानि पापानिले राम्रो जीपीए ल्याएका थिए । २०७७ मा ८ हजार ४ सय ४४ जना र २०७६ मा ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याउँदा विश्वजगत जिल्ल परेका थिए । नियमित विद्यालय संचालन हुंदा २०७४ सालमा ७४ जनाले ४ जीपीए ल्याए अनि विद्यालय बन्द रहेको वेला झण्डै १० हजार विद्यार्थी ४ जीपीए ल्याउनुले शिक्षकहरुको नैतिकतामाथि गंभीर सवाल खडा गरेको थियो । त्यतिवेला विद्यार्थीहरुको मूल्यांकन सम्बन्धित विद्यालयले नै गरेका थिए भने नतिजा प्रमाणीकरण मात्रै परीक्षा बोर्डले गरेको थियो । त्यतिवेला केही शिक्षकले आफ्ना सखा सन्तानलाई, जनप्रतिनिधिहरुको नाता गोताका विद्यार्थी तथा शुभलाख लिएरपनि राम्रो जीपीए दिएको हल्लापनि निकै चलेको थियो । गत वैशाख ९ देखि २० सम्म सञ्चालित एसईईको नतिजाअनुसार ९ हजार ६ सय ३ जना अर्थात् १ दशमलव ९४ प्रतिशतले मात्र सबैभन्दा उच्च (३.६–४) जीपीए प्राप्त गरेका छन । यसैगरी २.८ देखि ३.२ ल्याउने विद्यार्थीको संख्या ६९ हजार ९ सय छन भने २.४देखि २.८ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९० हजार ७ सय ५८ जना छन् । २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छन् । यद्यपि यस वर्षको एसईई परीक्षामा मधेश प्रदेशका विद्यार्थीहरुले अपेक्षाकृत राम्रो प्रदर्शन गरेका छन् । देशभरिमा ३.६देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ छन् तीमध्ये वागमती प्रदेशका ४ हजार ६ सय २ जना अर्थात् ४७.७७ प्रतिशत विद्यार्थीले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन । उच्च जीपीए प्राप्त गर्ने मामिलामा मधेश प्रदेश दोश्रो स्थानमा छ । मधेशबाट कुल १ हजार ५ सय ३१ विद्यार्थीले उच्च जीपीए (३.६–४) प्राप्त गरेका छन् जो १५ प्रतिशत हुन्छ । मुलुकको जुनसुकै प्रदेशबाट उच्च जीपीए ल्याउने विद्यार्थीहरुमध्ये अधिकांश महंगा निजी आवासीय विद्यालयहरुका विद्यार्थीहरु छन् । उत्तीर्ण भएका विद्यार्थीलाईमात्र बधाई तथा शुभकामना दिने तथा अनुत्तीर्ण हुनेलाई वेवास्ता गर्ने मेयरसाहेबहरुसंग मलाई सोध्न मन लागेको छ – परीक्षाफल प्रकाशित भएको चार दिन भयो ।

हजुरको पालिकाभित्र कति जना विद्यार्थी असफल भएका छन, यसको तथ्यांक प्राप्त गर्नु भयो ? सरकारी विद्यालयका विद्यार्थीहरुको शिक्षण सिकाई यति कमजोर किन छ ? शिक्षण सिकाईको स्तर बढाउन यस वर्ष कुनै ठोस नीति तथा कार्यक्रम ल्याउनु भएको छ ? मलाई लाग्छ – यी सवालका जवाफ खोज्ने फुर्सत कुनै मेयर, उपमेयर वा पालिकाका शिक्षा संयोजकसंग छैन । उनीहरुलाई सफल विद्यार्थीहरुको तथ्यांकमात्र चाहिएको हुन्छ । सरकारले शिक्षा क्षेत्रमा राम्रै लगानी गरेको छ । यसका अतिरिक्त संघीय र प्रदेश सांसदहरुसंगपनि उल्लेख्य संसदीय कोष हुन्छ । तर संसदीय कोषको रकम शिक्षा भन्दापनि सडक,कुलो,मठ मन्दिर,मस्जिद निर्माणआदिमा खर्च हुन्छ । शिक्षक तथा पत्रकार पृष्ठभूमिका एक प्रदेश सांसदसंग मैले सोधेको थिए –तपाईको गाउँकै विद्यालय गाई भैंसीको गोठ जस्तो देखिन्छ । खोई सुधार गर्नु भएको ? उनले सोझो जवाफ फर्काउनु भयो– के गर्ने नागरि कस्तरबाट शिक्षामा लगानी गर्नु पर्ने योजनै आउँदैनन । आफ्ना परममित्र उक्त प्रदेश सांसदसंग मेरो विनम्र आग्रह छ –मित्र नेता दूरदर्शी हुन्छन् । नागरिक प्रत्यक्षदर्शी । हजुरको दूरदृष्टिले पहिले शिक्षाको गुणस्तर सुधार गर्न भन्छ कि सडक, मठमन्दिरको ? पालिकाहरुमा नयाँ नेतृत्व चयन भएर आएका छन् । एसईईको परीक्षाफल पनि नयाँ नयाँ आएको छ । जनप्रनितिधिजीहरुसंग मेरो विनम्र आग्रह – शिक्षाको गुणस्तर बढाउन अग्रसर हुनुहोस् । आकर्षक तलव खाने योग्य सरकारी शिक्षकहरुले गर्न नसकेको काम अपेक्षाकृत थोरै तलवमा काम गर्ने निजी आवासीय विद्यालयका शिक्षकहरुले कसरी गरेका होलान ? खोजी गर्नोस् । छलफल गर्नोस् । विचार मन्थन गर्नोस् । थाहै होला – शिक्षानै हरेक उन्नतिको मुहान हो ।

Comment


Related News

Latest News

Trending News