सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलीले छापा मारेको छ ।
सेवाग्राहीको समोसामा किरा फेला परेको सूचना प्राप्त भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेको हो । टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन र होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ । टोलीले गल्ती सुधार गर्न र सरसफाईमा पूर्ण ध्यान दिन होटलका सञ्चालक गणेश साहलाई चेतावनी दिइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए । अनुगमनको क्रममा उक्त होटलमा अत्याधिक खाने सामग्रीहरु बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए । होटलमा अत्यधिक फोहोर र अव्यवस्थित तरिकाले कर्मचारी खटाइएकोले खाने सामानमा किरा भेटिनु स्वाभाविक रहेको उनले बताए ।
चाट नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो । गोलबजारका सेवाग्राही राम भरोसी यादवले किरा परेको समोसा खादा आफू बिरामी परेको दाबी गरेका छन् । उनका अनुसार होटलमा सरसफाइको बारेमा पटक–पटक सचेत गराउँदा पनि होटलका संचालक गणेश साहले बेवास्ता गरेका थिए । मान्छेको भिडभाड हुने होटलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलबाड भएको पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य देवकुमार यादवले बताए । उक्त होटेल वरपर जिल्ला अदालत, मालपोत कार्यालय, रेड्क्रस सोसाइटी ,वार एसोसिएसनलगायतका कार्यालय छन् । यसैबीच नास्तामा मरेको माहुरी भेटेको होटेल सञ्चालकले स्वीकारेका छन् ।

