२०७९ श्रावण १५, आईतवार १७:११

अर्थमन्त्रीमा पुन: जनार्दन शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।

मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको विज्ञप्तिमा उल्लेख छ । आजै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानविन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

साथै नवनियुक्त अर्थमन्त्री शर्माको पद तथा गोपनीयताको शपथ आज बेलुकी ५:३० बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ बेलुकी ५:३० बजे रहेको छ ।

Comment


Related News

Latest News

Trending News