२०७९ श्रावण १५, आईतवार ०७:२६

कोरोना संकटको बेला लगाइएको लकडाउनका कारण गएको दुई वर्षदेखि बन्द रहेको बोलबम यात्रा पुनः सुरु भएको छ ।

देशको विभिन्न मन्दिरमा नदीहरुबाट पवित्र जल लिएर शिवलिंङ्ग माथि जल चढाउन जाने काँवरिया तीर्थ यात्रीहरुको भिड बढेको छ । यसै क्रममा सर्लाहीको बागमती नगरपालिका कर्मैया स्थित बागमती नदीबाट जल बोकेर भारतको बिहार राज्य, सितामढी जिल्ला, सोनबरसा प्रखंड अन्तर्गत नेपाल–भारत सीमा (मलंगवा)देखि ८ किलोमीटर पूर्व दिशा स्थित मढिया गाउँमा रहेको बाबा मानकेश्वरनाथमा जलाभिषेक गर्न जाने बोलबम काँवरिया भक्तहरुको ठूलो भिड बढेको छ । मढियाधाममा गएको दुई वर्षदेखि कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणलाई लिएर श्रावण मासमा जलाभिषेक गर्न प्रतिबन्ध लगाइएको थियो । मढियाधाममा आइतवार जलाभिषेक गर्ने परंपरा रहेको छ।दुइ वर्षदेखि भगवान शिवलाई जलाभिषेक गर्नबाट बन्चित बनेका शिवभक्त काँवरिया बोलबमहरु यसवर्ष निकै उत्साहित देखिएका छन् । बागमतीबाट पवित्र जल बोकेर खाली खुट्टा पैदल आउने काँवरियादेखि, डाकबम, मोटरसाइकल, जिप,ट् याक्टर लगायतका सवार ीसाधनमा आउने शिवभक्तहरुको यात्रालाई सहज बनाउन र थकान मेटाउन विभिन्न स्थानमा बोलबम सेवा समिति मार्फत सेवा प्रदान गरिरहेका छन् । सोही अनुसार मलंगवा वडा न–२ र ८ स्थित राजश्री सिनेमा हल र विद्युत कार्यालयको बिचमा पर्ने चोकमा हिन्दू परिषद् नेपाल र बालमन्दिर चोकमा शिव शिष्य परिवारले बोलबम काँवरियाहरुलाई सेवा प्रदान गरिरहेका छन् ।

उनीहरु यात्रीहरुको लागि निःशुल्क भोजन, वास , प्राथमिक उपचार, पानी, जुस लगायतका सेवाहरु प्रदान गरिरहेका छन् । मढियाधाम दुबै देशका भक्तहरुको शाझा आस्थाको केन्द्र रहेको छ । श्रावण मासको एक महिनाको अवधिमा दुबै देशबाट हजारौंको संख्यामा श्रद्धालुहरु मंकेश्वर बाबामा जलाभिषेक गर्ने गरेका छन् । भक्तहरु नेपालतर्फको नुनथर पहाड भएर निस्कने बागमती नदीको पवित्र जल भरेर खाली खुट्टा पैदल बोलबम र ओम नमः शिवायको लगातार जप गर्दै ६५ किलोमीटरको लामो दूरी पार गरेर भारततर्फको मढिया गाउँमा रहेको मंकेश्वरनाथमा जल अर्पण गर्छन । काँवरियाहरुको सुरक्षाको लागि ठाउँठाउँमा नेपाल प्रहरीको पेट्रोलिंग चलिरहेको हुन्छन् । सडकमा पानी छर्किने काम गरिन्छ । नवलपुर, हरिपुर, गैर, कबिलासी, सलेमपुर, गम्हरिया, मलंगवामा स्थानीयवासीद्वारा भव्य पंडालको निर्माण गरिन्छ । ती पंडालमा काँवरियाहरुको लागि विभिन्न सुविधाहरु उपलब्ध गराइन्छ ।

काँवरियाहरु भारतीय सीमामा प्रवेश गरेपछि भारतीय प्रशासनले पनि यसैगरी सुरक्षा प्रदान गर्छन् । स्थानीयवासीले पनि काँवरियाहरुलाई विभिन्न सेवा सुविधाहरु प्रदान गर्छन ।

Comment


Related News

Latest News

Trending News