जनता समाजवादी पार्टी (जसपा)ले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहलाई ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार जसपाका नगर अध्यक्ष विष्णु देव साहले ११ बुंदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । फोहरमैलाको उचित व्यवस्थापन गर्नुपर्ने र कर्मचारी व्यवस्थापनमा भइरहेको भेदभावको अन्त्य गरी कार्यरत कर्मचारीहरुलाई निरन्तरता दिनु पर्ने जसपाले माग गरेका छन् । वर्षौदेखि कार्यरत कर्मचारीलाई अवैधानिक तरिकाले निष्काशन गरिएको भन्दै अबिलम्व पुनर्बहाली हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस्तै, छाडा चौपयाको उचित व्यवस्थापन, पालिकाबाट सञ्चालन हुने योजना, बैठक अनलाइन मार्फत सार्वजनिक हुनु पर्ने र कृषि तथा कृषकहरुको लागि दीर्घकालीन योजना ल्याउनु पर्ने जसपाले माग गरेका छन् ।
सुकम्वासीहरुको अविलम्ब उचित व्यवस्थापन गर्नु पर्ने, फुटपाथ व्यवसायीलाई व्यवस्थापन गनुपर्ने र कृषकहरुलाई मल खाद्य समयमा उपलब्ध गराउनु पर्ने ज्ञापनपत्रमार्फत नगर प्रमुखको ध्यानाकर्षण गराइएको छ । कृषि सिंचाई र विद्युतीकरण गर्नु पर्ने, केशरिया रंग र स्थानीय जनकपुरधाम गानले निरन्तरता पाउनुपर्ने माग रहेको छ । जनताको अपेक्षामा कुठाराघात हुँदै गएको ज्ञापनपत्रमा ठहर गरिएको छ । चुनावको बेला जनतासमक्ष गरिएको वाचा नेतृत्वकै कारण पुरा नभएको र जनता थप प्रताडित भएको पत्रमा उल्लेख गरिएको छ । माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।

