इन्टरनेट नचलेको कारण बाराका एक २२ बर्षीय विद्यार्थीले इन्टरनेट सेवा प्रदायक कम्पनीमाथि मुद्दा दायर गरेका छन् ।
वीरगंज महानगरपालिका वडा नं. ३२ का जितेन्द्र यादबले सिजि नेटको केन्द्रीय कार्यालयमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा गरेका हुन् । हाल काठमाडौँबाट आफनो अध्ययन अगाडि बढाईरहेका उक्त विद्यार्थीले विभिन्न कम्पनीको काम इन्टरनेटबाट गर्ने गरेका छन् । बिभिन्न तीनवटा कम्पनीको सूचना विभागमा अपलोड गर्ने त्रैमासिक विवरण अपलोड गर्ने, अध्यावधिक गर्ने जस्ता विभिन्न कामकाजहरु पूर्ण रुपमा ठप्प भएका कारण सो कम्पनीहरुले क्षति ब्यहोर्न बाध्य भएको विद्यार्थीले दायर गरेको फिरादपत्र (मुद्दा)मा उल्लेख छ । जसबाट आफूलाई आर्थिक र मानसिक दुबै समस्याको सामना गर्नुपरेको यादबले फिराद पत्रमा उल्लेख गरेका छन् ।
मुलुकी देवानी सहिता २०७४ को दफा ६७२ बमोजिम ईन्टरनेट सेवा प्रदायक कम्पनीले आफूलाई भएको क्षति वापतको रकम बहन गर्नुपर्ने प्रावधान रहेकाले सोही अनुसार १ सय २० घण्टा इन्टरनेट नचलेर आफूलाई २ लाख ७ सय ८३ रुपैयाँको क्षति भएको दावी गरिएको छ ।२०७९ साल असार ३० गते दायर गरिएको फिरादपत्रमा उक्त रकम क्षतिपूर्तिवापत इन्टरनेट सेवा प्रदायक कम्पनीसँग माग गरिएको छ ।

