प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता संशोधन सम्बन्धी विधेयकलाई प्रमाणीकरण रोक्न एमाले लगायत केही संघसंस्थाहरुले अभियान चलाएका छन् ।
संघीय संसदबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयमा पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ को देशभक्त नागरिक समूहले परिमार्जनको माग गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिकता विधेयकलाई परिमार्जनको लागि पुनर्विचार गरियोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको पनि उक्त समूहले जनाएकोछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको सो विधेयकलाइ प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतवार प्रमाणीकरण गरेका थिए ।सभामुखले प्रमाणीकरण गरेको सो विधेयक राष्ट्रपति विद्या देवी भण्डारीकोमा पुगेको छ ।त्यहाँबाट प्रमाणीकरण भएसँगै विधेयकले कानूनको रुपमा लागु हुनेछ । नेकपा एमालेले राष्ट्रघाती विधेयकलाई सत्तासीन गठबन्धनले बहुमतको भरमा पारित गरेको आरोप महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् ।
यस अघि एमाले उपाध्यक्ष प्रदीप ज्ञवालीले विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने बताएका थिए ।विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाउन ज्ञवालीले माग गरे लगतै महासचिव शंकर पोखरेलले पनि विरोध जनाएका छन् । नेकपा (माओवादी केन्द्र) का पूर्व पोलिटब्युरो सदस्य नारायण शर्माले अहिले आएको नागरिकता विधेयक चरम राष्ट्रघाती रहेको आरोप लगाए । सरकारले विधेयक ल्याएर राष्ट्रको नाम निसान नै नष्ट गर्न खोजेको उनको कथन रहेकोछ । यसको विरोध सबैले गर्दै जानुपर्ने उनले बताए । एमालेले ४ वर्षदेखि अल्मलाएको नागरिकता सम्बन्धी विधेयकलाई पाँच दलीय गठबन्धन सरकारले फिर्ता लिएर द्रूतमार्गबाट नयाँ विधेयक पारित गरेको हो ।राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि जन्मसिद्धका सन्तानले वंशजको नागरिकता लिने मार्ग प्रशस्त हुनेछ । नेपाली नागरिकसित विवाह गर्ने विदेशी महिलालाई अब वैवाहिक अंगीकृत नागरिकता लिन कठिनाई हुने छैन् ।एमालेले विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान नागरिकता संशोधन विधेयकमा राख्न चाहेका थिए ।



